२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा डेंगुको संक्रमण बढ्दो : ५६ जना संक्रमित

रुपन्देहीमा डेंगुको संक्रमण बढ्दो : ५६ जना संक्रमित


बुटवल—बुटवल बेल्वासका मधु नेपाल (नाम परिवर्तन)लाई आइतबार रातिदेखि जिउमा सन्चो नहोलाजस्तो भयो । उनी थकित महसुस गर्न थाले । भित्र—भित्र गलिरहेको भान हुन थाल्यो । जीउ कटकटी दुख्न थाल्यो । ज्वरो अधिक आउन थाल्यो । वान्ता समेत हुन थालेपछि उनी बुटवलको एक अस्पतालमा उपचारका लागि आए । उनको रगत जाँच गर्दा उनलाई डेंगु लागेको प्रमाणित भयो । उनी हाल बुटवलको एक अस्पतालमा उपचार गराइरहेका छन् ।

त्यस्तै, सुद्धोधन गाउँपालिकाका ७ वर्षीय नवस्न (नाम परिवर्तन)लाई पनि अत्याधिक ज्वरो आउन थाल्यो । खाना केही नखाने र शरीरमा डाबरहरु देखिन थालेपछि परिवारले अस्पताल ल्याए । रगत जाँच गर्दा उनलाई पनि डेंगुको संक्रमण नै भएको पुष्टी भयो । उनी आम्दा अस्पतालमा उपचारबाट निको भई घर फर्किसकेका छन् ।

रुपन्देहीमा डेंगुबाट संक्रमित हुनेहरुको संख्या दिन प्रतिदिन बढी रहेको छ । अहिले सम्म ५६ जनामा डेंगु देखिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । रुपन्देहीमा ५ वर्षीय बालवालिकादेखि ७० वर्षसम्मका वृद्धवृद्धाहरुमा डेंगु संक्रमण देखिएको उनले बताए ।

यस वर्ष जिल्लामा पहिलो पटक गत साउन २८ गते डेंगु संक्रमणका बिरामी देखिएका थिए । त्यसयता निरन्तर डेंगु संक्रमणका बिरामीहरु बढ्दैं गएका छन् । भारतीय सीमा क्षेत्र समेत पर्ने हुनाले पनि जिल्लाको दक्षिणी क्षेत्रमा बढी संक्रमितहरु देखिने गरेका छन् । ‘डेंगु महामारीकै रुपमा देखा पर्न लागेको छ । त्यसबाट बच्नका लागि सबै सचेत हुनु आवश्यक छ,’ उनले भने ।

गत वर्ष यस जिल्लामा ६६ जना डेंगुबाट संक्रमित भएका थिए । रुपन्देहीमा पहिलो पटक २०६७ सालमा डेंगुका बिरामी फेला परेका थिए भने पहिलो पटक देखा परेको वर्षमा नै ४ जनाको मृत्यु भएको थियो । जिल्लामा हालसम्म डेंगुकै कारण ८ जनाको मृत्यु भएको पुष्टी भैसकेको छ । डेंगु लागेकामध्ये अधिकांश उपचार गरी घर फर्किसकेको डा. गिरीले बताए ।

डेंगु नियन्त्रणको प्रयास

डा. गिरीकाअनुसार रुपन्देहीमा डेंगु नियन्त्रणका लागि प्रयास भैरहेको छ । जिल्लाका ६ वटा नगरपालिकामा आरआरटी समूह समेत बनेको छ । आरआरटी टोलीले डेंगु लागेको बिरामीलाई तुरुन्त सेवा दिनेछ ।

जिल्लामा डेंगिक किट्सको अभाव नहोस् भनेर विशेष सर्तकता अपनाइएको उनले बताए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा १ सय ५० किट्स उपलब्ध गराएको उनले जनाकारी दिए । ‘हामी किट्सको सही प्रयोगलाई समेत जोड दिएका छौं ।

बिरामी तीन दिनदेखि ज्वरो आएको अवस्थामा भएमा, चार हजारभन्दा कम सेता रक्तकोष देखिएमा र एक लाखभन्दा कम प्लेट्लेट्स देखिएमा तुरुन्त किट्स प्रयोगको मापदण्ड बनाएका छौं,’ उनले हेल्थ आवाजसँग भने । सरसफाई, स्थानीय मिडियाहरुमा डेंगुका कारण, असर, रोकथामका बारेमा जानाकारी प्रकाशन प्रसारण भैरहेको डा. गिरीले बताए ।

चिकित्सकको सुझाव

सफा पानीमा फुल पार्ने स्वभावको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने भएकाले सचेत रहन चिकित्सकहरुको सुझाव छ । यो रोग संक्रमित मानिसबाट स्वस्थ मानिसमा नसर्ने हुँदा पनि आत्ति हाल्नुपर्ने अवस्था नरहने डा. समीर आचार्य बताउँछन् । ‘सचेत हुनुपर्छ । डेंगुको संक्रमण हुनासाथ ज्यानै जाने अवस्था हुँदैन् । तर, तुरुन्त उपचारमा संलग्न हुनुपर्छ,’ उनले भने ।

डेंगुबाट संक्रमित लामखुट्टेले दिनमा बढी टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने, बाहुला पूरा भएको शरीर ढाक्ने कपडा लगाउने, घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने, बाथरुम ओभानो राख्ने, टायर र पाइप आदिमा पानी जम्न नदिने, लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउनेजस्ता उपाय अवलम्बन गरेमा डेंगुबाट बच्न सकिने उनको सुझाव छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ