२०८२ चैत्र ४, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत

७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत


काठमाडौं—सरकारले लुम्बिनी प्रदेशको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि बढाइरहेको छ । बुटवल उपमहानगरपालिका—६ बुटवलमा १२०० शय्याको बहुविशिष्टीकृत अस्पताललाई महत्वकांक्षी आयोजनाका रुपमा अगाडि बढाएर निर्माण सुरु भएको एक वर्ष भइसकेको छ ।

७ अर्ब १५ करोड रुपैयाँ ठेक्का सम्झौता भई वि.सं. २०८१ पुसबाट ८ विगाहा ४ कठ्ठा ९ धुर जग्गामा निर्माण भइरहेको अस्पतालको एक वर्षमा भौतिक प्रगति ३८.५ प्रतिशत रहेको आयोजनाका साइट इन्चार्ज शंकर सुवेदीले जानकारी दिए । ‘अहिलेसम्म लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको भौतिक प्रगति ३८.५ प्रतिशत भएको छ,’ उनले भने, ‘वित्तिय प्रगति २७ प्रतिशत छ ।’ उनका अनुसार अहिले निर्माणको काम द्रुतरुपमा अगाडि बढिरहेको छ । हाल अस्पताल निर्माणमा १५० जनाले नियमित रुपमा काम गरिरहेको सुवेदीले बताए ।

१५ भदौं २०८१ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्पतालका दुई वटा भवनको शिलान्यास गरेको यो आयोजना पुस ०८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले पाँच वर्षभित्र सक्ने गरी निर्माण अगाडि बढिरहेको जानकारी दिए । ‘पाँच वर्षमा सक्ने गरी पुस २०८१ बाट आयोजना सुरु भएको हो,’ उनले भने ।

एक भारतीय कम्पनी क्याप साइट र दुई नेपाली कम्पनी आशिष देवी कन्स्ट्रक्सन र रेलिगेर जेभीले निर्माण गरिरहेको उक्त आयोजनाको निर्माण, उपकरण र आन्तरिक व्यवस्थापनमा कुल लागत ८ अर्ब ९९ करोड ६१ लाख ८४ हजार ६३२ रुपैयाँको रहेको छ । आयोजनाअन्तर्गत बेसमेन्ट र भुँइतलाबाहेक ८ तल्लाको मुख्य भवन र बेसमेन्ट, भुँइ तल्लाबाहेक चार तल्लाको अंकोलोजी भवन निर्माण भइरहेको छ ।

बेसमेन्ट र भुँइ तल्लाबाहेक ८ तल्लाको रहने मुख्य भवनको तल्लो बेसमेन्टमा डाक्टरको पार्किङ एरिया, अण्डरग्राउण्ड वाटर टंयाक, फोहोर पानी टंयाकी, अस्पताल निगरानी रुम, कन्डिसन प्यान्ट, हाउस किपिङ, जनरल स्टोर, सिभिल ब्युल्डिङ, मेन्टेनेन्स, इलेक्ट्रिकल रुम, माथिल्लो बेसमेन्टमा पार्किङ एसिया, किचेन स्टोर, इलेक्ट्रिकल र सर्भिस रुम, सेक्युरिटी, सिसिटीभी, फायर आर्लम कन्ट्रोल रुम, फार्मेसी स्टोर रुम आदि रहेनछन् । यसैगरी, भुँइ तल्लामा मुख्य किचेन, क्याफे किचेन, ओपीडी एरिया, स्टाफ एरिया, फार्मेसी, बैंक र एटिएम एरिया, क्यास काउण्टर र लबी रहेछन् । यही तल्लामा इमर्जेन्सी वार्ड (वार्ड ४७ वेड, रिकभरी १३ वेड र ब्याक रुम ६ बेड) रहेनछन् ।

पहिलो तलामा ओपीडी कम्पेक्सअन्तर्गत ५० कन्सन्ट रुमहरु, ओपीडी डेन्टल, स्टाफ एरिया, न्यूरोलोजी, साइक्रयाट्रिक ओपीडी, नेफ्रोलोजी, डायलाइसिस र युरोलोजी रहनेछ । दोस्रो तल्लामा १३ शय्या एनआईसीयु, १८ श्य्या सीआईसीयु, ८ शय्या पीआईसीयु, ५ शय्या पीबीसीयु÷एनआईसीयु, १२ शय्या पोष्ट अपरेटिभ, १६ शय्या रिकभरी, १० शय्या प्रिअपरेटीभ, ८ वटा मेजर ओटी र २ वटा माइनर ओटी रहनेछन् । तेस्रो तल्लामा २ वटा क्याथ ल्याब, १४ शय्या सीसीयी (क्याथ ल्याब), १२ शय्या फिमेल वार्ड (क्याथ ल्याब), ११ शय्या मेल वार्ड (क्याथ ल्याब), ४ शय्या सिंगल क्याबिन (क्याथ ल्याब), ४ शय्या डबल क्याबिन (क्याथ ल्याब) रहेनछ ।

चौथो तल्लामा ६८ शय्याको जनरल वार्ड, २४ शय्याको फिमेल वार्ड, २४ शय्याको मेल वार्ड रहनेछ भने पाँचौ तल्लामा ६८ शय्या जनरल वार्ड, २४ शय्या फिमेल वार्ड र २४ शय्याको मेल वार्ड रहनेछ । यसैगरी, छैटौ तलामा पनि ६८ शय्या जनरल वार्ड, २४ शय्या फिमेल वार्ड र २४ शय्याको मेल वार्ड रहनेछ । सातौ तल्ला र आठौं तल्लमा ६/६ शय्याको सुइट रुम, १६/१६ श्ययाको सिंगल क्याबिन र ३६/३६ शय्याका डब्बल क्याबिन रहनेछन् ।

अंकोलोजी भवनको बेसमेन्टमा लिनियर एक्सीलेटर २ वटा, माइनर ओटी १ वटा, सिटी सिमुलेटर १, प्यासेन्ट होल्डिङ ७ शय्या, रिकभरी ६ शय्या र ब्राची थेरापी रहनेछ । यसैगरी, भुँइ तल्लामा १६ शय्या डे केयर हुनेछ भने पहिलो तल्लामा २१ वटा परामर्श कोठाहरु भएको ओपीडी कम्पेक्स र बच्चा खेल्ने एरिया रहनेछ । यस्तै, दोस्रो तल्ला र तेस्रो तल्लामा २०/२० शय्याको फिमेल वार्ड र १२/१२ शय्याको मेल वार्ड रहनेछ भने चौथो तलामा ६ शय्याको वार्ड र ४/४ शय्याका सिंगल र डबल क्याबिन हुनेछन् ।

निर्माण सम्पन्न भएपश्चात उक्त अस्पताल सञ्चालनका लागि ८३० जना कर्मचारी आवश्यक पर्ने आयोजनाको वातावरणीय प्रभाव मुल्यांक (ईआईए) प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ