२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ३५ वर्षीया सुत्केरीको मृत्यु, अस्पतालमा तनाव

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ३५ वर्षीया सुत्केरीको मृत्यु, अस्पतालमा तनाव


विराटनगर—विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा सामान्य प्रसुतीबाटै बच्चा जन्माएकी एक महिलाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–३ की ३५ वर्षीया पार्वती कार्कीलाई बुधबार विहान साढे तीन बजे अस्पतालमा मृत्य भएको हो ।

‘नर्मल डेलिभरी’बाट दोस्रो सन्तान छोरी जन्माएपनि उपचारका क्रममा चिकित्सकले लापरबाही गरेका कारण मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । घटनाको विरोधमा आफन्तले अस्पतालमा नाराबाजी र प्रदर्शन गर्दै उपचारमा संलग्न चिकित्सकलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

पार्वतीलाई प्रसुतीका लागि सोमबार भर्ना गरिएको थियो । मंगलबार विहान उनले दोस्रो सन्तानका रुपमा छोरी जन्माइन् । अत्याधिक रक्तश्राव भएको भन्दै चिकित्सकले उनलाई दिउँसो २ बजे पाठेघरको शल्यक्रिया गर्नुपर्छ भन्दै अप्रेशन थिएटरमा लगेका थिए ।

शल्यक्रियापछि १७ पिन्ट रगत चढाएकी उनलाई बुधबार विहान भने अस्पतालले मृत घोषणा गरेको आफन्त पुस्बिन अधिकारीले बताए । ‘सामान्य प्रसूतिबाट बच्चा जन्माएकी महिलाको चिकित्सककै लापरबाहीले ज्यान गयो,’ उनले भने, ‘रगत अत्याधिक बगे पनि दुई घण्टासम्म चिकित्सकले वास्तै गरेनन् ।’

अधिकारीले पाठेघरबाट धेरै रगत बगेको जानकारी गराउँदा पनि चिकित्सकले मतलब नगर्दा मृत्यु भएको बताए । ‘एक्कासी बेहोस भएपछि पाठेघरको शल्यक्रिया गर्नुपर्छ भन्दै अप्रेशन थिएटरतिर लगे,’ उनले भने, ‘शल्यक्रियाका क्रममा पनि त्रुटि भएको छ ।’ समयमै ध्यान दिएर चिकित्सकले उपचार सुरु गरेको भए सुत्केरीको मृत्यु नहुने आफन्तको भनाइ छ ।

अधिकारीका अनुसार बच्चा जन्माएको केही समयपछि पार्वतीले खान समेत खान खोजेकी थिइन् । खाना खुवाउन खोज्दा उनी बेहोस भएर ढलिन् । बेहोस भएपछि मात्रै रगत धेरै बगेको भन्दै पाठेघर फ्याल्नु पर्ने भनेर चिकित्सकले लगेको उनको भनाइ छ । ‘वार्डमै पनि रगत रोक्ने प्रयास भएको थियो,’ उनले भने, ‘तर, प्रयास सफल नभएपछि शल्यक्रिया गर्ने भन्दै अप्रेशन थिएटरतिर लगियो ।’

बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । श्रीमान दीपक कार्की वैदेशिक रोजगारीका लागि कतार गएका छन् । कार्की दम्पत्तीको पहिलो सन्तान पनि ७ वर्षकी छोरी नै छिन् ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले उपचारमा चिकित्सकले लापरबाही नगरेको दाबी गरे । ‘धेरै रगत बगेका कारण मृत्यु भएको जानकारी अस्पताल प्रशासनलाई चिकित्सकले गराएका छन्,’ उनले भने, ‘रगत रोक्नकै लागि गरिएको पाठेघरको शल्यक्रिया सफल हुन भने सकेन ।’ दाहालले भेन्टिलेटरमै राखेर बचाउने प्रयास गरिए पनि सम्भव नभएको बताए । यसअघि पनि नोबेलमा घुडाको शल्यक्रिया गरेको सुनसरी दुहबीका अनिलकुमार साहको मृत्यु भएको थियो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ