२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा छड्के : ५९ जना कर्मचारी अनुपस्थित, अधिकांश अधिकृतस्तरका

कोशी अस्पतालमा छड्के : ५९ जना कर्मचारी अनुपस्थित, अधिकांश अधिकृतस्तरका


विराटनगर-संघीय सरकार मातहत रहेको विराटनगरस्थित कोशी  अस्पतालसहित १४ वटा सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार छ्डके अनुगमन गरेको छ । अनुगमनको क्रममा १ सय ३८ जना कर्मचारी अनुपस्थित भएको पाइएको छ । सबैभन्दा बढी कोशी अस्पताल विराटनगरमा ५९ जना कर्मचारी अनुपस्थित रहेको पाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

अनुपस्थित हुने चिकित्सकहरू पनि रहेको पाइएको छ । कोशी अस्पतालमा विशेषज्ञ चिकित्सवहरू निजी अस्पताल र क्लिनिकहरू जाने गरेकोले पनि अनुपस्थित हुने गरेका छन् । यसअघि स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनको क्रममा पनि अधिकांश चिकित्सक कार्यालयमा समयमा अस्पतालमा भेटिएका थिइनन् । कोशीका चिकित्सक उपस्थित भए पनि हाजिर गरेर निजी अस्पतालमा जाने परिपाटी रहेको बुझिएको छ ।

जिप्रकाले गरेको आकस्मिक छड्के अनुगमनमा कार्यालयमा समयमा अनुपस्थि हुने अधिकांश अधिकृतस्तरका कर्मचारी रहेको पाइएको हो । सबै सरकारी कार्यालयको सेवा प्रवाह सन्तोषजनक नरहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

कर्मचारीले लापरबाहीपूर्ण तरिकाले काम गर्दा र ढिलासुस्ती गरिदिँदा त्यसको सिकार सर्वसाधारण सेवाग्राही बन्नु परेको प्रशासन कार्यालयका प्रवक्ता समेत रहेका पाण्डेले बताए । उनका अनुसार शाखा अधिकृतहरु मोहनलाल पनेरु, डम्बरुबल्लभ बराल, चेतन अधिकारी र अभय गुप्ताको नेत्रृत्वमा भिन्दा भिन्दै टोली सरकारी कार्यालय अनुगमनमा पठाइएको थियो ।

आन्तरिक राजस्व, कोशी अस्पताल, शिक्षा विकास तथा समन्वय इकाई, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, श्रम तथा रोजगार कार्यालय, औषधि व्यवस्था विभाग, नापी कार्यालय, भूमीसुधार तथा मालपोत, सडक डिभिजन, संघीय कार्यान्वयन आयोजना इकाई, वाणिज्य, कारागार र प्रधानमन्त्री कृषि परियोजना समेतका कार्यालयमा छड्के अनुगमन गरिएको हो ।

वाणिज्य कार्यालय, कारागार कार्यालय र प्रधानमन्त्री कृषि परियोजनामा भने सबै कर्मचारी उपस्थित रहेको पाइएको थियो । अन्य कार्यालयमा भने बिना जानकारी कर्मचारीहरु अनुपस्थित रहेको, सरसफाई नगरिएको, सेवा प्रवाहमा लापरबाही र ढिलासुस्ती गर्ने गरिएको तथा सेवाग्राहीका गुनासाको सुनुवाई नहुने गरेको पाइएको पाण्डेले बताए । उनका अनुसार सरकारी कार्यालयको सवालमा सकारात्मकभन्दा पनि नकारात्मक कुराहरु बढी भेटिएका छन् । उनले कार्यालयले प्रवाह गर्ने सेवा सुविधा, कर्मचारी उपस्थिती, कार्यालयको सरसफाई, कर्मचारीको पोशाक, परिचयपत्रलगायतलाई अनुगमनको आधार बनाइएको बताए ।

त्यस क्रममा अधिकांश कर्मचारी बिना जानकारी कार्यालयमा अनुपस्थित रहेको पाइएको उनले बताए । कार्यालयमा उपस्थित कर्मचारीले पनि ढिलासुस्ती गर्ने र सेवाग्राहीलाई यो वा त्यो बहानामा अल्झाउने गरेको उनको भनाइ छ । अनुपस्थित रहेका तथा सेवा प्रवाहमा ढिलासुस्ती एवं लापरबाही गर्ने, कार्यालय समयमा पोशाक नलगाउने र परिचयपत्र नबोक्ने कर्मचारीमाथि छानबिन र कारबाही सुरु गरिएको जानकारी पाण्डेले दिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ