२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा ५ दिनका लागि निषेध आदेश जारी

विराटनगरमा ५ दिनका लागि निषेध आदेश जारी


विराटनगर– समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा शुक्रबार मध्यरातिदेखि निषेध आदेश जारी भएको छ ।

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भदौ १० गते मध्यरातिसम्म ५ दिनका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए ।

विराटनगर महानगरपालिकाले लगाएको २१ दिनको लकडाउन शुक्रबार समाप्त भएपछि निषेध आदेश जारी भएको हो । महानगरले ७ दिन निषेध आदेश जारी गर्न प्रस्ताव गरेको भएपनि सुरक्षा समितिले ५ दिन मात्र गर्ने निर्णय गरेको महानगर प्रमुख भीम पराजुलीले बताए ।

विराटनगरमा तीन सातादेखि लकडाउन भएपनि मानिसहरुको आवतजावतमा थप कडाई गर्न निषेध आदेश जारी गर्ने निर्णय गरेको प्रजिअ निरौलाले बताए । ‘अहिले पनि हिडडुल नियन्त्रित अवस्थामै छ र अझ व्यवस्थित गर्न निषेध आदेश जारी गर्ने निर्णय भएको हो,’ प्रजिअ निरौलाले भने, ‘पाँच जनाभन्दा बढी हिँडडुल गर्न निषेध गरिनेछ र बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुललाई पूर्णरुपमा निषेध गरिएको छ ।’

निषेध आदेशमा सार्वजनिक सेवाका क्षेत्रको सवालमा अहिले भइरहेका कामहरुले भने निरन्तरता पाउने प्रजिअ निरौलाले जानकारी दिए । अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द हुनेछन् ।

महानगरले घोषणा गरेको लकडाउन प्रभावकारी नभएको र संक्रमण दर बढिरहेकोले निषेध आदेश जारी गरिएको हो । विराटनगरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ सय ७४ पुगिसकेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ