२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अपाङ्गता मैत्री आइसोलेसन बनाउन महासंघकाे माग

अपाङ्गता मैत्री आइसोलेसन बनाउन महासंघकाे माग


विराटनगर– राष्ट्रिय अपाङ महासंघ प्रदेश नं १ ले कोभिड अस्पतालको आइसोलेसनहरू अपाङ्गता मैत्री हुनुपर्ने माग राखेका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण अपाङ्गता भएका व्यक्तिहरू पनि संक्रमित हुन थालेकोले राज्यले बनाउने आइसोलेसनहरू अपाङ्गता मैत्री बन्नुपर्ने माग राखेका हुन् ।

विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरि राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत बिमल बस्नेतले प्रदेश र स्थानिय तहहरूले बनाएको कुनैपनि आइसोलेसन र क्वारेन्टिनहरू अपाङ्गगता मैत्री नभएको बताए । ‘कोरोना संक्रमित भएका अपाङ्गता भएका व्यक्तिहरूलाई अहिले आइसोलनमा जानुपर्ने अवस्था आयो भने समस्या हुने गरेको छ,’ उनले भने, ‘प्रदेश र स्थानीय तहले बनाएको कुनैपनि आइसोलेसन र क्वारेन्टिनहरू अपाङ्गता मैत्री छैनन् ।’ अब बन्ने आइसोलेसनहरू अपाङ्गता मैत्री हुनुपर्ने उनको माग छ ।

अहिले प्रदेश १ मा ११ जना अपाङ्गता भएका व्यक्तिहरूलाई कोरोना संक्रमण पुष्टि भएको महासंघले जनाएको छ । जसमध्ये तीन जना आइसोलनमा छन् भने ८ जना होम आइसोलेसनमा छन् ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ की अध्यक्ष पार्वती श्रेष्ठले शिक्षा र स्वास्थ्यको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अझैपनि पुग्न नसकेको बताइन् । ‘राज्यले बनाएको संरचनाको कारणले अपाङ्गता भएका व्यक्तिहरूले सास्ती खेप्नु परेको छ,’ उनले भनिन्, ‘अहिले कोभिडको उपचार गर्ने अस्पतालहरू कुनैपनि अपाङ्गगता मैत्री भएको हामीले देखेका छैनौं ।’ राज्यले अपाङ्गता भएका व्यक्तिहरूलाई उपेक्षा गरेको उनको आरोप छ ।

प्रदेश नं १ मा १ लाख भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू रहेको राष्ट्रिय अपाङ महासंघ प्रदेशले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ