२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नेता र व्यवसायीकाे दबावले औषधि तस्कर जमानतमा छुटे

नेता र व्यवसायीकाे दबावले औषधि तस्कर जमानतमा छुटे


विराटनगर– भारतबाट प्रतिबन्धित औषधी तस्कर गरी ल्याएको आरोपमा पक्राउ परेका एक जना आरोपीलाई औषधी व्यवस्था विभाग विराटनगरले बोलाएको बेलामा उपस्थित हुने गरि हाजिर जमानतमा छोडेको छ ।

प्रतिबन्धित औषधीसहित पक्राउ परेका विराटनगर– १३ का ३६ वर्षिय नरेश यादवलाई विभागले आइतबार हाजिर जमानतमा छोडेको हो ।

मोरङ प्रहरीबाट खटिएको टोलीले प्रतिबन्धित चार कार्टुन औषधीसहित ८ मंसिरमा यादवलाई पक्राउ गरेको थियो । सिआरबी जतुवाको टोलीले यादवको घरमा भण्डारण गरिएको अवस्थामा ‘रम्डेसिभिर’ इन्जेक्सनसहितका औषधी व्यवस्था विभागमा दर्ता नभएका प्रतिबन्धित औषधीहरू बरामद भएको थियो ।

उनको घरबाट औषधी बरामद भएपछि यादवलाई प्रहरीले पक्राउ गरि आवश्यक कारवाहीको लागि ९ मंसिरमा औषधी व्यवस्था विभाग विराटनगरलाई बुुझाएको थियो । प्रहरीले बुझाए लगत्तै विभागले ९ मंसिरमा पक्राउ परेका यादवलाई मोरङ अदालतमा ‘प्रतिबन्धित औषधि पैठारी तथा ओसारपसार’ मुद्धामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको थियो ।

विभागका प्रमुखसहितका कर्मचारीहरूलाई संघिय संसदसहितका केही नेता र व्यवसायीहरूले दवाब दिएपछि यादवलाई अदालतमा उपस्थित भएको बखत उपस्थित गराउने सर्तमा छोडेको स्रोतको दाबी छ ।

आरोपी यादवलाई छुटाउन तस्करीमा संलग्न गिरोहको प्रभावमा परेर  नेकपाका एक केन्द्रीय तहका नेता र केही व्यवसायी लागि परेका थिए । यद्यपि मोरङ प्रहरीले दबावको विच पनि ओरोपीलाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभागलाई बुझाएको थियो ।

प्रतिबन्धित औषधी सम्बन्धी मुद्धा औषधि व्यवस्था विभागले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमार्फत अदालतमा अभियोग दर्ता गर्दछ । तर, यसरी आरोपलाई हाजिर जमानतमा छोडेर विभागले अनुसन्धान नगर्दा प्रतिवादीले प्रमाण लोप गराउन सक्ने कानून व्यवसायीहरु बताउँछन् ।

यता औषधी व्यवस्था विभाग विराटनगरले यस घटनामा अुसन्धान भइरहेकाले मुख्य व्यक्तिलाई पक्राउ गर्न प्रतिवादीलाई बोलाएको बेला उपस्थित हुने गरि हाजिर जमानतमा छोडेको जानकारी दिएको छ । अहिले नै यो मुद्धा टुंगोमा  नपुगेकोले अनुसन्धान अधिकृतले अनुसन्धान गर्दै आएको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिए ।

‘कसुर गरेका व्यक्तिलाई कसैको दवाबमा प्रतिवादीलाई छोड्न सकिदैन,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । अनुसन्धान प्रक्रिया रहेको विषय पुरा नभइ केही भन्न मिल्दैन ।’

औषधि मगाउने फरार

भारतदेखि तस्करी गरी विराटनगरसम्म प्रतिबन्धित औषधी ल्याउने यादवले निश्चित रकम पाउँथे । कति रकम यादवले पाउँथे त्यो अहिले नै खुलेको छैन । प्रतिबन्धित औषधि मगाउने व्यक्त फरार छन् ।

विभागले ती व्यक्तिलाई पक्राउ गर्न मोरङ प्रहरीलाई पत्राचार गर्दा पनि अहिलेसम्म पक्राउ परेका छैनन् । यादवलाई अवैध औषधि मगाउने स्वास्थ्य क्षेत्रमा व्यक्ति रहेको औषधि विभागको अनुसन्धानबाट खुलेको छ ।  उनी ग्रामिण क्षेत्रमा बसोवास गरी विराटनगरसहितका अन्य स्वास्थ्य क्षेत्रको हब भएको ठाउँमा प्रतिबन्धित औषधि कारोबार गर्ने यस क्षेत्रका जानकारहरू बताउँछन् । प्रहरीले तस्करीको औषधी मगाउने व्यक्ति पक्राउ गरि नसकेकाले ती व्यक्तिको नाम गोप्य राखेको छ ।

८ मंसिरमा मोरङ प्रहरीले विराटनगर– १३ सैनिक टोलका नरेश यादवको घरबाट १० भाइल रेम्डेसिभिर इन्जेक्सन, औषधी व्यवस्था विभागमा दर्ता नभएका चार कार्टुन औषधि बरामद गरेको थियो । बरामद गरेको रेम्डेसिभिर इन्जेक्सन भारतमा भारु २ हजार ८ सय र  ४ हजार ५ सय रुपैयाँमा पाइने यो इन्जेक्सन नेपालमा ल्याउँदा १५  हजारदेखि २५ हजार रुपैयाँसम्ममा खरिदबिक्री हुने गरेको छ ।

यसको तस्करी गरी कालोबजारीमा स्वास्थ्य क्षेत्रका केही समूहको संलग्न हुने गरेको देखिएको छ । स्रोतका अनुसार रेम्डेसिभिरको तस्करीमा विराटनगरका केही ठूला औषधि व्यवसायी र स्वास्थ्य क्षेत्रका जानकार व्यक्तिको संलग्न छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ