२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने

प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने


विराटनगर – प्रदेश १ मा कोरोना विरूद्धको खोप आइपुगेको छ । स्वास्थ्य सेवा विभागले पठाएको कोरोना विरुद्धको खोप प्रदेश १ को राजधानी विराटनगरमा सोमबार आइपुगेको हो ।

पहिलो चरणमा प्रदेश १ का सबै १४ जिल्लालाई पर्याप्त हुने गरी खोपको ९६ हजार डोज आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार माघ १३ गते बेलुकासम्म प्रदेशभरिका जिल्लाहरुमा आवश्यकता अनुसार खोप पुगिसक्ने छ ।

प्रदेशभरका प्रत्येक जिल्ला अस्पताल र केही ठुला अस्पतालहरुबाट प्रथम चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई कोरोना विरुद्धको खोप लगाउने प्रदेश सरकारको योजना छ । प्रथम चरणमा ३५ हजार ५ सय ७६ जनालाई कोरोना विरुद्धको खोप लगाउने तयारी रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईले जानकारी दिए ।

पहिलोपटक खोप लगाइसकेका व्यक्तिले १ महिनापछि पुनः दोश्रोपटक खोप लगाउनुपर्ने भएकाले प्रदेशलाई हाल कुल ७१ हजार १ सय ५२ डोज कोरोना विरुद्धको खोप चाहिएको छ । तर पहिलो चरणमै सोमबार ९६ हजार डोज कोरोना विरुद्धको खोप विराटनगर आइपुगेकाले हाल प्रदेश सरकारसँग पहिलो चरणका लागि पर्याप्त खोप रहेको स्वास्थ्य महाशाखा प्रमुख प्रसाईले बताए । कोरोना विरुद्धको खोप भने विराटनगरस्थित प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा भण्डारण गरिएको छ ।

एक भायलमा १० डोज खोप हुन्छ । त्यसका लागि आवश्यक पर्ने एडिनालिन इन्जेक्सन र सिरिन्ज समेत आएको छ ।

तीन अस्पतालबाट खोप लगाइने

मोरङका नागरिकका लागि विराटनगरका तीन अस्पताललाई केन्द्र तोकिएको छ । कोशी अस्पताल, विराट मेडिकल एण्ड टिचिङ र नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालमा यो खोप लगाइने व्यवस्था मिलएको छ ।

जिल्लास्थित कोभिड सुरक्षा उपचार समन्वय समितिले अन्य जिल्लाका हकमा केन्द्र तय गर्नसक्नेछ । सरकारले अन्य जिल्लामा जिल्ला अस्पतालमा खोप केन्द्रीत गर्नेछ ।

त्यसपछि जिल्लास्थित कोभिड सुरक्षा उपचार समन्वय समितिले त्यसको व्यवस्थापन मिलाएर नागरिकलाई लगाउने छ । त्यसबाहेक झापाको मेची अस्पतालमा समेत संघीय सरकारले नै केन्द्र तोकेको छ । कुन जिल्लामा कति डोज खोप पठाउने भन्ने विषयमा भने अहिले गृहकार्य भईरहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ