२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बिरामीको मृत्युपछि विराटनगरको म्याक्स अस्पतालमा नाराबाजी

बिरामीको मृत्युपछि विराटनगरको म्याक्स अस्पतालमा नाराबाजी


विराटनगर– विराटनगरको महेन्द्रचोकमा रहेको म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ । मोरङको जहदा गाउँपालिका ४ की २५ वर्षिय रन्जना महतोको उपचारको क्रममा शनिबार विहान मृत्यु भएसँगै बिरामीका आफन्तहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै नाराबाजी गरिरहेका छन् ।

बिरामीका आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै अस्पताल अगाडि शनिबार दिउँसो नाराबाजी गर्दै आएका छन् । उनीहरूले लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्नुको साथै पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै अस्पताल अगाडि नाराबाजीमा उत्रेका छन् । मृतकका आफन्तले नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएपछि अस्पताल अगाडी मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा दिएको छ ।

गत पुस १६ गते रन्जनाले खाना पकाउने क्रममा शरिरको विभिन्न भाग जलेको थियो । उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । कोशीमा उपचार नहुने भएपछि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान रेफर गरिदिएको भएपनि एम्बुलेन्स चालकले म्याक्स हस्पिटल लिएर आएको बिरामीका देवर विरेन महतोले जानकारी दिए । कमिसन पाउने चक्करमा एम्बुलेन्स चालकले म्याक्स पु¥याएको उनीहरुको आरोप छ ।

‘अस्पतालमा करिब डेढ महिना उपचार ग¥यौं । अहिलेसम्म १२ लाख रुपैयाँ सकियो । तर, भाउजुको स्वास्थ्यमा कुनै सुधार आएन,’ विरेनले भने, ‘भाउजुको उपचार १७ धुर जग्गा बेचेर र चन्दा संकलन गरेर उपचार गरेका थियौं । हस्पिटल र चिकित्सकको लापरबाहीले बचाउन सकेनौं ।’ शुक्रबार दिउँसोसम्म राम्रोसँग बोलेको भाउजुको शनिबार बिहान मृत्यु भएको हस्पिटलका कर्मचारीले जानकारी दिएको उनले बताए ।

लापरवाही गर्ने चिकित्सकलाई कारवाही नभएसम्म शव नबुझ्ने उनीहरुले अडान राखेका छन् । मृतकको चार वर्षको छोरी र २ वर्षको छोरा छ । यता हस्पिटल प्रशासनले विरामीको मृत्युको विषयमा कुनै जानकारी गराएको छैन । घटनाको विषयमा हेल्थ आवजले सम्पर्क गर्दा अस्पताल प्रशासनका कर्मचारी सम्पर्कमा आउन चाहेनन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ