२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १यसरी परे अख्तियारको स्ट्रीङ अप्रेसनमा फार्मेसी अधिकृत फन्दामा

यसरी परे अख्तियारको स्ट्रीङ अप्रेसनमा फार्मेसी अधिकृत फन्दामा

विभागमा अन्य कर्मचारीमाथि पनि अनुसन्धान हुने


विराटनगर—बन्द भएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै दुई लाख रूपैयाँ घुस लिएका नेपाल औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले बिहीबार विराटनगर– ३ दुधफारम अगाडी रहेको भट्टराई होटलबाट उनलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

कारवाही गरेर बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा अख्तियारको स्टिङ अप्रेसनमा मोरङको उर्लाबारी नगरपालिका—५ हाटखोला घर भएका २५ वर्षीय सुवेदीलाई घुससहित रंगेहात पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

पक्राउ परेका सुवेदी करारमा नियुक्त भएका कर्मचारी हुन् । उनी ढेड वर्ष अगाडि औषधी व्यवस्था विभाग विराटनगरमा आएका हुन् । छात्रवृत्तिमा ‘बी फर्मा’ पढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई करारमा नियुक्त गरेका कर्मचारी रहेको औषधी व्यवस्था विभाग विराटनगरले जनाएको छ । उनको दरबन्दी सोही कार्यालयमा रहेको छ ।

यसरी मागेका थिए २ लाख घुस

गत भदौमा तेह्रथुमको मेन्छयाएम गाउँपालिकामा रहेको एउटा फार्मेसीमा एक जना बिरामीको मृत्यु भएको थियो । बिरामीको मृत्यु भएपछि ५ भदौमा उक्त फर्मा बन्द गरियो । सो फार्मेसी औषधी व्यवस्था विभाग विराटनगले शिलबन्दी गरेर ६ महिना बन्द गरिदियो ।

सो घटनाको अनुसन्धान गर्न विभागका निमित्त कार्यालय प्रमुख सन्जीव शर्मा कट्टेलले काररमा नियुक्त भएका फार्मेसी अधिकृत सुवेदीलाई तोकिदिएका थिए । सुवेदीले २ लाख रुपैयाँ दिए मुद्दा मिलाइदिने र बन्द भएको फार्मेसी पनि खुलाइदिने भन्दै घुस रकम मागेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

घुससहित पक्राउ परेका सुवेदीले फार्मेसीका संचालकलाई आफूभन्दा माथिल्लो तहका कर्मचारीसम्मलाई मिलाइदिने भन्दै २ लाख रुपैयाँ घुस रकम मागेको स्रोतको दाबी छ । सुवेदी घुस रकम लिन औषधी व्यवस्था विभाग विराटनगरको कार्यालयदेखि १ किलोमिटर पश्चिममा रहेको विराटनगर—३ मा रहेको भट्टराई होटलमा पुगेका थिए । सोही होटलबाट उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका सुवेदीले माथिल्लो तहको कर्मचारीलाई पनि मिलाउनुपर्ने बयानको क्रममा बताएपछि अख्तियारले यस घटनामा फराकिलो तरिकाले अनुसन्धान सुरू गरेको छ । ‘माथिल्लो तहका कर्मचारीलाई पनि मिलाउनुपर्ने बयानमा क्रममा भनेका छन्,’ अख्तियारको अनुसन्धान अधिकृतले भने, ‘यस घटनामा विभागका अन्य कर्मचारीहरू माथि पनि अनुसन्धान हुन्छ । घुस लिनेले भनेअनुसारको प्रमाण पुगे माथिल्लो तहका कर्मचारी माथि पनि अभियोग दायर हुन्छ । सबै कोणबाट हामीले अनुसन्धान सुरू गरेका छौं ।’

अख्तियारको इटहरी टोलीले बिहीबार साँझ विराटनगरस्थित औषधी व्यवस्था विभाग कार्यालयमा पनि गएर कागजपत्र र कार्यालय प्रमुख कट्टेलसँग पनि सोधपुछ गरेको बुझिएको छ । पक्राउ परेका सुवेदीलाई शुक्रबार काठमाडौंस्थित विशेष अदालतमा म्याद थप गरि अनुसन्धान सुरू गर्ने अख्तियारले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ