२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नवजात शिशुको मृत्युपछि नोवेल अस्पताल तनावग्रस्त

नवजात शिशुको मृत्युपछि नोवेल अस्पताल तनावग्रस्त


विराटनगर – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको उपचारको क्रममा मृत्यु भएपछि शुक्रबार दिनभर तनावग्रस्त बनेको छ । सुनसरीको इटहरी– १ आँपगाछीकी सरिता प्रधानलाई प्रसुती गराउने क्रममा चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तहरू नाराबाजी गर्दै आन्दोलनमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

२५ चैतमा आमा र बच्चाको सामान्य अवस्था रहेकै बखत भर्ना गरिएपनि प्रसुती गराउने बेला भ्याकुमले तान्ने क्रममा शिशुको मृत्यु भएको आफन्तको दाबी छ । आमाको इच्छा विपरित जबरजस्ती पटक–पटक भ्याकुमको प्रयोग गरिएका कारण शिशुको मृत्यु भएको मृतकका बावु मनिष प्रधानले बताए ।

‘गर्भवती भएपछि नियमित रूपमा नोबेल अस्पतालमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिदै आएको थियो । चिकित्सकले डेलिभरीको डेट २२ चैतमा दिएका थिए । २४ चैतमा अस्पताल भर्ना भएको भोलिपल्ट प्रसुती गराउने क्रममा सिकारू चिकित्सकहरूले भ्याकुमले तान्दा नवजात शिशुको टाउको र शरीरभरी घाउ भयो,’ मृतकका बावु मनिषले भने । उपचारमा लापरवाही गरेको कारणले गर्दा नवजात शिशुको मृत्यु भएको उनले बताए । उनले लापरवाही गर्ने चिकित्सकलाई कारवाही गरिनुपर्ने माग राखेका छन् ।

भ्याकुमले तानेर निकालिएको बच्चाको टाउको, छाती र शरीरमा चोट देखिएपछि आफन्तहरु आक्रोशित हुँदै आएका छन् । शिशु निकाल्दा टाउकोमा प्वाँल, छातीमा रगत जमेको टाटो र शरीरभरी निलडाम देखिएको उनको भनाइ छ ।

अस्पताल तोडफोड

नवजात शिशुको मृत्यु भएपछि आक्रोशित भिडले नोवेल अस्पताल तोडफोड गरिदिएका छन् । उनीहरूले अस्पतालको झ्याल र ढोकाको सिसा फुटाइदिएका हुन् ।

साथै, आक्रोशितहरुले नोबेल अस्पताल अगाडि डा. मधु साहलाई कारवाही गर्नुपर्ने माग गर्दै मुख्य प्रवेशद्वारबाट आउजाउ बन्द गराउन खोजेका थिए । त्यस क्रममा आन्दोलनमा सहभागी हुन आएकी मिना श्रेष्ठलाई नोबेलका सेक्युरिटी गार्डले हातपात गरेपछि उत्पन्न विवादसँगै आक्रोशित पीडितले नोबेलमा तोडफोड गरेका हुन् ।

प्रहरीले भीडलाई तितर बितर बनाउने क्रममा पीडित पक्षको समर्थनमा आएका होमराज देउजा र शिव नेपालीको हातमा चोट लागेको छ । अर्का सन्दीप चौधरीलाई गहिरो चोट लागेको छ । उनको दश टाँका लगाउनु परेको दिलकुमार राईले जानकारी दिए ।

अस्पतलाका प्रबन्धक नारायण दाहालले अस्पतालका चिकित्सकले कुनै लापरबाही नगरेको दाबी गरेका छन् । ‘उपचारको क्रममा चिकित्सकले कुनै लापरवाही गर्नुभएको छैन । पेटभित्र नवजात शिशुको डटडिजिट भएको रहेछ,’ प्रबन्धक दाहालले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ