२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर

निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर


विराटनगर-कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न विराटनगरमा आजदेखि एक हप्ता निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको पहिलो दिन आइतबार विराटनगरका सडकमा चहलपहल घटेको छ । सडक क्षेत्रका पसलहरू खुलेका छैनन् । चोक–चोकमा बसेर नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् ।

निषेधाज्ञा कडाइका साथ लागु गर्न विराटनगरभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ । सडकमा गुडेका सवारी नियमन र अनुगमन र निषेधाज्ञा कडाइका साथ लागु गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । निषेधाज्ञा पालना गराउनकै लागि विराटनगर क्षेत्रमा ८ सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरी खटाइएको एसपी खड्काले बताए ।

सडकमा चेक प्वाइन्ट, पिकेट, मोबाइल गस्ती, स्ट्राइकिङ, रिजर्भ र सादा पोसाकका सुरक्षाकर्मीलाई फरक–फरक भूमिकामा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी र सशस्त्रले निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने बताएको छ । अत्यावश्यक सेवा र अनुमतिबाहक बाहेकका सवारी र पैदलै आवागमन गर्नेलाई नियन्त्रण लिएर प्रहरीले होल्ड गरेको छ । औषधी, खाद्यवस्तु तथा अत्यावश्यक सेवा वस्तु खरिद गर्न बाहेक हिँडडुलमा रोक लगाइएको छ । दुध, खाद्यवस्तु, खाना पकाउने ग्यास तथा तरकारी आपूर्ति प्रणाली बिहान १० बजेसम्म गरिसक्नुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणको दोस्रो लहरमा फैलिएपछि यसको रोकथाम र नियन्त्रणको लागि शनिबार राती १२ बजेपछि लागु हुने गरी विराटनगर महानगरपालिकासहित बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा आदेश जारी गरिएको हो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ