२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा नक्कली ‘रेम्डेसिभिर’ बेच्ने गिरोह सक्रिय, फार्मेसी संचालकसहित दुई पक्राउ

विराटनगरमा नक्कली ‘रेम्डेसिभिर’ बेच्ने गिरोह सक्रिय, फार्मेसी संचालकसहित दुई पक्राउ


विराटनगर-कडा खालको लक्षण भएका कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने ‘रेम्डेसिभिर’लाई विराटनगरमा नक्कली ‘रेम्डेसिभिर’ बनाएर बिक्री वितरण गर्ने गिरोह सक्रिय भएको पाइएको छ । ‘स्टासेफ’ नामको इन्जेक्सनमा नक्कली रेम्डेसिभिरको लेबल लगाएर महंगो मूल्यमा कारोबार गर्ने गिरोह सक्रिय रहेको रहस्य खुलेको छ ।

स्टासेफ इन्जेक्सनमा रेम्डेसिभिरको नक्कली लेबल लगाएर बिरामीलाई बिक्री वितरण गरेको आरोपमा विराटनगरबाट फार्मेसी संचालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरको विशेष प्रहरीको टोली र मोरङ प्रहरीले नक्कली औषधी बिक्री वितरण गरेको आरोपमा विराटनगर– ४ नोबेल टिचिङ्ग हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ संचालक सोनु आलम र कामदार सरमण यादवलाई पक्राउ गरेको हो । उनीहरूले भण्डारण गरेको नक्कली रेम्डेसिभिर इन्सेक्जन पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरुलाई फार्मेसीबाटै पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

‘स्टासेफ’ नामको इन्जेक्सन । त्यही स्टासेफलाई नयाँ लेबल लगाएर रेम्डेसिभिर भन्दै बिक्री वितरण गरिएको थियो ।

‘विराटनगरमा नक्कली रेम्डेसिभिरको बिक्री वितरण हुने गरेको सूचना पाएपछि केही फार्मेसीमा हामीले छापा पनि हानेका थियौ,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भने, ‘अहिले यस विषयमा हामीले अनुसन्धान गर्दैछौं । सोधपुछको लागि केहीलाई नियन्त्रणमा पनि लिएका छौं ।’ अनुसन्धानपछि थप विषय खुल्ने एसपी खड्काले बताए ।

नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोहले अहिले विराटनगरमा ९० रूपैयाँमा पाइने ‘स्टासेफ’ इन्जेक्सनमा लेभल लगाएर रेम्डेसिभिर भन्दै चर्को मुल्य लिएर बिरामीका आफन्तलाई बिक्री गर्दै आएका छन् । स्टासेफ र रेम्डेसिभिर इन्जेक्सनको बट्टाको साइज पनि एउटै हुने भएकोले नयाँ नक्कली लेबल लगाएर रेम्डेसिभिर भन्दै बिक्री गर्दै हिडने गरेको स्वास्थ्य क्षेत्रको जानकार स्रोतले जानकारी दिएको छ । ‘स्टासेफ’ इन्जेक्सन एन्टिबाइटीक औषधि हो । भारतमा पाइने रेम्डेसिभिर र स्टासेफ इन्जेक्सनको साइज मिल्दोजुल्दो हुने गरेको छ । त्यही भएर गिरोहले रेम्डेसिभिरको नक्कली स्टीगर र लेबल बनाएर स्टासेफ इन्जेक्सनको बट्टा ७ हजारदेखि २० हजार रूपैयाँसम्ममा कोभिड अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीका आफन्तहरूलाई बिक्री गर्दै आएका छन् ।

यसरी अहिले विराटनगरमा नक्कली रेम्डेसिभिर बिक्री वितरण गर्ने गिरोह केही औषधी व्यवसायी रहेको प्रहरी स्रोतको भनाइ छ । उनीहरू सम्पर्कमा आउने बिरामीलाई नक्कली रेम्डेसिभिर चर्को मुल्य असुली गरेर बिक्री गर्दछन् ।

पक्राउ परेका फार्मेसी संचालक आलमले कति मुल्य नक्कली रेम्डेसिभिर र कहाँबाट नक्कली लेबल बनाएर कतिजनालाई विक्री गरे त्यो भने थप अनुसन्धानपछि खुल्ने एसपी खड्काले बताए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने । स्रोतको अनुसार आमल यसअघि फार्मेसीमा कामदारको रुपमा काम गर्दै आएका थिए । फार्मेसीमा काम सिकेपछि केही वर्षअगाडिदेखि उनले आफै नोबेल अगाडी औषधी पसल खुलेका हुन् । उनले स्टासेफ इन्जेक्सन भने विराटनगरको औषधीको होलसेल पसल गणेश ड्रक्स हाउसदेखि खरिद गरेर लैजाने गरेको प्रहरीले जनाएको छ ।

पहिले तस्करी, अहिले नक्कली

यसअघि ‘रेम्डेसिभिर’ इन्जेक्सन तस्करी भएर विराटनगर आउने गरेको थियो । प्रहरीले कडाइ गरेपछि गिरोहले नक्कली रेम्डेसिभिर बनाएर विक्री वितरण गर्ने गरेको खुलेको हो ।

खरिद गरेको भन्दा तीन गुणा बढी मुल्यमा नेपालमा ल्याएर ‘रेम्डेसिभिर’ इन्जेक्सनको कालोबजारी गरी बिक्री गर्ने भएकोले यसको तस्करी भारतदेखि अधिक हुने गरेको थियो । भारतमा प्रतिभाइल भारू २ हजार ८ सयदेखि ४ हजार ५ सयमा पाइने यो इन्जेक्सन नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको जानकारहरू बताउँछन् ।

अहिले नेपालमा कडा लक्षणसहितका संक्रमितको संख्या बढन थालेपछि यसको माग पनि बढेको छ । ८ मंसिरमा मोरङ प्रहरीले विराटनगर– १३ सैनिक टोलका ३६ वर्षीय नरेश यादवको घरबाट तस्करीको औषधी बरामद गर्दा १० भाइल रेम्डेसिभिर इन्जेक्सन नियन्त्रणमा आएपछि यसको तस्करी हुने गरेको पुष्टि भएको थियो ।

प्रहरीले यादवको घरबाट तस्करी गरी ल्याएको रेम्डेसिभिरसहित औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेक्सन’ लगायतका अन्य विभिन्न नाम गरेको चार कार्टुन औषधी बरामद गरेको थियो । प्रहरीले त्यसबेला आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाएको थियो । तर, विभागका राजनैतिक दलका नेता र संसदहरुले दबाव दिएपछि हाजिर जमानतमा तस्करीमा संलग्नहरु छुटेको थिए ।

अहिले नेपालमा कम्पनीअनुसार फरक–फरक दुई खालका मुल्य भएको रेम्डेसिभिर इन्जेक्सन आउने गरेको छ । भारु २ हजार ८ सय र ४ हजार ५ सय रुपैयाँको यो इन्जेक्सन नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्ममा खरिदबिक्री हुने गरेको छ । यसको तस्करी र कालोबजारीमा स्वास्थ्य क्षेत्रका केही समूहको संलग्न हुने गरेको देखिएको छ । तस्करीको गिरोहसँग मिलेर रेम्डेसिभिर इन्जेक्सनसहित अन्य प्रतिबन्धित औषधीहरू विराटनगर ल्याएपछि विभिन्न क्षेत्रमा पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘सिकिस्त कोरोना संक्रमितलाई रेम्डेसिभिर सिफारिस भएपछि कोरोना अस्पतालबाट परिवारलाई फोनमार्फत जानकारी गराइन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक संक्रमितका आफन्तले भने, ‘तपाईको बिरामीलाई इन्जेक्सन चलाउनुपर्दछ । चाँडै जोहो गर्नुहोला । फार्मेसी र स्वास्थ्यकर्मीले भनेको मानिसलाई सम्पर्क गर्दा प्रतिभाइलको १५ हजारदेखि २५ हजार रुपैयाँसम्म भन्ने गर्दछन् ।’ धेरै बार्गेनिङ्ग गरेपछि केही कममै उपलब्ध गराउन सक्छौं भन्ने गरेको ती आफन्तले बताए । ‘महामारीका बेला पैसाको मुख कसले हेर्छ ?,’ संक्रमितका एक जना आफन्तले भने, ‘यस्तो बेला पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यो हदसम्म कालोबजारी ठीक हैन, पैसा भएर मैले पो तिर्न सकें, पैसा नहुनेले चाहिँ यति महँगोमा औषधि कसरी खरिद गर्न सक्छन् ?’

विकृति रोक्न संघको माग

नेपाल औषधी व्यवसायी संघ मोरङले औषधीमा देखिएको कालोबजारी, नक्कली औषधीको विक्री वितरण नियन्त्रण गरी राज्यले सहज रूपमा लाइभ सेभिङ औषधी उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले औषधी क्षेत्रमा देखिएको विकृति नियन्त्रण गर्दै राज्यले मानव जीवन बचाउनका लागि अत्यावश्यक पर्ने लाइफ सेभिङ औषधी सहज उपलब्ध गराउन राज्यसँग माग राखेका हुन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ