२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १गाउँमा दर्ता बेगरका फार्मेसी छ्यापछ्याप्ती, कानुनी दायरामा ल्याउँदैं विभाग

गाउँमा दर्ता बेगरका फार्मेसी छ्यापछ्याप्ती, कानुनी दायरामा ल्याउँदैं विभाग


विराटनगर – प्रदेश १ को तराई र पहाडी जिल्लाका ग्रामीण र दूरदराज क्षेत्रमा दर्ता बेगर औषधी फार्मेसीहरू संचालन गर्ने गरेको पाइएको छ । नियमकारी निकायको चासो कम पर्ने भन्दै कमाउधन्दामा लागेका व्यक्तिले औषधी व्यवस्था विभागमा दर्ता बेगर फार्मेसीहरू संचालन गरेको पाइएको हो ।

विशेषगरी तराईको सुनसरी, मोरङ, झापा, उदयपुर, सिरहा, सप्तरीको ग्रामीण क्षेत्र र सीमावर्ती क्षेत्र नजिक खोलेका फार्मेसीहरू दर्ता बेगर संचालनमा आउने गरेका छन् । तराईबाहेक पनि पहाडी जिल्लाहरूमा दर्ता बेगरका औषधी पसल संचालन हुने गरेको पाइएको हो ।

औषधी व्यवस्था विभाग विराटनगरले आइतबार १७ वटा फार्मेसी अनुगमनको क्रममा सुनसरीमा मात्र चार वटा विभागमा दर्ता बेगर खुलेआम संचालन गरेको भेटिएको छ । सुनसरीको ग्रामीण क्षेत्रको दूरदराज बस्तीमा पुगेर अनुगमन गर्दा ४ वटा फार्मेसी दर्ता बेगर संचालन गरेको पाइएपछि सिलबन्दी गरिएको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए ।

यसरी दर्ता बेगर संचालन भएका फार्मेसीहरू सुनसरीको वरहाक्षेत्र नगरपालिका भित्रका रहेका छन् । बरहाक्षेत्र नगरपालिका—४ की शर्मिला राईले संचालन गरेको दर्ता र नाम बेगरको फार्मेसी औषधि व्यवस्था विभागले अनुगमन गरी सिलबन्दी गरेको छ । यस्तै, उत्तिमलाल साहले संचालन गरेको मनकामना स्वास्थ्य क्लिनिक पनि दर्ता बेगर संचालन गरेको भेटिएपछि सिलबन्दी गरिएको छ ।

बरहामा उन्दीप चौधरीले संचालन गरेको औषधी पसल पनि बिना दर्ता संचालन गरेपछि सिलबन्दी गरिएको कट्टेलले जानकारी दिए । सरिता ठाकुरले बराहक्षेत्रमा संचालन गरेको शम्भु मेडिकल हल पनि दर्ता बेगर संचालन गरेको भेटिएपछि सिलबन्दी गरिएको छ । सिलबन्दी गरिएकामध्ये राईले संचालनमा फार्मेसीले सामान्य मापदण्ड पनि पालना नगरेको अनुगमनको क्रममा भेटिएको विभागका प्रमुख कट्टेलले बताए ।

‘फार्मेसी यतिसम्म लापरवाहीपूर्ण तरिकाले चलाएको अनुगमनको क्रममा भेटिएको छ,’ उनले भने, ‘बराह क्षेत्रमा संचालन गरेको फार्मेसीको साइटमा घरेलु मदिराको भट्टी पनि भेटियो । यो हैदसम्मको लापरवाही र सामान्य मापदण्ड पनि पालना नगरेको भेटिएको छ ।’

दर्ता बेगर संचालन भएको फार्मेसी सिलबन्दी गरेर एक हप्ता भित्रमा विभागमा उपस्थित हुन निर्देशन पनि दिएको कट्टेलले बताए । ‘दर्ता बेगरका फार्मेसीलाई कानुनी दायारामा ल्याएर प्रक्रियामा ल्याउन हामीले अभियान चलाएका छौं,’ उनले भने, ‘अहिले अनुगमन गर्दै दर्ता बेगर संचालन भएका फार्मेसीलाई दर्ता प्रक्रियामा ल्याउन लागि परेका छौं । त्यही भएर अहिले अनुगमनलाई पनि तीव्रता दिएका हौं ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ