२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अतिरिक्त शुल्क नबुझाउनेलाई प्रवेश नगराइ कक्षा संचालन गराउँदा नोबेलमा तोडफोड

अतिरिक्त शुल्क नबुझाउनेलाई प्रवेश नगराइ कक्षा संचालन गराउँदा नोबेलमा तोडफोड


विराटनगर –  विराटनगरस्थित नोबेल मेडिकल कलेज तनाव ग्रस्त भएको छ । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिइ थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरू भएपछि आइतबार कलेज तनाव ग्रस्त बनेको हो  ।

कक्षा सुरु भएपछि आइतबार नोबेल कलेजका विद्यार्थीले तोडफोड गरेका छन् । केही विद्यार्थी घाइतेसमेत् भएका छन् । विवाद साम्य नहुञ्जेल  कक्षा रोक्ने सहमति विपरित नोबेलले कक्षा चलाएपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए ।

उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेल कलेजमा तोडफोड गरेका हुन् । नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो । तर, आइतबार पनि थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको हो ।

अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तीनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले यसअघि नोबेलको मुल गेट तोडफोड गरेपछि चौथो तलामा रहेको प्रशासन फाटमा तालाबन्दी पनि गरेका थिए ।

१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोबेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ । यसपटक नोबेलमा एकसयजना विद्यार्थी एमबीबीएसमा भर्ना भएका छन् ।

नोवेल डा. सुनिल शर्माको स्वामित्वमा रहेको स्वास्थ्य प्रतिष्ठान हो । नेपाली काँग्रेसका नेतासमेत रहेका नोबेलका सञ्चालक डा. शर्माले आफूहरुबाट अनावश्यक शुल्क असुल्न खोजेको विद्यार्थी र अभिभावकको भनाइ छ । यसअघि प्रशासनकै रोहबरमा भएको छलफलमा कलेज व्यवस्थापनले शुल्क नलिने भनेपछि विद्यार्थी र अभिभावक ढुक्क बनेका थिए । तर, गत बुधबारदेखि सुरु भएको कक्षा प्रवेश गर्नु अघि शुल्क अनिवार्य बुझाउन कलेजले विद्यार्थीलाई ताकेता गरिरहेको छ ।

विद्यार्थीका अनुसार यसपटक नोबेलमा एमबीबीएस पहिलो वर्षमा १ सय विद्यार्थी भर्ना भएका छन् । तीमध्ये १० जना छात्रवृत्तिअन्तर्गतका, नौ जना भारतीय छन् । केही विद्यार्थीले अतिरिक्त शुल्क बुझाएका छन् ।

विद्यार्थी र अभिभावकहरु चिकित्सा शिक्षा आयोगले तोकेकोबाहेकका कुनै पनि शुल्क नबुझाउने अडानमा छन् । नोबेलले एमबीबीएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसीप वापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क वापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दवाव दिँदै आएको विद्यार्थीले बताएका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोबेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरक्त शुल्क असुल्न खोजिरहेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो । पाँच वर्षे कोर्सको प्रथम वर्षवापतको १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले काठमाडौं विश्वविद्यालयलाई बुझाइसकेका छन् । नोबेलले विश्वविद्यालयबाट लिइसकेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ