२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेलमा टायर बालेर विद्यार्थीको प्रदर्शन

नोबेलमा टायर बालेर विद्यार्थीको प्रदर्शन


विराटनगर– विराटनगरस्थित नोबेल मेडिकल कलेज अगाडि टायर बालेर विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । अतिरिक्त शुल्कविरुद्ध आन्दोलनरत विद्यार्थीहरूले मंगलबार नोबेल मेडिकल कलेज अगाडी टायर बालेर प्रर्दशन गरेका हुन् ।

दुई सातादेखि निरन्तररुपमा आन्दोलनमा उत्रिदा पनि नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्माले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई भर्ना एवम् पठनपाठन नगर्न निर्देशन दिएपछि विद्यार्थीहरूले मंगलरबारदेखि प्रदर्शन चर्काएका हुन् ।

विद्यार्थीहरू नोबेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् । मेडिकल शिक्षामा देखिएको माफीयाकरण अन्त्य गर्न सरकारसँग उनीहरुको माग छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा चार लाख बढी रकम विद्यार्थीबाट असुल्ने ध्येयमा नोबेल मेडिकल कलेज रहेपछि विद्यार्थीले दुइसातादेखि निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् ।

अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि विभिन्न विद्यार्थी संगठनहरुले साथ दिएका छन् ।

१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोबेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ । यसपटक नोवेलमा एक सय जना विद्यार्थी एमबीबीएसमा भर्ना भएका छन् ।

नोवेल डा. सुनिल शर्माको स्वामित्वमा रहेको स्वास्थ्य प्रतिष्ठान हो । नेपाली काँग्रेसका नेतासमेत रहेका नोबेलका सञ्चालक डा. शर्माले आफूहरुबाट अनावश्यक शुल्क असुल्न खोजेको विद्यार्थी र अभिभावकको भनाइ छ । यसअघि प्रशासनकै रोहबरमा भएको छलफलमा कलेज व्यवस्थापनले शुल्क नलिने भनेपछि विद्यार्थी र अभिभावक ढुक्क बनेका थिए । तर, कक्षा प्रवेश गर्नुअघि शुल्क अनिवार्य बुझाउन कलेजले विद्यार्थीलाई ताकेता गरिरहेको छ ।

विद्यार्थीका अनुसार यसपटक नोबेलमा एमबीबीएस पहिलो वर्षमा १ सय विद्यार्थी भर्ना भएका छन् । तीमध्ये १० जना छात्रवृत्ति अन्तर्गतका नौ जना भारतीय छन् । केही विद्यार्थीले अतिरिक्त शुल्क बुझाएका छन् ।

विद्यार्थी र अभिभावकहरु भने चिकित्सा शिक्षा आयोगले तोकेकोबाहेकका कुनै पनि शुल्क नबुझाउने अडानमा छन् । नोबेलले एमबीबीएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसीप वापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क वापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दवाव दिँदै आएको विद्यार्थीले बताएका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोबेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरक्त शुल्क असुल्न खोजिरहेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो । पाँच वर्षे कोर्सको प्रथम वर्षवापत १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले काठमाडौं विश्वविद्यालयलाई बुझाइसकेका छन्, भने सो रकम नोबेलले पनि विश्वविद्यालयबाट लिइसकेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ