२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालाई पाँच सय शैय्याको स्वीकृत दिइनेछ : स्वास्थ्यमन्त्री

कोशी अस्पतालाई पाँच सय शैय्याको स्वीकृत दिइनेछ : स्वास्थ्यमन्त्री

‘तलब दोब्बर गर्दा पनि सरकारी अस्पतालमा डाक्टर नबस्ने समस्या छ’


विराटनगर–स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य पूर्वाधारको हिसाबले फड्को मार्दै अगाडि बढेको कोशी अस्पताललाई पाँच सय शैय्याको अस्पतालका लागि स्वीकृत दिने बताएका छन् । अस्पतालले ५ सय शैय्याको स्तरोन्नती गर्नका लागि ओएनएम सर्वे मन्त्रालयमा पठाइएकाले यसलाई चाँडै कार्यान्वायनमा लैजाने मन्त्री खतिवडाले जानकारी दिए ।

अस्पतालको स्तरोन्नतीसँगै जनशक्तिको पनि व्यवस्थापन गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेर अगाडि बढने उनले बताए ।

आइतबार विराटनगरमा संवाद समूहले आयोजना गरेको कार्यक्रममा मन्त्री खतिवडाले कोशी अस्पतालले पाउन बाँकी रहेको बिमा कार्यक्रमको रकम तत्काल भुक्तानी गरिदिन बिमा समितिलाई निर्देशन दिइसकेको बताए । ‘अहिले बिमा बापतको रकम भुक्तानी हुन नसक्नुको कारण भनेको कर्मचारी अभावले हो,’ उनले भने, ‘त्यो समस्या समाधान गर्नका लागि तत्काल कर्मचारी ब्यवस्थापन गरेर एक महिना भित्र बिमाको रकम भुक्तानीको लागि निर्देशन दिइसकेको छु ।’

भौतिक पूर्वाधारमा कोशीले फड्को मार्दै अगाडि बढेकाले अब सुविधासम्पन्न अस्पतालको रुपमा अघि बढ्ने उनले बताए । ‘कोशीमा सुविधासम्पन्न संरचनाहरु बन्ने क्रम सुरु भएको छ । अहिले आकस्मिकसहितको अन्य सेवाहरु रहने सुविधा सम्पन्न पाँच तलाको भवन बन्दैछ,’ उनले भने, ‘त्यस लगतै कोशी अस्पताल भित्र चार अर्बको बजेटमा अर्को थप १० तलाको भवन पनि बन्दैछ ।’ सुविधा सम्पन्न भवन निर्माण भएपछि जनशक्तिको व्यवस्थापनको काम पनि मन्त्रालयले गर्ने उनले बताए ।

क्लिनिकमा जाने र अस्पताल समयमा नबस्ने डाक्टर समस्याको रुपमा रहेको मन्त्री खतिवडाले बताए । तलब दोब्बर गर्दा पनि समस्या देखिएपछि यसको कानुनी उपचार खोज्नुपर्ने अवस्था रहेको उनले बताए ।

कोशी अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नका लागि पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा काम सुरु गरिएको उनलेको भनाइ छ । मन्त्री खतिवडाले प्रदेशअन्तर्गतका अस्पतालमा देखिएको जनशक्ति समस्या समाधान पनि लोकसेवा मार्फत ब्यवस्थापन गरिने बताए ।

१ सय ३१ वर्ष पुरानो कोशी अस्पताल अहिले ३ सय ५० शैय्यामा संचालन रहेको छ । अस्पताल हाताभित्र सुविधासम्पन्न संरचनाहरु थपिदै गएकाले अस्पतालले ५ सय शैय्याको स्तरोन्नती गर्नका लागि ओएनएम सर्बे गरेर मन्त्रालय पढाएको कोशी अस्पतालका सुपरिटेन्डटेन्ड डा. चुमनलाल दासले बताए ।

अहिले कोशीभित्र ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ बजेटमा अन्डरग्राउण्डसहित पाँच तलाको सुविधासम्पन्न भवन निर्माणको काम धमाधम भइरहेको छ । अहिले बन्दै गरेको पाँच तलाको भवनको उत्तर पूर्वपट्टी १० तलाको भवन बनाउने प्रक्रिया अगाडि बढेको छ । १० तलाको भवन निर्माण भएर संचालनमा आएपछि कोशीमा १ हजार शैय्या पु¥याउने योजना रहेको अस्पतालका मेसु दासले जानकारी दिए । पाँच तलाको भवन बनाउने सम्झौता २०७८ असार २३ गते गरिएको छ भने निर्माण सकिने अवधि २०८० पुस २३ गते रहेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ