२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा १२ करोड लागतमा बनेको ७१ शैय्याको प्रसूति भवन सञ्चालनमा

कोशी अस्पतालमा १२ करोड लागतमा बनेको ७१ शैय्याको प्रसूति भवन सञ्चालनमा

वार्षिक १० हजारसम्मले गराउँछन् प्रसूति


विराटनगर–पूर्वाधारमा फड्को मार्दै अगाडि बढेको विराटनगरस्थित कोशी अस्पताल भित्र सुविधासम्पन्न स्त्री तथा प्रसूति विभागको छुट्टै भवन संचालनमा आएको छ । अमेरिकी सेनाको सहयोगमा निर्माण भएर एक साता अगाडि हस्तान्तरण भएको प्रसुति विभागको भवन आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उद्घाटन गरेका हुन् ।

१२ करोड रुपैयाँ लागतमा नवनिर्मत प्रसूति भवनमा ७१ शैय्या रहेको छ । नयाँ बनेको भवनमा विरामी राखेर प्रसूतीको सेवा आरम्भ भएको छ । नयाँ भवनबाट सामान्य प्रसूति, जटिल प्रसूति तथा शल्यक्रिया, सुरक्षित गर्भपतन र स्त्री रोग सम्बन्धीको सम्पूर्ण सेवाहरु संचालनमा आउने स्त्री रोग तथा प्रसुति विभागका प डा. अन्जु देवले जानकारी दिइन् । यसअघि जीर्ण भवनबाट अस्पतालले प्रसूतिको सेवा दिदै आएको थियो । नयाँ सुविधा सम्पन्न भवन बनेपछि उपचारमा सहजता हुने डा. देवले बताइन् ।

‘यसअघि जीर्ण भवनमा कष्टकर तरिकाले सेवा दिनुपर्ने बाध्यता थियो । नयाँ भवन बनेपछि बिरामीलाई उपचारमा सहज हुनेछ,’ उनले भनिन्, ‘अस्पतालमा अहिले दैनिक जसो २० देखि ३० जनासम्मको प्रसूति हुने गरेको छ । यहाँ प्रदेश १ र २ देखि भारतको बिहार प्रदेशसम्मका बिरामी सेवा लिन आउने गरेका छन् ।’ सुविधा सम्पन्न भवनमा स्त्री रोग तथा प्रसूती सेवा सुरु भएपछि बिरामीको उपचार गर्न धेरै सहज हुने उनको भनाइ छ । उनका अनुसार कोशी अस्पतालमा वर्षमा ९ देखि १० हजार जनाको प्रसूति हुने गरेको छ ।

उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोशीलाई सुविधा सम्पन्न अस्पताल बनाएर देशको नमूना अस्पतालको रुपमा बिकास गरेर अगाडी बढने बताए । भौतिक पूर्वाधारले सम्पन्न बनाउँदै प्रयाप्त जनशक्तिको व्यवस्थापन गरेर गुणस्तरीय सेवा प्रदान गरेर देशको नमूना अस्पताल बनाउने सरकारको योजना रहेको उनले बताए । त्यही अनुसार अहिले संरचनाहरु बन्दै गएको उनले बताए । मन्त्री खतिवडाले फागुन १ गतेदेखि देशभरी सर्वसाधरणलाई लगान सुरु गरिएको कोभिड १९ विरुद्धको ‘बुस्टर डोज’ खोप अभियानलाई प्रभावकारी रूपमा अगाडी बढाउनुपर्ने बताए ।

प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले कोशीलाई प्रदेश १ को गौरवको अस्पतालको रुपमा विकास गरेर अगाडि बढनुपर्ने बताए । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै यस प्रदेशको गौरवको अस्पतालको रुपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारी अस्पताललमा विपन्न समुदायका बढी बिरामी आउने भएकोले गुणस्तरीय सेवा प्रदान गरी बिरामीको मन जित्नुपर्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले देशभरिमा कोशी अस्पताल तेस्रोमा आउने भएकोले यस अस्पतालले गुणस्तरीय सेवा दिएर अगाडि बढनुपर्नेमा जोड दिइन् । प्रत्येक वर्ष ९ देखि १० हजारको प्रसूति गराउने अस्पताल कोशी पर्ने भएकोले थप सेवा विस्तार गर्दै बिरामीलाई सहज रुपमा सेवा प्रदान दिनुपर्ने बताइन् ।

स्त्री रोग तथा प्रसू्ति रोग विभागमा ८ जना विशेषज्ञ चिकित्सक रहेका छन् । सेवा प्रवाहसँग थप स्वास्थ्य जनशक्ति परिचालन गर्ने अस्पतालका मेडिकल सुपरिटेन्डटेन्ट (मेसु) डा. चुमनलाल दासले जानकारी दिए । दुईतलाको संरचना रहेको प्रसूति विभागको निर्माण कार्य २०७७ असार अन्तिम सातादेखि सुरु भएको थियो । इतिहास बोकेको अस्पतालले अहिले १७ वटा सेवा प्रदान गर्दै आएको उनले बताए ।

६ वटा पब्लिक हेल्थको सेवाहरु पनि सुचारु रहेको उनले जानकारी गराए । सुपर स्पेस्यालिटी हस्पिटल बनाउन लागि परेको मेसु दासले बताए । ‘अहिले पूर्वाधारहरु धमाधम थप भइरहेका छन्,’ उनले भने, ‘यो बन्दै गरेको भौतिक संरचनाहरु सुपर स्पेस्यालिटी हस्पिटलको लागि हो ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ