२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्य बिमा बोर्डबाट रकम भुक्तानी नहुँदा कोशीका २६७ जना कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

स्वास्थ्य बिमा बोर्डबाट रकम भुक्तानी नहुँदा कोशीका २६७ जना कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

स्वास्थ्य बिमा वापतको १७ करोड भुक्तानी नहुँदा सेवा प्रवाहमा समेत समस्या


सरकारले समयमा स्वास्थ्य बिमाको रकम उपलब्ध नगराए बाध्य भएर अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतका सेवा तत्कालका लागि बन्द गरिनुपर्ने अवस्था सिर्जना हुनसक्ने अस्पतलले जनाएको छ ।

विराटनगर—विराटनगरस्थित कोशी अस्पतालको स्वास्थ्य बिमा बापतको १७ करोड रुपैयाँभन्दा बढी रकम सरकारले भुक्तानी नगर्दा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य बिमा बोर्डले ९ महिनादेखि कोशी अस्पतालले उपचार गरेको स्वास्थ्य बिमा बापतको ठूलो रकम निकासा नगर्दा सेवा प्रवाहमा समेत समस्या भएको अस्पतालले जनाएको छ ।

अस्पतालले स्वास्थ्य बिमामार्फत उपचार गरेको बिरामीको चालु आर्थिक वर्षको असार मसान्तदेखि माघ २३ गतेसम्म १७ करोड रुपैयाँ स्वास्थ्य बिमा बोर्डबाट भुक्तानी पाउन बाँकी रहेको अस्पतालका लेखा प्रमुख राजेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार असार मसान्तसम्म ४ करोड ३० लाख ९५ हजार ९ सय ११ रुपैयाँ स्वास्थ्य बिमा वापतको कोशीमा उपचार र औषधीको भुक्तानी बोर्डबाट आउन बाँकी रहेको छ ।

यस्तै, चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म सिस्टम भित्रको दाबी गरिएको २ करोड ६५ लाख ९१ हजार १ सय २७८ रुपैयाँ अस्पतालले पाउन बाँकी रहेको छ । साउनदेखि २३ माघसम्म दाबी गरिएको मध्ये स्वीकृत भएको ८५ लाख ६५ हजार १ सय ६८ रुपैयाँ पनि स्वास्थ्य बिमा बोर्डले रोकेर राखिदिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालले बिरामीलाई दिएको ४ करोड ५७ लाख ४२ हजार ४ सय ५० रुपैयाँको औषधी बापतको रकम पनि बोर्डले भुक्तानी दिएको छैन । ल्याब, चिकित्सक शुल्क र सेवा प्रवाहको ५ करोड ४१ लाख ३२ हजार ९ सय ३१ रुपैयाँ पनि स्वास्थ्य बिमा बोर्डले दिनुपर्ने देखिएको छ ।

स्वास्थ्य बिमाअन्तर्गतको ठूलो रकम निकासा नहुँदा कोशी अस्पतालको सेवा प्रवाहमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिए । अस्पतालले उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डबाट पाउनुपर्ने रकम समयमै नपाउँदा विकास समितिका स्वास्थ्यकर्मी, कर्मचारी, औषधी खरिद गर्न र अवकाश प्राप्त सरकारी कर्मचारीलाई औषधी र उपदान रकम दिन नसकिएको मेसु खरेलले बताए । अस्पतालबाट अवकास पाएका १७ जना कर्मचारी छन् ।

विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य बिमामार्फत सेवा लिने बिरामी ।

‘स्वास्थ्य बिमामार्फत उपचार गरिएको रकम निकासा गरिदिन हामीले पटक–पटक स्वास्थ्य बिमा बोर्डमा परिपत्र गरिसक्यौं । तर, अहिलेसम्म निकासा भएर बिमाको रकम आउन सकेको छैन,’ मेसु खरेलले भने ।

समयमा निकासा नहुँदा औषधि खरिददेखि ठूला औषधि वितरकलाई रकम भुक्तानी दिन नसकिएको उनले बताए । बोर्डले समयमा स्वास्थ्य बिमाको रकम निकासा नगर्दा अस्पतालले कार्यक्रमअन्तर्गतको औषधि खरिद गर्न सकेको छैन । जसले गर्दा स्वास्थ्य बिमा गरेका बिरामीलाई समस्या भएको छ ।

स्वास्थ्य मिमाको रकम निकास भएर नआउँदा विकास समितिबाट नियुक्ति गरिएका २ सय ६७ जना कर्मचारीले तीन महिनादेखि तलब नपाएको अस्पतालले जनाएको छ । उनीहरुको तीन महिनाको तलब करिब ४ करोड हुन आउने अस्पतालको लेखा प्रमुख सुवेदीले बताए । बिमाको रकम नआउँदा स्वास्थ्यकर्मीले जोखिम भत्ता पनि नपाएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट बिमितले बहिरंग तथा अन्तरंग सेवा, शल्यक्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी, एक्सरेलगायतको सेवा लिँदै आएका छन् । सरकारले समयमा स्वास्थ्य बिमाको रकम उपलब्ध नगराए बाध्य भएर अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतका सेवा तत्कालका लागि बन्द गरिनुपर्ने अवस्था सिर्जना हुनसक्ने अस्पतालले जनाएको छ । अस्पतालले उधारोमा औषधि ल्याएर बिरामीलाई वितरण गरिरहेको र समयमै स्वास्थ्य बिमामार्फत पाउनुपर्ने रकम निकासा गरी सरकारले नपठाए स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतका सेवाहरु बन्द गरिनुपर्ने अवस्था सिर्जना हुने बताइएको छ । कोशीमा दैनिक करिब १० लाखभन्दा बढी बराबरको बिमा बापत सेवा दिदैं आएपनि अस्पताललाई सरकारले रकम उपलब्ध नगराएको लेखा प्रमुख सुवेदीले बताए ।

स्वास्थ्य बिमा कार्यक्रमले सर्वसाधारणको उपचार सहज भएपनि औषधिको लागि अस्पतालले लगानी गर्न सक्ने अवस्था नभएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए । उनले बोर्डमा पटक–पटक रकम निकासाको लागि पहल भएको बताए । ‘रकम पठाइदिन्छौं भन्ने खबर आउँछ । तर, फेरि रोकिन्छ । अस्पताल आफैले औषधिका लागि ठूलो रकम खर्च गर्न सक्ने अवस्थापनि छैन’, उनले भने, ‘समयमा रकम भुक्तानी भए बिरामीलाई सहज हुने थियो ।’ निजी अस्पताललाई भने बोर्डले बिमाको रकम समयमै भुक्तानी गर्ने गरेको बुझिएको छ ।

अस्पतालमा गएको साउनदेखि हालसम्म स्वास्थ्य बिमा कार्डमार्फत ६७ हजारले बिरामीले सेवा लिएका छन् । जसमा मासिक करिब पाँच हजारभन्दा बढी र दैनिक पाँच सयको संख्यामा बिरामी लाभान्वित भएको अस्पतालले जनाएको छ । कोशी अस्पतालमा २०७४ साल माघबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो ।

नेपालमा ४२ लाख २२ हजार ६ सय ११ जना बिमा कार्यक्रममा समाहित छन् भने प्रदेश १ मा १३ लाख ७५ हजार ६ सय ८२ जनाले बिमा गराएका छन् । प्रदेश १ मा ९८ वटा अस्पतालबाट बिमितहरुले सेवा पाउँछन् । सरकारी ७२, निजी २१ र सामुदायीक पाँच वटा अस्पतालबाट उपचार सेवा पाएका छन् । स्वास्थ्य बिमा कार्यक्रम सुरू भएपछि आर्थिक विपन्न परिवारको उपचारमा राहत मिलेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ