२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एम्स हस्पिटलमा आन्तरिक द्वन्द्व, ‘टाट’ पल्टिएपछि अनिश्चितकालीन बन्द

एम्स हस्पिटलमा आन्तरिक द्वन्द्व, ‘टाट’ पल्टिएपछि अनिश्चितकालीन बन्द

एकजना चिकित्सकले ३ देखि ७ लाख रूपैयाँसम्म तलब पाउन बाँकी


विराटनगर-विराटनगरको हस्पिटल चौकमा रहेको एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रा.लि. बन्द भएको छ । आन्तरिक द्वन्द्वसँगै आर्थिक रूपमा ‘टाट’ पल्टिएपछि एम्स हस्पिटल अनिश्चितकालीन रुपमा बन्द भएको हो ।

अस्पतालमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीहरूले पाउने ठूलो रकम पारिश्रमिकसमेत नदिइकन आर्थिक रूपमा टाट पल्टिएको एम्स अस्पताल अनिश्चितकालीन रुपमा बन्द भएको छ ।

विराटनगरको हस्पिटल चौक नजिक रहेको अस्पतालमा तीन दर्जन स्वास्थ्यकर्मी र कर्मचारीहरूले तलब पाउन बाँकी रहेको छ । एकजना चिकित्सकले ७ लाख रुपैयाँसम्म पाउनुपर्ने देखिएको छ । यहाँ काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी गरी करिब ३० जना कर्मचारीहरूले २० देखि २५ लाख रूपैयाँभन्दा बढी पारिश्रमिक पाउनुपर्ने देखिन्छ । चरम आर्थिक संकट उत्पन्न भएपछि आन्तरिक द्वन्द्वको चपेटामा परेपछि अस्पताल व्यवस्थापनले ४ साउनमा सूचना जारी गरेर अनिश्चितकालीन रूपमा अस्पताल बन्द गरेको हो ।

‘यस अस्पताल संस्थापकसँग विशाल अग्रवालले गरेको सम्झौता समेत लत्याएर अचानक बिना जानकारी अस्पतालको विभिन्न सामान, प्रशासनिक र आर्थिक कारोबारको सम्पूर्ण कागजात, कम्प्युटरसहित अस्पताल छाडेर भागेकाले निज उपर कानुनी प्रक्रिया अगाडि बढाइएकोले अर्को सूचना प्रकाशित नहुन्जेल अस्पतालबाट दिइने सम्पूर्ण सेवाहरू स्थगित रहेको जानकारी गराइन्छ,’ हस्पिटलले निकालेको सूचनामा उल्लेख छ ।

५० शैय्याको अस्पताल अजय यादवले संचालन गर्दै आएका थिए । अस्पताल संचालन खर्च धान्न नसकेपछि यादवले कोशी अस्पतालमा कार्यरत सर्जन डा. विशाल अग्रवाललाई भाडामा ठेक्का दिएका थिए । मासिक ५ लाख र ५ लाख रूपैयाँ नाफा दिनुपर्ने सर्त राखेर २०७८ पुस २२ गते सम्झौता गरेपछि डा. अग्रवालले डेढ वर्षसम्मका लागि भाडामा लिएका थिए । अग्रवालले प्रशासन प्रमुखको जिम्मेवारी लिएर संचालन गरेको ६ महिना पनि पुग्न नपाउँदै हस्पिटल बन्द भएको हो ।

डा. अग्रवालले हस्पिटलका प्रबन्धक रहेका अजय यादवले सम्झौताअनुसार काम नगरेको जबरजस्ती रूपमा गुण्डागर्दी शैलीमा असार २७ गते हस्पिटल बन्द गरिदिएको दावी गरे । ‘हस्पिटल भाडामा लिँदा युरोलोजी, इण्डोस्कोपी, जनरल वार्ड बनाइदिन्छु भनेका थिए । तर, सम्झौताअनुसार कुनै पनि काम नभएपछि हामीले मुनाफा बापत दिने भनेको मासिक ५ लाख रुपैयाँ रोकिदिएका थियौं,’ डा. अग्रवालले भने, ‘त्यही विषयलाई लिएर हस्पिटलजस्तो संवेदनशील ठाउँ अहिले बन्द हुन पुगेको छ ।’ आफूले बीमा बापतको करिब २५ लाख रुपैयाँ पाउनुपर्ने भएकाले उक्त रकम पाएपछि काम गर्ने, स्वास्थ्यकर्मी र कर्मचारीहरूको रकम भुक्तानी गर्ने पनि उनले बताए ।

एम्स अस्पतालका प्रबन्धक निर्देशक अजय यादवले आफूले सम्झौताअनुसार रकम नपाएको र डा. अग्रवालको टिमले हस्पिटल चलाउन नसक्ने भनेर हात उठाएपछि केही दिनको लागि मात्र हस्पिटल बन्द भएको बताए । ‘सम्झौता गरी हस्पिटल जिम्मा लिने अग्रवालले बदमासी गरेका छन् । अस्पतालको नक्कली लेटर प्याडदेखि सही पनि नक्कली बनाइए जालासाझी गरेका छन् । हामी कानुनी बमोजिम कारवाहीको प्रक्रियामा गएका पनि छौं,’ उनले भने, ‘कानुनी लडाइ सकेपछि केही दिन भित्रमा यी सबै समस्या हटाएर हस्पिटल पुनः संचालनमा ल्याउनेछौं ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ