२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा औषधीको दुरूपयोग बढ्यो, ३८ जना विरुद्ध मुद्धा दायर

प्रदेश १ मा औषधीको दुरूपयोग बढ्यो, ३८ जना विरुद्ध मुद्धा दायर


मोरङ, झापा, सुनसरी र उदयपुरमा औषधीको दुरूपयोग गर्दै लागूऔषध प्रयोगकर्तालाइ बिक्री वितरण, औषधीको अनुचित प्रयोग गर्ने ३८ जना विरूद्ध मुद्दा दायर

विराटनगर—बिरामीलाई अति आवश्यक पर्ने औषधीको अनुचित प्रयोग गरेर कमाउधन्दामा लागेका गिरोहले यसको चरम दुरूपयोग गर्ने गरेको पाइएको छ । औषधीको चरम दुरूपयोग गर्दै लागूऔषध बनाएर प्रदेश १ को पूर्वी सहरमा बिक्री वितरण गर्ने गिरोहको सञ्जाल सक्रिय रहेको पाइएको हो ।

बिरामीले सेवन गर्ने औषधीको दुरूपयोग गरेर लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गरी चाँडै कमाउने धन्दामा लागेका यस्ता गिरोह झापा, मोरङ, सुनसरी र उदयपुरमा अधिक रहेका छन् । डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन नामको औषधीलाई मिश्रण गरेर लागूऔषध बनाएर युवापुस्ताहरूलाई बिक्री वितरण गर्ने गिरोहको सञ्जाल ठूलो रहेको पाइएको हो ।

डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन नामको औषधी बिरामीले दुखाइ कम गर्न चिकित्सकको सिफारिसमा मात्र सेवन गरिनुपर्ने औषधी रहेको औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख टेकेन्द्र मिश्रले जानकारी दिए । तर, यहाँ यी औषधीको चरम दुरूपयोग बढेको उनले बताए ।

एक साताअघि मोरङको उर्लावारी नगरपालिका–३ मंगलबारेबाट औषधीको अनुचित प्रयोग गरेको पाइएपछि रविन पुरी, रक्की धिमाल, सुमित राई र उज्वल थापा पक्राउ परेका छन् । उनीहरूलाई औषधी अनुचित प्रयोग गराउन लगाउने मुख्य नाइके फरार छन् । प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ । यसअघि इटहरी १ बाट पनि औषधीको दुरूपयोग गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेर औषधी व्यवस्था विभागले म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । पक्राउ पर्नेमा रविहाङ्ग लिम्बु, दिपककुमार मण्डल, मनिष खड्का, जीवन देव र जनम राई रहेको औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिए ।

केही दिन अगाडि धरानमा बसेर प्रतिबन्धित औषधीलाई लागूऔषध बनाएर बिक्री वितरण गर्ने गिरोहका नाइके धरान उपमहानगरपालिका–५ बगरकोटका २४ वर्षीय अनाम राई पक्राउ परेका थिए । विभागले गरेको अनुसन्धानबाट राईले धरानको बगरकोटमा बसेर तीन वटा प्रतिबन्धित औषधी डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषध बनाएर बिक्री गर्ने गरेको खुलेको थियो । क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधीसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने गरेको चिकित्सकले बताएका छन् । त्यही भएर अवैध रुपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । ट्रामाडोल क्यान्सरका बिरामीले दुखाइ कम गर्न र डाइसाइक्लोमाइन औषधी दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ ।

औषधी व्यवस्था विभाग विराटनगरले आर्थिक वर्ष २०७८/०७९ मा औषधीको अनुचित प्रयोग गरेको १७ वटा मुद्दा मोरङ अदालतमा दर्ता गरेको छ । १७ वटा मुद्दामा ३८ जनालाई प्रतिवादी बनाएर अभियोग मोरङ अदालतमा दर्ता गरेको सूचना अधिकारी खड्काले बताए । औषधी ऐन, २०३५ अनुसार औषधीको अनुचित प्रयोग गरेर बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

कडा कानुनी व्यवस्था रहँदा पनि कमाउ धन्दामा लागेका गिरोहले एकपछि अर्को गर्दै औषधीको अनुचित प्रयोग गर्न नछोडेको विभागले बताएको छ ।‘प्रतिबन्धित औषधीहरू भारतदेखि भित्र्याएपछि पूर्वी सरहमा भण्डारण गरी लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ कार्यालय प्रमुख टेकेन्द्र मिश्रले भने, ‘अवैध रूपमा ल्याएको औषधीको चरम दुरूपयोग गर्दै गिरोहले दुव्र्यसनीमा लागेका युवाहरूलाई महंगो मुल्यमा बिक्री वितरण गर्ने गरेको पाइएको छ । उनीहरूले डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन मिसाएर लागूऔषध बनाएर बिक्री गरेको पाइयो ।’ यसरी औषधीलाई लागूऔषध बनाएर बिक्री वितरणमा गर्नेमा औषधी पसल संचालन गर्ने संचालकहरू पनि रहेका छन् ।

प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन मिलाएर लागूऔषध बनाएर ५ देखि ७ सय रूपैयाँसम्म बिक्री वितरण गर्ने गरेको छन् । प्रतिबन्धित औषधीलाई लागूऔषध बनाएर धरान, इटहरीसहित पूर्वी सहर मोरङको केरावारी, बेलवारी, उर्लावारी, मधुमल्ला, पथरी, बेलबारीलगायतको सहरमा बिक्री वितरण गर्दै आएका छन् । पक्राउ परेका प्रतिवादीहरुले २० देखि ३० हजार रुपैयाँको प्रतिबन्धित औषधी भारतमा खरिद गरेर पूर्वी सहरहरुमा ल्याएर उक्त औषधी लागूऔषध बनाएर ८ देखि १० लाख रुपैयाँसम्म बिक्री गरेको बयानको क्रममा स्वीकार गरेका छन् । ‘औषधीलाई लागूऔषध बनाएर पूर्वी सहरमा पु¥याउन सिटी रिक्सा र चालकहरू प्रयोग गर्ने गरेको पाइएको छ । चालक प्रयोग गर्दा प्रहरी र नियमक नियाको ध्यान नजाने भएकोले प्रतिबन्धित औषधीको कारोबार गर्ने गिरोहले निक्कै चलाखी गरेको पाइएको छ,’ अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषधको रुपमा सेवन गर्दा शरीर र मानसिक रुपमा असर गर्नुको साथै स्मरणशक्तिमा ह्रास आउने औषधी व्यवस्था विभागले जनाएको छ । यसरी प्रतिबन्धित औषधीको दुरूपयोग गर्दै लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण कमाउधन्दामा लागेका केही फार्मेसी संचालकहरूले पनि बिक्री वितरण गर्ने गरेका थिए । केही फार्मेसी संचालकहरूले औषधीको अनुचित प्रयोग गरी लागूऔषध दुर्व्यसनीहरूलाई बेच्ने गरेको विभागले जनाएको छ । यस्तो बदमासी सुनसरी, उदयपुर, झापा र मोरङमा अधिक हुने गरेको पाइएको छ । औषधी व्यवस्था विभागले पछिल्लो समय जनगुनासो र प्राप्त सुचनाको आधारमा अनुगमन गर्ने क्रममा औषधीको चरम दुरूपयोग गर्ने गरेको फेला पारेको छ ।

विभागले आर्थिक वर्षमा ६५७ वटा फार्मेसीहरु अनुगमनको क्रममा कैफियत भेटिएका ३२ वटा फार्मेसी निलम्बन गरेको छ । निलम्बनमा परेका फार्मेसीहरू दर्ता नभएका, औषधी पसलमा फर्मासिष्ट अनुपस्थित बेगार औषधीको बिक्री वितरण गर्ने पसलहरु रहेको विभागले जनाएको छ । विभागले आर्थिक वर्षमा १ करोड १३ लाख ७३ हजार ८ सय ६५ रूपैयाँ राजस्व संकलन गरेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ