२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्य निर्देशिका अपाङ्गता मैत्री हुनुपर्नेमा जोड

स्वास्थ्य निर्देशिका अपाङ्गता मैत्री हुनुपर्नेमा जोड


विराटनगर—अपाङ्गता भएका व्यक्तिहरूको उपचार राज्यले निःशुल्क गरिने व्यवस्था मिलाउनुपर्ने एक कार्यक्रममा सारोकारवालहरूले बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरू सानैबाट विभिन्न रोगबाट ग्रसित हुने भएको कारणले उनीहरूको उपचार गर्ने व्यवस्था राज्यले गरिनुपर्ने बताएका हुन् ।

बिहीबार नेत्रहीन युवा संघले विराटनगरमा आयोजना गरेको अपाङ्गता मैत्री यौन प्रजनन स्वास्थ्य निर्देशका अभिमुखीकरण गोष्ठी कार्यक्रममा बोल्दै उनीहरूले स्वास्थ्य बीमा गरिदिएर भएपनि राज्यले अपाङ्गता भएका व्यक्तिहरूको उपचार व्यवस्था राज्यले गरिदिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेत्रहीन युवा संघका केन्द्रीय अध्यक्ष कलाधर भण्डारीले प्रकृतिको आधारमा १० प्रकार र गम्भीरताको आधारका ४ प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको उपचार राज्यले गरिदिनुपर्ने बताए । ‘स्वास्थ्य कार्यालयहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँच हुने गरेको छैन । यहाँका सरकारी कार्यालयदेखि स्वास्थ्य कार्यालयहरू अपाङ्गता मैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा लिन कठिनाइ हुने गरेका छ,’ उनले भने, ‘हरेक कार्यालयको भौतिक संरचनाहरू अपाङ्गता मैत्री र स्वास्थ्य कार्यालयहरूमा अपाङ्गता मैत्री स्वास्थ्य सामाग्रीको व्यवस्था राज्यले गरिनुपर्दछ ।’

हरेक सरकारी कार्यालयहरूमा दोभासे राखिनुपर्ने उनले बताए । ‘दोभासे नहुँदा अपाङ्गता भएका व्यक्तिहरूले सेवा लिन समस्या हुने गरेको छ,’ उनले भने, ‘त्यसैले स्वास्थ्य कार्यालयदेखि हरेक कार्यालयहरूमा दोभासेको व्यवस्था गरिनुपर्नेछ ।’ राज्य तहबाट बन्ने स्वास्थ्य निर्देशिकाहरू पनि अपाङ्गता मैत्री निर्माण गरी कार्यन्वयन हुनुपर्ने उनले बताए ।

कार्यक्रममा प्रदेश १ को स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेश सरकारले बनाउने स्वास्थ्य निर्देशिकाहरू अपाङ्गता मैत्री बनाएर अगाडि बढने बताए । कार्यक्रममा प्रदेश १ का स्वास्थ्य मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले अपाङ्गता मैत्री यौन तथा प्रजनन स्वास्थ्य निर्देशिका बनेको कारणले यसलाई प्रभावकारी कार्यन्वयनमा लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा नेत्रहीन युवा संघकी निलु महर्जनले स्वास्थ्य उपचारमा अपाङ्गता मैत्री नीति निर्माण राज्यले बनाएर अगाडि बढनुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा सुनसरी र मोरङका अपाङ्गता भएका ६० जनाको उपस्थिती रहेको थियो । नेत्रहीन युवा संघले ७ वटै प्रदेशमा अपाङ्गता मैत्री यौन तथा प्रजनन स्वास्थ्य निर्देशिका अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । नेपालमा कुल जनसंख्याको करिव १.९४ प्रतिशतमा अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । शारीरिक अपाङ्गता ३६ प्रतिशत, दृष्टिविहीन १८ प्रतिशत, वहिरा १५ प्रतिशत रहेको बताइएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ