२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया गरिने

कोशी अस्पतालमा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया गरिने

चालु आर्थिक वर्षमा एक सय जनाको शल्यक्रिया गर्ने लक्ष्य


विराटनगर–विराटनगरस्थित कोशी अस्पतालले हाइड्रोसिल (अण्डकोष वरिपरी पानी भरिएर ठूलो हुने रोग)को निःशुल्क शल्यक्रिया गर्न सुरू गरेको छ । अस्पतालमा चालु आर्थिक वर्षमा एक सय जना हाइड्रोसिल भएका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य रहेको अस्पताल मेडिकल सुपरिटेन्डेन्ट (मेसु) प्रा.डा. रविराज सिंहले जानकारी दिए ।

चालु आर्थिक वर्षको चैत २३ गतेसम्म हाइड्रोसिल भएका ७४ जना बिरामीको शल्यक्रिया गरिएको कोशी अस्पतालका मेडिकल रेकर्डर गोविन्द कटुवालले बताए । चालु आर्थिक वर्षमा हाइड्रोसिलका एक सय जना बिरामीको शल्यक्रिया गर्ने लक्ष्य रहेको उनले बताए ।

नेपालमा हाइड्रोसिलका बिरामी करिब एक लाख रहेको अनुमान छ । नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो ।

उक्त कार्यक्रमअन्तर्गत नै कोशीले विगत १४ वर्षदेखि निःशुल्क सेवा सुरु गरेको हो । सरकारले प्रत्येक अस्पताललाई एक जना बिरामीको शल्यक्रिया गरेबापत ५ हजार ५ सय उपलब्ध गराउँदैं आएको छ । उक्त रकम बिरामीको शल्यक्रिया र औषधिका लागि पुग्नेछ । तीन वर्षमा कोशीमा १५२ जना हाइड्रोसिलका बिरामीको शल्यक्रिया भएको मेडिकल रेकर्डर कटुवालले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८ मा १६ जनाको गरिएको छ । यस्तै, २०७८/०७९ मा ६२ जनाको हाइड्रोसिलको शल्यक्रिया गरिएको छ । चालु आर्थिक वर्षको चैतसम्म ७४ जनाको गरिएको अस्पतालको अभिलेखमा देखिन्छ ।

कोशीमा हाइड्रोसिलको उपचार गर्ने फोकल पर्सन सर्जन डा. क्षितिज गिरी रहेका छन् । हाइड्रोसिल हुँदा पुरुषको अण्डकोषको बाहिरी भागमा पानी जम्मा हुन्छ । हाइड्रोसिल एक वा दुवै अण्डकोषमा हुन सक्छ । जम्मा भएको पानीले गर्दा अण्डकोष सुनिएको वा ठूलो भएको जस्तो देखिन्छ । हाइड्रोसिलले कहिले दुखाइ पैदा गराउँदैंन् तर अण्डकोषको आकार भने ठूलो बनाउँछ । यसको उपचार सामान्य शल्यक्रिया नै हो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ