२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा १ साउनबाट सूर्तिजन्य पदार्थ सेवन र बिक्री वितरण गर्न नपाइने

विराटनगरमा १ साउनबाट सूर्तिजन्य पदार्थ सेवन र बिक्री वितरण गर्न नपाइने


विराटनगर—विराटनगर महानगरपालिकाले सार्वजनिकस्थलमा सूर्तिजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेर लैजाने भएको छ । १ साउनदेखिबाट विराटनगरको सार्वजनिकस्थलमा सूर्तिजन्य पदार्थको सेवन र बिक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले बताएकी हुन् ।

१ बैशाखमा महानगरपालिकाले सार्वजनिकस्थलमा सूर्तिजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने निर्णय गरेको थियो । सोहीअनुसार महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको आएको थियो ।

पछिल्लो समय कार्यन्वयन प्रभावकारी नदेखिएको बताउँदै उनले १ साउनबाट कडाइको साथ सार्वजनिकस्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरण गर्न नदिने बताइन् ।

बुधबार हेल्थआवाज, आउटरिच मिडिया प्रा.लि. काठमाडौं र विराटनगर ७ नं. वडाको संयुक्त आयोजनामा विराटनगरमा भएको धुम्रपान तथा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले सार्वजनिकस्थलमा सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नदिने बताइन् । ‘सूतिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ कडाइका साथ लागु गरेर कार्यन्वयनमा लिएर जानेछौं,’ उनले भनिन्, ‘महानगरले विराटनगरको सार्वजनिक स्थलमा १ साउनबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण र सेवनमा पूर्ण रुपमा रोक लगाएर लानेछौं ।’

अटेर गर्नेलाई ऐनमा भएको नियमअनुसार कारवाहीको दायरामा आउने उनले बताइन् । सूर्तिजन्य पदार्थको सार्वजनिकस्थलमा बिक्री वितरण गर्ने महानगरको अभियानलाई सबै संघसंस्थाले साथ सहयोग गरिदिनुपर्ने उनले बताइन् ।

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सूर्तिजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गर्न सुरू गरेको हो । चुरोट, गुट्का, खैनीलगायतका सूर्तिजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले महानगर कठोर रुपमा उत्रिएको उनले बताइन् ।

कार्यक्रममा बोल्दै कोशी अस्पतालका दन्त रोग विशेषज्ञ डाक्टर सुधिर श्रेष्ठले सुर्तीजन्य पदार्थको सेवनको कारण मुखको क्यान्सरका बिरामीको संख्यामा वृद्धि आएको बताए । ‘धुम्रपान र सूर्तिजन्य पदार्थको प्रयोगले मुखको क्यान्सर अहिले बढेको छ,’ उनले भने, ‘कोशी अस्पतालमा अहिले दैनिक २÷३ जना मुखको समस्या लिएर बिरामीहरु आउने गरेका छन् । आएका बिरामीहरू सूर्तिजन्य पदार्थ सेवनको कारणले समस्या लिएर आउनेहरू छन् ।’

कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साह, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी विजय श्रेष्ठ, विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, विराटनगर ७ का वडाअध्यक्ष मधुबाबु तिवारी, प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डंगोल, पब्लिक फोरमको अध्यक्ष उत्तम ढुङ्गेलले रोग निम्त्याउने सूर्तिजन्य पदार्थको बिक्री वितरण र सेवन अन्त्य गरेर अगाडि बढनुपर्ने बताए । त्यसको लागि सचेतनामूलक कार्यक्रम गरेर सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ कडाइको साथ लागु गर्नुपर्नेमा जोड दिए ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिकस्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने व्यवस्था छ । विद्यालय, स्वास्थ्य संस्था आसपास खुलेआम रुपमा सूर्तिजन्य पदार्थको बिक्री वितरण भैरहेको र त्यसलाई पूर्ण रुपमा रोक्न महानगरपालिका लागि पर्ने भएको हो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ