२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा शैय्या अभावले बिरामीको छटपटी, झ्यालमा बिरामी राखेर उपचार

कोशीमा शैय्या अभावले बिरामीको छटपटी, झ्यालमा बिरामी राखेर उपचार

शैय्या विस्तार र भएको जनशक्ति परिचालनमा छैन मेसु र विकास समितिको ध्यान


विराटनगर—विराटनगर–३ का ७० वर्षीया हेमराज मगर आइतबार विहान चौपायका लागि बारीमा घाँस काट्न गएका थिए । घाँस काट्ने क्रममा उनको दायाँ हातमा सर्पले डस्यो । हतारिएर कोशी अस्पतालको आकस्मिक कक्षमा दिउँसो ११ बजे भर्ना भए ।

आकस्मिक कक्षको ४० शैय्या बिरामीले भरिभराउ थियो । शैय्या नपाएपछि उनी अकस्मिक कक्षको झ्यालमा बसेर उपचार गर्दै आएका छन् । ‘स्लाइन पानी झ्यालमा झुण्ड्याएर हातमा चढाएको छ । आकस्मिक कक्षमा शैय्या नभएपछि यहाँका स्वास्थ्यकर्मीले पनि झ्यालमा राखिदिए,’ उनले भने, ‘२४ घण्टा यही झ्यालमा बसेर उपचार गर्ने भनिएको छ । हैरान हुने भयो । मज्जासँग अडेस पनि लाग्न मिल्दैन् । कलिकति हलचल भयो भने भुइँमा लडिहालिन्छ ।’

मोरङको जहदा गाउँपालिका—४ की २१ वर्षीया जानुका कुमारी ऋषिदेवलाई पनि सर्पले टोकेपछि आइतबार दिउँसो १ बजे कोशी हस्पिटल लिएर आफन्त आएका छन् । उनले पनि कोशीको आकस्मिक कक्षमा शैय्या नपाएपछि अर्को झ्यालमा राखेर उपचार सुरू गरिएको छ ।

जानुकादेवी ऋषिदेव र पुष्कर पोखरेल झ्यालमा बसेर उपचार गर्दै ।

जानुकासँगै छेउमा विराटनगर—७ का ४० वर्षीय पुष्कर पोखरेललाई पनि सँगै राखिएको छ । पोखरेललाई पनि आइतबार दिउँसो बैंक जान साइकल लिएर घरबाट निस्किए । बाटोमा दायाँ खुट्टामा सर्पले डसेपछि उनी दिउँसो १ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा आए । बिरामीले शैय्या भरिभराउ छ । कतै ठाउँ नपाएपछि उनलाई पनि झ्यामा राखेर उपचार सुरू गरिएको छ ।

पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा जनरल, आईसीयु र आकस्मिक कक्षको शैय्या विस्तारमा अस्पताल विकास समिति र प्रशासनले ध्यान नदिँदा बिरामीले पाएको पाइरहेको सास्तीका यी प्रतिनिधी नमुनामात्रै हुन् । आकस्मिक कक्षमा आएका बिरामीले शैय्या अभाव भएपछि यहाँका स्वास्थ्यकर्मीहरूले आएका बिरामीलाई एउटै शैय्यामा दुई जना, झ्याल, ट्रली, र स्ट्रेचरमा राखेर उपचार गर्न विवश छन् ।

कोशीको आकस्मिक कक्ष ४० शैय्याको रहेको छ । भएको ४० शैय्यामा बिरामी प्रायः भरिभराउ हुने गर्दछन् । ३ सय ५० शैय्याको कोशी अस्पतालमा मेडिकल वार्डमा ३२ शैय्या, आईसीयुमा १२ शैय्या, र एचडियुमा ५ शैय्या रहेको छ । ‘आकस्मिक कक्ष, आईसीयु, मेडिकल वार्ड र एचडियुमा शैय्या थप गरिदिए बिरामीलाई सहज हुने थियो । यो तीन वटा वार्डमा नयाँ आएका मेसु र विकास समितिले शैय्या थप गरिदिए आकस्मिक कक्षमा आएका बिरामी झ्याल र एउटै बेडमा दुईसम्म राखेर उपचार गरिनुपर्ने बाध्यताको अन्त्य हुने थियो,’ उपचारमा खटिएक एक जना चिकित्सकले भने, ‘हामीले धेरै सुझाव दिइसक्यौं । तर, इच्छाशक्ति भएका मेसु पाइएको छैन । भएको जनशक्तिलाई राम्रोसँग परिचालन गर्ने र शैय्या विस्तारमा ध्यान दिए अहिलेको यो झ्याल र एउटै बेडमा दुई जनासम्म राखेर उपचार गरिनुपर्ने अवस्था हल हुने थियो ।’

कोशी अस्पतालको अकस्मिक कक्षमा बिरामीको भिड ।

कोशी अस्पतालमा दैनिक १ हजार देखि १ हजार ५ सय जना बिरामीले ओपीडी र आकस्म्कि कक्षमा सेवा लिने गरेका छन् । करिब १ सयदेखि १ सय ५० जना बिरामी भर्ना हुने खालका हुन्छन् । भर्ना भएका बिरामीले शैय्या नपाएपछि झ्याल र चिसो भुइँमा छटपटी गर्दै उपचार लिनुपर्ने बाध्यता छ ।

‘बिरामी भएपछि हस्पिटलमा आरामले उपचार पाइन्छ भनेर आउने गरिन्छ । तर, कोशी अस्पतालको आकस्मिक कक्षमा आइपुग्दा झन बिरामी भइन्छ जस्तो भइयो,’ झ्यालमा बसेर उपचार गर्दै आएका ७० वर्षीय हेमराज मगरले भने, ‘शैय्या बसेर उपचार पाए शरीरलाई पनि आराम हुने थियो । यहाँ झ्यालमा बसेर उपचार गर्दा शरीरलाई पूरा सास्ती भएको छ । असहज महसुस भइरहेको छ ।’

अहिले कोशीको अकस्मिक कक्षमा सर्पले डसेको, ज्वरो, डायरिया, पेट र किड्नीमा समस्या भएका बिरामी धेरै आउने गरेका छन् । आएकामध्ये शैय्या भरिएपछि झ्यालमा बसेर उपचार गर्दा पीडादायी अवस्था हुने उनीहरू बताउँछन् ।

कोशीमा आउने धेरैजसो बिरामी आर्थिक रूपमा विपन्न र कमजोर हुन्छन् । आएका बिरामीलाई उपचार गरेर पठाउने गरेको कोशी अस्पतालको अकस्मिक कक्षको इन्चार्ज गजेन्द्रप्रसाद यादवले बताए । ‘आएका जति बिरामीलाई शैय्या भएसम्म राखेर उपचार गरिन्छ । नभएपछि पनि यही उपचार गरिदिनु भनेपछि हामी पनि बाध्य भएर झ्याल र एउटा बेडमा दुई जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था छ,’ उनले भने ।

कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले जनशक्ति कमीका कारणले समस्या आएको बताए । ‘अहिले एक जना स्वास्थ्यकर्मीले ३० जना सम्म बिरामी हेर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘जनशक्ति थप गरेपछि शैय्या पनि विस्तार गर्ने योजना छ । केही दिनभित्रमा नै समस्याको हल हुनेछ ।’ अहिले अस्पतालको विकास समिति पनि नयाँ नियुक्ति भएर आएकोले केही दिन भित्रमा बैठक बसेर जनशक्ति थप गरी अगाडि बढने उनले बताए । ‘हाम्रो प्राथमिकता भनेको एनआईसीयू संचालन गरिने र आकस्मिक कक्षलाई व्यवस्थित गर्ने लक्ष्य रहेको छ,’ उनले भने, ‘केही दिन भित्रमा सुधार हुनेछ ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ