२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १‘२ केजी जन्मिएको शिशुलाई ९५० ग्राम लेख्न लगाए’

‘२ केजी जन्मिएको शिशुलाई ९५० ग्राम लेख्न लगाए’

‘बिक्री गरेको कसैलाई नभन्न डा. कर्णले दिएका थिए दबाब’


विराटनगर– विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा नवजात शिशु बेपत्ता प्रकरणमा अस्पतालमा कार्यरत नर्स पुष्पा चौधरीले प्रहरीलाई बयान दिएकी छन् ।

नर्स चौधरीको बयानअनुसार शिशुको उपचारमा संलग्न डाक्टर तपेश्वरलाल कर्णले विक्री गरेको शिशुको तौल घटाउने उनलाई  दबाब दिइएको पाइएको छ ।

प्रहरीका अनुसार नवजात शिशुको उपचारका क्रममा डाक्टर कर्णले ड्युटीमा रहेकी नर्सलाई तौल घटाउन लगाएर पाँच लाखमा विक्री गरेको कसैलाई पनि नभन्न दबाब दिएको खुलेको हो ।

चौधरीले प्रहरीलाई दिएको बयान अनुसार अविवाहित किशोरीले करिब २ केजी तौलको नवजात शिशुलाई जन्म दिएकी थिइन् । तर, रेकर्डमा डाक्टर कर्णले कम तौल ९ सय ५० ग्रामको शिशु जन्मिएको र स्वास्थ्यमा समस्या देखिएको भन्दै धरानस्थित बिपी कोइराला विज्ञापन प्रतिष्ठान वा सुविधा सम्पन्न हस्पिटलमा लैजान सल्लाह अनुसार बुझिलिए भनेर डा. कर्णले लेख्न लगाएको ती नर्सले प्रहरीसमक्ष बयान दिएकी छिन् ।
अभिलेखमा लेख्न लगाए पनि शिशुको बाबु र आमाले जन्मिएको छोरी नलगेर डाक्टर कर्णको योजना अनुसार विक्री गरेको अभियोग पत्रमा उल्लेख ।

‘म ड्युटी भएको बखत डा. तपेश्वरलाल कर्ण अस्पताल आएर पुष्पा तिमीले नाइट ड्युटी गरेको थियौँ । तिमीले यो नोट लेख्नुपर्छ, नोट लेखेनौ भने भोलि पुलिस केश भएको अवस्थामा तिमी फस्छौ भनी धाक धम्की दिएपछि निजले भने बमोजिम मैले लेखेँ ।’

मान बहादुर तामाङ र फुल कुमारी गुरुङबाट जन्मिएको कम तौल भएको छोरीको अवस्था कमजोर रहेकोले धरान बिपी स्वास्थ्य विज्ञान वा अन्य सुविधाजनक अस्पतालमा लैजाने सल्लाह अनुसार बुझिलिए भनेर चिकित्सक कर्णले लेख्न लगाए । तर, फुल कुमारी गुरुङले जन्माएको बच्चा निजको बुबा गोविन्द राईले लगेका छैनन् । उक्त कुरा कर्णले विभिन्न सञ्चार माध्यममा समाचार आएपछि लेख्न लगाएका हुन । कर्णले मलाई उल्लेखित ब्यहोरा लेख्न लगाएपछि मैले पछि यही कुरा भन्दा हुन्छ नि ! भन्दा त्यही कुरा सबै ठाउँमा भन्नु, कोही कसैले सोधेमा समेत तिमीले लेखे बमोजिमको कुरा भन्नु भने । बच्चा जन्मिएको र अर्कै मान्छेले लगेको कुरा कोही कसैलाई पनि नभन्नु नत्र भने फस्छौँ, भनी डर त्रास देखाए । मलाई डर लागेर आज भन्दा पहिला मलाई यस कार्यालयमा बोलाई मौखिक रुपमा सोधपुछ गर्दा मैल डाक्टर कर्णले भने बमोजिम अन्य कुराहरू बताई दिएको थिए,’ मोरङ अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ ।

भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन । विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा.कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा विक्री गरेको खुलेको थियो ।

प्रहरीले उनीसहित अपराधमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।

कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिक छ । आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा. कर्णले कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु ५ लाखमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।

त्यसअघि डा. कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रुपैयाँ लिएको पनि अनुसन्धानले खुलेको छ । प्रहरीले यस घटनामा ७ जनलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई मुद्दा नचलाउने निर्णय गरेको छ भने अन्य ६ जना विरुद्ध मोरङ अदालतमा सोमबार मुद्दा दायर भएको छ ।

प्रतिवादीको बयान सकिएपछि बुधवार थुनछेक

नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना प्रतिवादीको बयान सकिएको छ । उनीहरूको बयान मोरङ अदालतको न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालसमा मङ्गलवार सकिएको हो ।

प्रतिवादीहरूको बयान सकिएपछि बुधवार थुनछेक बहस हुने मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । वादी र प्रतिवादीको पैरवी सकिएपछि अदालतले प्रतिवादीहरूको हकमा पुर्पक्षको लागि थुनामा पढाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोडिदिने मध्ये एक आदेश आउनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर सोमबार पक्राउ परेका ६ जना प्रतिवादीहरू विरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको थियो ।

सरकारी वकिलको कार्यालयले ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमनी राजबंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव, शिशुका बाबु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रतिवादी बनाएको छ । उनीहरूलाई तीन वटा मुद्दामा संयुक्त रूपमा १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर अभियोग दर्ता गरिएको छ ।

 


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ