२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अनुमति बेगर संचालनमा रहेको १५ शैय्याको बिग हस्पिटल सिल

अनुमति बेगर संचालनमा रहेको १५ शैय्याको बिग हस्पिटल सिल

दर्ता प्रक्रिया पूरा गरेपछि मात्र संचालन गर्न निर्देशन


विराटनगर—विराटनगर महानगरपालिकाबाट अनुमति नलिइकनै संचालनमा रहेको विराटनगरस्थित बिग हस्पिटल सिलबन्दी गरिएको छ । बिहीबार विराटनगर महानगरपालिकाले अनुगमन गरेर बिना दर्ता संचालनमा रहेको हस्पिटल सिलबन्दी गरेको हो ।

विराटनगरको हस्पिटल चोकमा एक वर्षदेखि १५ शैय्याको बिग हस्पिटल बिना दर्ता संचालनमा रहेको थियो । विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले संयुक्त रुपमा अनुगमन गरी दर्ता बेगर लामो समयदेखि संचालनमा रहेको पाइएपछि हस्पिटलको काउन्टर, ल्याब, आकस्मिक कक्ष, ओपीडी र प्रशासन शाखा सिलबन्दी गरेको छ ।

१५ शैय्यासम्मका अस्पतालल सञ्चालनको अनुमति स्थानीय तहबाट लिनुपर्ने कानुनी व्यवस्था भएपनि अस्पतालले अनुमति नलिइकनै संचालनमा रहेको थियो । स्थानीय तह स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका, २०७४ अनुसार १५ शैय्यासम्म स्थानीय सरकारले अनुमति दिने उल्लेख छ ।

तर, बिग हस्पिटलका संचालकहरुले अटेर गरी लामो समयदेखि दर्ता बेगर संचालन गरिरहेको पाएपछि हस्पिटल सिल गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । दर्ता प्रक्रिया र आवश्यक मापदण्ड पूरा गरेपछि मात्र हस्पिटल संचालन गर्न पाइने उनले बताए ।

अस्पतालमा भर्ना भएका १७ जना बिरामीलाई दर्ता भएको हस्पिटलमा २४ घण्टाभित्र रेफर गर्न पनि अनुमगन टोलीले निर्देशन दिएको छ । नयाँ आएका बिरामी भर्ना नलिन र दर्ता प्रक्रिया पूरा गरेपछि मात्र हस्पिटल संचालन गर्न निर्देशन दिएको उनले बताए ।

यसअघि हस्पिटलले अनुमति प्रक्रियाका लागि विराटनगर महानगरपालिकामा निवेदन दिएको थियो । निवेदन दिएपछि महानगर स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीसहितको प्राविधिक टिम गएर अनुगमन र निरीक्षण गर्दा अस्पतालका लागि आवश्यक मापदण्ड पूरा भएको थिएन । त्यसपछि महानगरपालिकाले १२ बुँदे मापदण्ड पूरा गरेर आउन निर्देशन दिएको थियो । गत वैशाख २६ गते महानगरले पत्रमार्फत पूरा गर्नुपर्ने मापदण्डका बारेमा निवेदकलाई जानकारी गराएको हो ।

महानगरपालिकाले अस्पतालमा अटो फायर अलार्मर स्मोक डिटेक्टरको व्यवस्था नभएको, शव वाहन नभएको र शव वाहनका लागि अन्य संस्थासँग आवद्धतासमेत नलिएको, भवन तथा पूर्वाधार सम्बन्धी व्यवस्था अनुरुप भवन निर्माण सिफारिस सम्बन्धी कागजात उपलब्ध नभएको पाइएकोले ती मापदण्ड पुरा गर्न भनिएको स्वास्थ्य महाशाखा प्रमुख अलीले बताए ।

यस्तै, जनशक्ति व्यवस्थापन मापदण्डअनुरुपको जनशक्ति नभएको, स्वमूल्याङ्कन प्रतिवेदन पेश नभएको, स्वघोषणा पत्र, जन स्वास्थ्य सेवा सम्बन्धी व्यवस्था (पोषण सेवा, खोप, सुरक्षित मातृत्व, बाल स्वास्थ्य, परिवार नियोजन) अनुरुप सेवा प्रवाहको कार्ययोजना नभएको, फोहरमैला व्यवस्थापन मापदण्ड बमोजिम नभएको, विपद् व्यवस्थापन योजना तयार नगरेको पाइएका कारण सञ्चालन अनुमति नदिएको उनले बताए ।

‘मापदण्ड पूरा नगरेपछि हामीले अनुमति नदिएका हौं । १२ बुँदे मापदण्ड पूरा गर्न पत्राचार गरेका थियौं । अहिलेसम्म हस्पिटलले उक्त मापदण्ड पूरा गरेर आएको छैन,’ उनले भने, ‘मापदण्ड पूरा नभएको पाइएपछि अहिले हस्पिटल शिलबन्दी गरिएको हो ।’

संचारकर्मीलाई दुर्व्यवहार गर्ने हस्पिटलका कर्मचारी पक्राउ

अनुमति बेगर संचालन गरिएको बिग हस्पिटल सिलबन्दी गरेको समाचार संकलन गर्न गएका संचारकर्मीमाथि हातपात गर्ने हस्पिटलका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले बिग हस्पिटलका रेडियोलोजी विभागमा कार्यरत कर्मचारी विराटनगर ९ का ३३ वर्षीय रोशन यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवले संचारकर्मीहरु हुसेन शेख, विरेन्द्रकुमार साह, नवीन कर्ण, सोनुकुमार दास र जितेन्द्र कुमार ठाकुरलाई दुर्व्यवहार गरेका थिए । उनीहरुको सञ्चार उपकरण खोसेर धाकधम्की पनि दिएको संचारकर्मी हुसेन शेखले बताए । पक्राउ परेका यादव विरुद्ध पीडित पत्रकारहरुले मोरङ प्रहरीमा पनि उजुरी दर्ता गराएका छन् ।

हस्पिटलका कर्मचारी यादवलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

यसैबीच संचारकर्मीहरु विरुद्ध दुर्व्यवहार गर्ने हस्पिटलका कर्मचारी विरुद्ध कडा कारवाहीको मात्र संचारकर्मी सम्वद्ध संघ संगठनहरुले राखेका छन् । नेपाल पत्रकार महासंघ मोरङसहित प्रेस संगठन, प्रेस युनियन मोरङले विज्ञाप्ती जारी गरी संचारकर्मीहरुलाई दुर्व्यवहार गर्ने हस्पिटलका कर्मचारी र संचालकहरुलाई कारवाहीको माग राखेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ