२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी

कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी

कोशीमा दिउँसै भिडियो एक्स—रे सेवा बन्द हुँदा बिरामी दोब्बर शुल्क तिर्न बाध्य


विराटनगर—विराटनगर–१२ बखरीका ३८ वर्षीय श्याम ऋषिदेवको सोमबार एक्कासी पिसाब रोकिएपछि कोशीको आकस्मिक कक्षमा लगिएको थियो । उपचारमा खटिएका थिए—मेडिकल अधिकृत डा. तुलसी गोइत । उनले बिरामीको सामान्य स्वास्थ्य जाँच गरेपछि भिडियो एक्स–रे गर्न अस्पतालकोदेखि ५० मिटर पश्चिममा रहेको कोशी मार्केटभित्रको न्यू साहारा डाइग्नोष्टिक केयर सेन्टरमा पठाइदिए ।

कोशीमा ७ स ५० रुपैयाँमा भिडियो एक्स–रे हुने गरेकोमा बाहिर भने १ हजार ५ सय रुपैयाँसम्म तिर्नुपर्छ । अस्पतालले दिएको समयसीमा १ बजेपछि र बिदाको दिन आएका बिरामीलाई भिडियो एक्स–रे गर्न अस्पतालका स्वास्थ्यकर्मीले बाहिर पठाउने गरेका छन् ।

श्याम पनि साँझपख आएकोले उनले कोशीमा भिडियो एक्स–रे गर्न पाएनन् । चिकित्सक गोइतले भिडियो एक्स–रे गर्ने डाइग्नोष्टिक केयर सेन्टरको नाम नै पूर्जीमा तोकेपछि उनी त्यहाँ गए र १ हजार ४ सय रुपैयाँ खर्चेर भिडियो एक्स–रे गरे ।

न्यू साहारा डाइग्नोष्टिक केयरमा पठाउन लेखेको स्लीप

श्यामले भिडियो एक्स–रे गरेको साहारा डाइग्नोष्टिक केयर सेन्टर कोशी अस्पतालमा कार्यरत डा. तुलसी गोइतसहित तीन जना मिलेर करिब चार महिना अगाडि खोलेका हुन् । आकस्मिक कक्षको ड्युटीमा खटिने गोइतसहित अर्का मेडिकल अधिकृत डा. राजा भगत र अहेब प्रवीण यादवले साहारा डाइग्नोष्टिक केयर सेन्टर सञ्चालमा ल्याएका हुन् ।

उनीहरु तीनै जना कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत छन् । आफ्नो ड्युटीको समयमा उनीहरुले आकस्मिक कक्षमा आउने बिरामीलाई भिडियो एक्स–रे गर्न आफ्नै डाइग्नोष्टिक सेन्टरमा पठाउने गरेका छन् ।

कोशी अस्पताल प्रशासनले २४ सै घण्टा भिडियो एक्स–रे सेवा सञ्चालन गर्न नसक्दा अस्पतालकै कर्मचारी र हस्पिटल चोक अगाडि च्याउसरी खुलेका निजी डाइनोष्टिक सेन्टरमा गएर विपन्न बिरामीले चर्को शुल्क तिरेर उपचार गर्नुपर्ने बाध्यता छ । ‘आकस्मिक कक्षमा उपचारमा खटिएका चिकित्सकले भिडियो एक्स–रे गर्ने डाइनोष्टिक सेन्टरको नाम लेखेर दिएपछि भिडियो एक्स–रे गर्न गएँ,’ ऋषिदेवले भने, ‘भिडयो एक्स–रेको रिपोर्ट आएपछि डाक्टरले उपचार सुरू गरे ।’ अण्डकोष सुन्निएका कारण पिसाब रोकिएकाले उपचारपछि उनी डिस्चार्ज भए ।

ओपीडीमा दैनिक १ हजारदेखि १ हजार ५ सय जना बिरामी आउने कोशी अस्पतालले जनशक्ति अभाव देखाउँदै १० देखि १ बजेसम्म मात्र भिडियो एक्स–रे सेवा सञ्चालन गर्ने गर्छ । अस्पतालले तोकेको समयभन्दा पछि आउने बिरामी निजीमा गएर भिडिक्यो एक्स–रे गर्नुको विकल्प छैन ।

कोशी अस्पतालका मेसु डा.चन्द्रभाल झा जनशक्ति अभावले २४ सै घण्टा भिडियो एक्स–रे सेवा सुचारु गर्न नसकेको बताउँछन् । ‘एक जना करार र एक जना छात्रवृत्तिका चिकित्सकले अहिले दैनिक १ सयदेखि १ सय ५० वटासम्म भिडियो एक्स–रे गर्दै आएका छन्,’ उनले भने, ‘थप रेडियोलोजिष्ट डाक्टर राखेर २४ सै घण्टा भिडियो एक्स–रे सेवा सञ्चालन गर्ने तयारी भने गरिरहेका छौं ।’

ड्युटी समयमा खटिएका अस्पताललका चिकित्सकले डाइनोष्टिक सेन्टरको नाम नै राखेर भिडियो एक्स–रे गर्न पठाएको विषयमा मेसु झाले त्यसो गर्न नमिल्ने बताए । ‘उपचारमा खटिएका डाक्टरले त्यसरी बिरामी डाइनोष्टिक सेन्टरको नाम लेखेर पठाएको पाएमा कारवाही गर्नेछौं,’ उनले भने ।

अस्पतालका आकस्मिक विभागको इन्चार्ज कामेश्वर परिहस्तले हस्पिटलका चिकित्सकले डाइनोष्टिक सेन्टरको नाम उल्लेख गरेर भिडियो एक्स–रे गर्न पठाए कारवाही गरिने बताए । ‘हामीले सरकारी र बिमा भएको हस्पिटलमा पहिलो प्राथामिकता राखेर रिफर गर्ने हो,’ उनले भने, ‘त्यसरी निजी क्लिनिक वा हस्पिटलको नाम उल्लेख गरेर पठाउनु गलत हो । त्यसरी पठाएको पाइए कारवारी गरिनेछ ।’

न्यू साहारा डाइग्नोष्टिक केयर सेन्टरमा दैनिक २० देखि २५ वटासम्म कोशीमा आएका बिरामी सेवा लिन पुग्ने गरेका छन् । डा. गोइत छात्रवृत्ति करारको चिकित्सक हुन् भने डा. भगत करारका चिकित्सक हुन् । गोइतले न्यू साहारा डाइग्नोष्टिक केयर सेन्टरमा लगानी नगरेको दाबी गर्दै कुनै पनि बिरामीलाई निजी डाइग्नोष्टिक सेन्टरमा भिडियो एक्स–रे गर्न नलेखेको जिकिर गरे ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ