२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालको भवन निर्माणमा ढिलासुस्ती,  सम्झौता सकिँदा २५ प्रतिशत मात्रै काम

कोशी अस्पतालको भवन निर्माणमा ढिलासुस्ती,  सम्झौता सकिँदा २५ प्रतिशत मात्रै काम

पहिलो पटक म्याद थपको तयारी


विराटनगर—पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी हस्पिटल विराटनगरस्थित कोशी अस्पतालमा निमार्णाधीन भवनको साढे दुई वर्षमा २५ प्रतिशत मात्र काम पूरा भएको छ । साढे दुई वर्षको सम्झौता अवधि सकिन तीन हप्ता बाँकी रहँदा २५ प्रतिशत मात्र निर्माण कार्य पूरा भएको हो ।

कोशीको भवन निर्माणको सम्झौता अवधि यही पुस २२ गते सकिदैंछ । सम्झौता अवधि सकिनुअघि पहिलो पटक म्याद थप गर्ने तयारी गरिएको छ । कोशी अस्पतालको नयाँ भवन निर्माणको लागि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँमा टेण्डर खुलाएको थियो ।

रमन भूमी, बि.आई.पि.एल. जेभीले ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो । उक्त जेभीले ठेक्का पाएपछि वि.सं. २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाईसँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर शिलान्यास गरिएको थियो ।

कोशीभित्र बन्दै आएको अत्याधुनिक सुविधा सम्पन्न पाँच तले भवन निर्माणको काममा भएको ठेकेदार भित्रको आन्तरिक विवाद र ढिलासुस्तीको कारण निर्माणमा ढिलो भएको छ । सुरूमा कृष्ण बोहरा संचालक रहेको भूमी कन्ट्रक्सनले निमार्णको काम सुरु गरेको थियो ।
निर्माण सुरु गरेको केही दिनपछि भूमीले करिब पाँच महिना निर्माणको काम रोकेर ठेकेदार बोहरा सम्पर्कबिहीन भए । अहिले पवनकुमार महतो संचालक रहेको भूमी कन्ट्रक्सनका पार्टनर रमणले निर्माणको काम सुरु गरेको छ ।

लामो समयसम्म निर्माणको काम रोकिएको र निर्माण सम्पन्न नभएपछि पहिलो पटक म्याद थप गरिने तयारी गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख सुरेन्द्रकुमार साहले बताए । ‘निर्माण कम्पनीले म्याद थपको लागि समयसीमा माग गर्ने तयारी गर्दैछ,’ उनले भने, ‘म्याद सकिने अगाडि पहिलो पटक म्याद थप गरिनेछ ।’

ठेकेदार कम्पनीले घाटा हुने भन्दै काममा ढिलासुस्ती गरेको बुझिएको छ । टेन्डर आव्हान गरेको भन्दा १७ करोड रुपैयाँ कम लागतमा ठेक्का पारेको सो जेवीले घाटा लाग्ने भन्दै काम गर्न ढिलासुस्ती गरेको निर्माण व्यवसायीहरुले बताउँछन् ।

निर्माण कम्पनीले हालसम्म ८ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी लिइसकेको छ । निर्माण गरेअनुसारको भुक्तानी लिएको हो । यसरी निर्माणको चरणमा रहँदैं गर्दाबीच नै ठेकेदारले काम रोक्दा सम्झौता अवधिमा निर्माण पूरा हुन नसक्ने प्राविधिकहरुले बताएका छन् ।

कस्तो बन्नेछ नयाँ भवन ?

चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुइँ तलामा पार्किङ हुने स्टैमेटमा उल्लेख गरिएको छ । दोस्रो तलामा एचडियूसहितको डाइलाइसिसलगायतका सेवाहरू हुनेछ ।

यस्तै, तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शैय्याको हुनेछ । यसैगरी, चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शैय्याको हुनेछ ।

पहिलो चरणमा पाँच तलाको भवन बन्नेछ । त्यसपछि योजनाअनुसार तला थप हुँदै जानेछ । मास्टर प्लानअनुसार ७ तलाको बनाइने भवनको लागत स्टीमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैटौ तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधासम्पन्न भवन बनेपछि पाँच सय शैय्या पु¥याउने तयारी गरिएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ