२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १उद्योगी राउतले २ सय ५० करोड लगानीमा आर.आर. इन्टरनेशनल हस्पिटल खोल्दैं

उद्योगी राउतले २ सय ५० करोड लगानीमा आर.आर. इन्टरनेशनल हस्पिटल खोल्दैं

२ सय शैय्याको अस्पताललाई मल्टीस्पेसियालिटी अस्पतालका रुपमा विकास गरिने


विराटनगगर—विराटनगरका उद्योगी राजेन्द्र राउतले दुई अर्ब ५० करोड रुपैयाँ लगानीमा हस्पिटल खोल्ने भएका छन् । बुधबार उनले एक समारोहकाबीच मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा आर.आर. इन्टरनेशनल हस्पिटलको शिलान्यास गरेका हुन् ।

उद्योग वाणिज्य र निर्माण क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको शिवम् अर्गनाइजेशनका अध्यक्ष हुन्—राउत । सोही अर्गनाइजेसनले अस्पताल निर्माण गर्न लागेको हो ।

‘स्वास्थ्य सेवाको क्षेत्रमा पनि केही योगदान दिन सकिन्छ भनी विशुद्ध मानवीय भावनाले पे्ररित भई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरुमा दुई सय शैय्या क्षमताको अस्पताल निर्माण गर्न लागिएको छ,’ राउतका जेठा छोरा तथा अस्पतालका निर्देशक प्रतिक राउतले भने, ‘हाल यसलाई १ सय शैंय्याको मल्टीस्पेसियालिटी हस्पिटल संचालन गर्ने र क्रमसः तीन सय शैय्यासम्म विस्तार गर्ने लक्ष्य लिइएको छ ।’

आरआर इन्टरनेसनल अस्पतालको नाममा सुरु हुन लागेको हस्पिटलले जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनुपर्ने बाध्यतालाई कम गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । १८ कठ्ठा जग्गामा निर्माण हुन लागेको अस्पतताललाई सेन्टर अफ एक्सीलेन्सका रुपमा विकास गरी सुपरस्पेसियालिटी स्वास्थ्य सेवा दिने केन्द्र बनाउने राउतले बताए ।

अस्पतालले मुटु रोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक सेवा, क्याथ ल्याबजस्ता सेवा सुविधा उपलब्ध गराउनेछ । ‘अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मिर्गौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नसाको विशिष्टीकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ,’ राउतले भने, ‘सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिनेछ । स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्वपूर्ण पाटो भएकाले डाइग्नोस्टिक डिपार्टमेन्टलाई अन्तर्राष्ट्रियस्तरको बनाइनेछ ।’

अलग किसिमको पारिवारिक पृष्ठभूमी र उद्योग व्यवसायको विरासत बिना नै यस क्षेत्रमा प्रवेश गरेका राउतले यसअघि गार्मेन्ट, निर्यात उद्योगबाट आफ्नो पहिचान बनाएका हुन् । हाल चुनढुंगा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका व्यावसायी राउतका जुत्ता चप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ, तथा ट्रेडिङ कारोबार संलग्न छन् भने काठमाडौंमा अत्याधुनिक पाँचतारे होटल केही महिनाभित्रै सञ्चालनमा ल्याउँदैंछन् ।

राउतले विराटनगरमा हाउजिङ कम्पनी, पाँचतारे होटल र स्वास्थ्य सेवासँगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेडिकल, पारामेडिकल, नर्सिङ कलेज समेत स्थापना गर्दै लैजाने योजना बनाएका छन् । राउतले उद्योग संचालनका लागि व्यवस्थापन नै महत्वपूर्ण कुरा भएको बताए ।

‘पूर्वाञ्चल क्षेत्रमा म पाँच पटक गोल्ड मेडलिष्ट भएको हुँ, गार्मेन्ट निर्यातमा । त्यसबेला मैले अन्तर्राष्ट्रिय ब्राण्डहरुसँग मिलेर काम गरेको थिएँ,’ उनले भने, ‘त्यसपछि मैले मारुती सिमेन्ट स्थापित भयो । द्वन्द्वकालमा मैले सिन्धुलीबाट खानी उद्योगको काम सुरु गरेको हुँ । नेपालमै क्लिङ्कर बनाउन सकिन्छ भन्ने कुरा मैले नै सुरु गरेको हुँ । त्यसपछि मैले अटोमोबाइल्स, हेभी इक्वीपमेन्टको रेन्टर सर्भिस गर्न सकिन्छ भनेर मैले सुरु गरें । त्यसको पार्टस्देखि सर्भिस सेन्टरहरु अहिले पनि छन् । मैले हरेक काम गर्दा देखेको कुरा भनेकै व्यवस्थापनको पार्ट मुख्य कुरा हो ।

उनले अहिले आफू स्वास्थ्य क्षेत्र र होटल क्षेत्रमा लागेको बताए । उत्पादन क्षेत्रमा आयातमुखी भएको कारण थेग्न नसक्ने अवस्था सिर्जना भएको कारण नै उद्योगपतिहरु साइड लाग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । ‘सरकारले ल्याएको नीतिले आयातलाई निरुत्साहित गर्न नसकेको कारण उत्पादनमूलक उद्योगहरु धरासायी भएका छन्,’ उनले थपे ।

राउतले स्थापना गरेको हस्पिटल विराटनगर–इटहरी राजमार्गसँगै जोडिएको छ । उक्त हाइवे लाइनमा आधा दर्जन अस्पताल तथा मेडिकल कलेजहरु छन् । ती अस्पताल र मेडिकल कलेजसँग गुणस्तरमा प्रतिस्पर्धा गर्ने राउतले बताए । ‘हामी जुन लाइनमा अस्पताल निर्माण गर्दैछौं । यो लाइनमा मात्रै पाँच वटा अस्पतालहरु छन् । उहाँहरुसँग हाम्रो अस्वस्थ प्रतिस्पर्धाभन्दा पनि प्रतिस्पर्धाले गुणस्तर ल्याउने काम हुनेछ । हामी गुणस्तर ल्याउँछौं । त्यसपछि बिरामीले राम्रो उपचार पाउन सक्छन्,’ राउतले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार
ट्याग : #आर.आर. इन्टरनेशनल हस्पिटल, #प्रतिक राउत, #राजेन्द्र राउत


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ