२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा तीन वटा रोग नियन्त्रणमा प्रमुख चुनौती

कोशीमा तीन वटा रोग नियन्त्रणमा प्रमुख चुनौती

हात्तीपाइले र कालाजारका बिरामी घट्दै, कुष्ठरोगका बिरामीको ग्राफ बढ्दै


विराटनगर—वेवास्ता गरिएका र गर्मी हुने ठाउँमा देखिने उपेक्षित उष्ण प्रदेशीयमा पर्ने दश रोगमध्ये कोशी प्रदेशमा तीन वटा रोगको रोकथाम र नियन्त्रण चुनौतीपूर्ण देखिएको छ । कोशी प्रदेशमा कुष्ठरोग, हात्तीपाइले र कालाजार रोगको रोकथाम र नियन्त्रण चुनौतीपूर्ण देखिएको स्वास्थ्यका विज्ञहरुले बताएका हुन् ।

यी चार किसिमका रोगहरु सन् २०२० सम्ममा निवारण गर्ने भनिएपनि अझै जनस्वास्थ्य समस्याका रुपमा रहेका छन् । सरकारले सन् २०२० सम्म उपेक्षित उष्णप्रदेशीय रोगहरुलाई निवारण गर्ने प्रतिवद्धता गरेपनि हालसम्म पूरा हुन नसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का कोशी प्रदेशका संयोजक रन्दिप कुमारले बताए ।

तीन वटा रोग निवारण हुन नसकेपछि कालाजार सन् २०२६, कुष्ठरोग र हात्तीपाइले रोग सन् २०३० सम्म निवारण गर्ने सरकारको लक्ष्य रहेको छ । कोशी प्रदेशमा कुष्ठ रोगका बिरामीको संख्या प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ३ सय ४५ जना कुष्ठ रोगका बिरामी भेटिएका थिए । आर्थिक वर्ष २०७९/०८० मा ४ सय ७१ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएको स्वास्थ्य निर्देशानलय कोशी प्रदेशकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीले जानकारी दिइन् ।

त्यसैगरी, आर्थिक वर्ष २०७९/०८० मा कोशी प्रदेशको दुई जिल्लामा मात्र कालाजारमा २१ जना बिरामी भेटिएका छन् । ओखलढुङगा र मोरङमा कालाजारका बिरामी देखिएको उनले बताइन् । ओखलढुङ्गाको एउटै पालिकामा मात्र ठूलो संख्यामा कालाजारका बिरामी देखा परेका छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाभित्र मात्रै ८ जना कालाजारका बिरामी देखा परेका छन् । ओखलढुंगापछि मोरङको जहदा, केरावारी र विराटनगरमा कालाजारका बिरामी रहेका छन् । मोरङमा जम्मा चार जना कालाजारका बिरामी रहेका छन् । विराटनगरमा दुई जना, केरावारी र जहदामा १–१ जना बिरामी रहेका छन् ।

हात्तीपाइले रोग कोशी प्रदेशको दुई जिल्लामा मात्र रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा २८ जना हात्तीपाइलेका नयाँ बिरामी भेटिएका छन् । सुनसरी र मोरङमा मात्र हात्तीपाइलेका बिरामी भेटिएको हुन् । हात्तीपाइले मोरङ र सुनसरीमा १२ औं चरणको अभियान सुरू भएको छ । ‘अहिले पनि दुई जिल्लामा रोकथाम र नियन्त्रण चुनौतीपूर्ण देखिएको छ,’ डब्लूएचओ कोशी प्रदेशका संयोजक रन्दिप कुमारले भने, ‘२–२ वर्षमा परीक्षण हुने गर्दछ । फेरि देखा परे यी जिल्लामा फेरी अभियान सुरु हुन्छ ।’

सरकारले उष्णप्रदेशीय रोगलाई नसर्ने रोगलाई जस्तै प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । उपेक्षित भनिएका यी रोगहरु निवारणका लागि सरकारले सञ्चालन गरेका कार्यक्रमहरु पर्याप्त नभएको उनले बताए । सरकारले यही अस्पतालको स्तरवृद्धि र विकास गर्न नसकेको उनको भनाइ छ । वर्षेनी नयाँ—नयाँ सर्ने रोगहरु देखिएपनि सरकारले पर्याप्त मात्रामा ध्यान दिन नसकेको उनको बुझाइ छ ।

स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका प्रमुख ज्ञानबहादुर बस्नेतले सरकारले रोगहरुलाई प्राथमिकताका साथ विभिन्न कार्यक्रम गरी निवारण गर्न लागि परेको बताए । प्रत्येक रोगहरु नियन्त्रणको लक्ष्य राखेर सोही अनुसार रणनीतिक कार्ययोजना बनाएर काम भइरहेको उनले बताए ।कालाजार, डेंगी, रेबिजलगायतका रोग निवारणका लागि सरकारले बजेटको व्यवस्था गरेको, औषधि खरिद गरेको, निःशुल्क औषधि वितरणदेखि परीक्षण हुने भएकाले यी रोगहरुलाई नेपालको सन्दर्भमा उपेक्षित भन्न नमल्निे उनको भनाइ थियो ।

विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस कार्यक्रममा आइतबार बोल्दै सहभागीहरुले स्वास्थ्यलाई प्रमुख एजेन्डा बनाएर अगाडि लैजानुपर्नेमा जोड दिएका थिए । उनीहरुले प्रदेश र स्थानीय सरकारले उपेक्षित रोगहरुमा अन्तयन्त न्यून कार्यक्रम तथा बजेट विनियोजन गरेको कारणले पनि रोकथाम र नियन्त्रणमा समस्या हुने गरेको बताए । उपेक्षित रोगहरुमा पर्याप्त बजेट विनियोजन गरेर सरकारले लक्ष्य निर्धारण गरेको रोग निवारणमा लागि पर्नुपर्नेमा उनीको जोड थियो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ