२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्थायी पदपूर्तिमा कोशी सरकार उदासीन, निमित्तका भरमा तीन दर्जन स्वास्थ्य संस्था

स्थायी पदपूर्तिमा कोशी सरकार उदासीन, निमित्तका भरमा तीन दर्जन स्वास्थ्य संस्था

स्वास्थ्य मन्त्रालय मातहतको कार्यालयमा ४ सय ८६ कर्मचारी अभाव


विराटनगर—कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतका ४६ वटा कार्यालयहरुमध्ये आधाभन्दा बढी स्वास्थ्य कार्यालयहरु निमित्तको भरमा चलिरहेको पाइएको छ । दरबन्दीअनुसारको पदपूर्ति गर्न प्रदेश सरकारले उदासीनता देखाएका कारण स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र चरम जनशक्ति अभाव झेलिरहेका छ ।

तीन दर्जन स्वास्थ्य संस्था भने निमित्तको भरमा संचालनमा छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गत ९ सय ४७ दरबन्दी रहेको छ । तीमध्ये ४ सय ८६ दरबन्दी पद रिक्त रहेको छ । ४ सय ६१ जनाको पदपूर्ति भएको स्वास्थ्य मन्त्रालयको अभिलेखमा देखिन्छ ।

११ तहको दरबन्दी १३ जना भएपनि २ जनाको मात्र पदपूर्ति भएको छ । ११ औं तहको ११ जनाको दरबन्दी रिक्त छ । ११ औं तहको कार्यालय स्वास्थ्य मन्त्रालय मातहतको आधा दर्जन छ । दुई वटा कार्यालयबाहेक स्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा, मेची अस्पताल निमित्तको भरमा चलेको छ । स्वास्थ्य तालिम केन्द्रको निमित्त निर्देशक रोहितकुमार पाण्डे, स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ज्ञानबहादुर बस्नेत छन् । उनीहरु १० औं तहका कर्मचारी हुन् । दरबन्दीअनुसार ११ औं तहको कर्मचारी पदपूर्ति हुन नसक्दा उनीहरुले वर्षौदेखि निमित्त भएर काम कारवाही सम्हाल्दैं आएका छन् ।

यस्तै, मेची अस्पतालमा ४ जनाको ११ औं तहको दरबन्दी भएपनि अहिलेसम्म एक जनाको पनि पदपूर्ति हुन सकेको छैन । मेची प्रादेशिक अस्पताल कोशी प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो सरकारी हस्पिटल हो । ठूलो अस्पतालमा जनशक्तिको अभावकै कारण गुणस्तरीय सेवा पाउनबाट पूर्वका हजारौं सर्वसाधारण जनता बञ्चित भएका छन् ।

२ सय शैय्य्याको मेची अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक तथा अन्य कर्मचारीको व्यवस्थापन प्रदेश सरकारले गर्न नसक्दा लाखौं जनता त्यसको प्रत्यक्ष मारमा परेका छन् । उक्त अस्पतालमा मुटु रोगका बिरामी, मिर्गौला रोगका बिरामी तथा मानसिक रोगका बिरामीहरूको उपचार सम्भव छैन । दरबन्दी भएपनि चिकित्सकको व्यवस्थापन हुन नसकेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामबाबु खड्काले जानकारी दिए । ‘भौतिक संरचनासहित जनशक्ति भएनन् भने गुणस्तरीय सेवा कहाँ दिन सकिन्छ र ?,’ उनले प्रश्न गरे, ‘तर, प्रदेश सरकारले जनशक्ति व्यवस्थापनका लागि चासो देखाएको छ । सायद केही समयमा व्यवस्थापन होला ।’

अन्य विशेषज्ञ सेवाहरूका लागि पनि छात्रवृत्तिमा आउने चिकित्सकलाई करार नियुक्ति गरेर अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था रहेको मेसु खड्काले बताए । विशेषज्ञ चिकित्सहरूको अभाव एकातिर छ भने अर्कोतिर स्टाफ नर्स, हेल्थ असिस्टेन्टजस्ता कर्मचारी नपाएर मेची अस्पतालले हैरानी खेपिरहेको छ ।

मेडिकल सुपरिन्टेन्डेन्ट डा. खड्काका अनुसार प्रदेश सरकारलाई बारम्बार जनशक्ति अभावका विषय जानकारी गराइएको छ । ‘प्रदेशभर नै कति जनशक्ति अभाव छ भनेर तथ्यांक संकलन गर्ने काम भइरहेको छ । छिट्टै व्यवस्थापन होला भनेर आशा गरेका छौँ,’ उनले भने । मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन भएपछि सेवाग्राहीको चाप अझ बढ्दैं गएको छ । अस्पतालमा दैनिक औसतमा ८ सय जनाले बहिरंग सेवा लिने गरेका छन् ।

त्यसैगरी, स्वास्थ्य मन्त्रालय मातहतका ९ औं र १० औं तहको दरबन्दी ७६ जनाको रहेको छ । ९ औं र १० औं तहमा विशेषज्ञ चिकित्सक पर्दछन् । तर, अहिले १४ जना मात्रै रहेका छन् । अझै ६२ जना रिक्त रहेको छ । पदपूर्ति भएका पनि संघअन्तर्गतका विशेषज्ञ चिकित्सक हुन् । ८ औं तहको ५८ जनाको दरबन्दीमा ४१ जना कार्यरत रहेका छन् । ८ औं तहमा अझै १७ जनाको दरबन्दीमा पदपूर्ति हुन बाँकी छ ।

प्रदेशका पहाडी ८ वटा जिल्ला अस्पतालहरुमा ९ औं र १० औं तहका कार्यालय प्रमुखको दरबन्दी हो । तर, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ र ओखलढुमा ८ औं तहको मेडिकल अधिकृतले निमित्तका रुपमा अस्पताल चलाइरहेका छन् । प्रदेशका १४ वटा अस्पतालहरु, १४ वटा स्वास्थ्य कार्यालयहरु, १४ वटा आयुर्वेद औषधालय/स्वास्थ्य केन्द्रमध्ये अधिकांश स्वास्थ्य कार्यालयहरु निमित्तको भरमा छन् ।

स्वास्थ्य निर्देशानलय धनकुटाका निमित्त प्रमुख ज्ञानबहादुर बस्नेतले दरबन्दीअनुसार जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए । ‘निर्देशनालयमा अहिले ३२ जनाको दरबन्दी हो । अहिले १६ जना कर्मचारी रहेका छन् । अझै १६ जना पदपूर्ति हुन बाँकी छ,’ लोकसेवा नखुल्दा पनि कर्मचारी पदपूर्तिमा समस्या भएको उल्लेख गर्दै उनले थपे, ‘कोशी बाहेकको ६ प्रदेशमा लोकसेवा आयोगले धमाधम लोकसेवा खुलाएर रिक्त रहेको दरबन्दीमा पदपूर्ति गर्दै आएको छ । यहाँ अहिलेसम्म हुन सकेको छैन ।’ बस्नेतले त्यसैले पनि स्वास्थ्य कार्यालयहरुमा सेवा प्रवाहमा समस्या भएको बताए ।

जनशक्ति अभावले दोहोरो जिम्मेवारी

स्वास्थ्य मन्त्रालय मातहतको कार्यालयमा दरबन्दीअनुसारको पदपूर्ति हुन नसकेपछि १० औं तहका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएको छ । स्वास्थ्य मन्त्रालयले डा. सुरेश मेहता र सागर प्रसाईलाई दोहोरो जिम्मेवारी दिएको हो ।

मेहता स्वास्थ्य कार्यालय मोरङका प्रमुख हुन् भने प्रसाई स्वास्थ्य कार्यालय सुनसरीको प्रमुख हुन् । उनीहरुलाई मन्त्रालयले थप जिम्मेवारी दिएको छ । मेहतालाई मन्त्रालयको नीति, योजना तथा जनस्वास्थ्य महाशाखा हेर्ने जिम्मेवारी दिइएको छ भने प्रसाईलाई अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा हेर्ने जिम्मेवारी दिइएको छ ।

केही समयअघि अस्पताल विकास डा. मेहतालाई जिम्मेवारी दिइएको थियो । दुई हप्ता अघिमात्रै उनीहरुको जिम्मेवारी मन्त्रालयले हेरफेर गरेको हो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ