२०८१ मंसीर २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा


विराटनगर-पदाधिकारीको स्वार्थ र राजनैतिक खिचातानीको शिकार बनेको मोरङको सुन्दरहरैचा नगरपालिका-७ गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् ।

विश्वविद्यालयको शिक्षण अस्पतालमा थप दरबन्दी कायम गर्न नसक्दा १८ जना चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा काम गर्न बाध्य भएका हुन् ।

दैनिक ज्यालादारीमा काम गर्ने १० जना विशेषज्ञ र ८ जना मेडिकल अधिकृत रहेका छन् । जसमा विशेषज्ञ चिकित्सकहरुमा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. बालकृष्ण साह, डा. दुर्गा खतिवडा, सर्जन डा. सुनित अग्रवाल, बालरोग विशेषज्ञ डा. प्रदिपकुमार, छालारोग विशेषज्ञ डा. निरज खड्का, नाक कान घाटी रोग विशेष डा. प्रदिप गजुरेल, रेडियोलोजिष्ट डा. तजेन्द्र कार्की, हाडजोर्नी विशेषज्ञ डा. उपेन्द्र कुमार साह र फिजिसियन डा.चन्दन कुमार विश्वास दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् ।

त्यसैगरी, मेडिकल अधिकृतहरूमा डा. अमितकुमार यादव, डा. बसन्त यादव, डा. कृष्ण माझी, डा. हुकुम सिंह, डा. शिशिर यादव, डा. अनिश अधिकारी, डा. नकुल राई र डेन्टल सर्जन डा. विनिता यादव दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् । उनीहरु वर्षौदेखि दैनिक ज्यालादरीमा काम गर्न बाध्य छन् ।

ज्यालादरीमा काम गर्दा उनीहरुले सरकारले दिने सेवा सुविधाबाट बन्चित हुनुपरेको छ । ‘चिकित्सकलाई एउटा कार्यालय सहयोगी जस्तो गरी दैनिक काम गरे बापत रकम दिने गरी ज्यालादारीमा लगाएका छन् । यो चिकित्सकहरुको मानमर्दन भयो । त्यसैले हामी आवद्ध रहेको संस्था नेपाल चिकित्सक संघमार्फत शिक्षण अस्पतालमा दरबन्दी कायम गरि नियुक्ति गर्न माग गरिएको छ,’ एक जना कार्यरत चिकित्सकले गुनासो गर्दै भने, ‘दैनिक काममा आइन्छ । काम गरेबापत ज्यालादरी पाइन्छ । त्यसबाहेक अन्य कुनै सेवा सुविधा छैन । हामी माथि धेरै अन्याय भएको छ ।’

३०० शैय्याको विस्तार हुँदै गएको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा २५० देखि ३ सयसम्म दैनिक ओपीडिमा विरामीहरु आउने गरेको अभिलेखमा देखिन्छ । शिक्षण अस्पतालबाट दिशा, पिसाब, रगत, थाइराइड, मधुमेहलगायत परीक्षण गर्ने व्यवस्थित प्रयोगशाला (ल्याब) र एक्स–रे, भिडियो एक्स–रे, फिजियो थेरापी एवं इसिजी सेवासमेत उपलब्ध रहेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणी पोखरेलले शिक्षण अस्पतालमा अहिलेसम्म विशेषज्ञ दुई वटा मात्रै दरबन्दी रहेको छ । एक जना फिजिसियन र हाडजोर्नीका विशेषज्ञ दरबन्दी छ । फजिसियन डा. शशी शर्मा अस्पताल निर्देशक रहेका छन् । अहिले दरबन्दी थप गर्ने तयारी गरिएको विश्वविद्यालयका रजिष्ट्रार पोखरेलले बताए । ‘१८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी आव्हान गरि करारमा राख्को लागि विज्ञापन आव्हान भएको छ,’ उनले भने, ‘त्यसपछि विस्तारै मेडिकल अधिकृत र नर्सहरुको पनि विज्ञापन आव्हान गर्ने हाम्रो तयारी रहेको छ ।’ विगत वर्षहरुदेखि चिकित्सकहरुको दरबन्दी नभएको कारणले दैनिक ज्यालादरीमा राख्नुपर्ने बाध्यता भएको उनले बताए ।

दैनिक ज्यालादरीमा विशेषज्ञ चिकित्सकले दैनिक ३ हजार पाँच सय र मेडिकल अधिकृतले दैनिक २ हजार पाँच सय रुपैयाँ रहेको छ ।

चिकित्सकलाई स्थायी राख्न एनएमएको माग

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुलाई दरबन्दी सिर्जना गरेर स्थायी राख्न माग गर्दै उपकुलपति प्रा.डा. विजुकुमार थपलियालाई ध्यानकर्षणपत्र बुझाउदै एनएमएका पदाधिकारीहरु ।

नेपाल चिकित्सक संघ (एनएमए) कोशीले पुर्वाञ्चल विश्वविद्यालय परिसरमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुलाई दरबन्दी सृजना गरेर स्थायी राख्न माग गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियालाई मंगलबार एनएमएका पदाधिकारीहरुले भेटेर यस्तो माग राखेका हुन् ।

शिक्षण अस्पतालमा लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत चिकित्सकहरुले सेवा दिइरहेको र यसले गर्दा रोजगार सुरक्षित नभएको तथा अन्य सुविधा तथा अवसरहरुबाट बञ्चित हुनुपरेकाले मारमा परेको संघले जनाएको छ ।

‘अस्पतालमा चिकित्सकहरुले नियमित सेवा दिइरहेको र अस्पतालले दिईने सेवा भनेको चिकित्सिय सेवा नै हो । त्यसैले अस्पतालमा नियमित चिकित्सक चाहिन्छ । यो हुँदाहुँदै पनि चिकित्सकहरुलाई स्थायी रुपमा दरबन्दी कायम गरि पदपूर्ति गर्नुपर्ने मागसहित छलफलका लागि चिकित्सक संघले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिसँग छलफल गरेको हो,’ संघका अध्यक्ष डा. राजेन्द्र चौधरीले भने, ‘छलफलको क्रममा मेडिकल खोज, अनुसन्धानहरुमा पनि पूर्वाञ्चल विश्वविद्यालय संघसंग मिलेर काम गर्ने प्रतिबद्धता समेत उपकुलपति डा. थपलियाले राख्नुभएको छ ।’

छलफलमा संघको तर्फबाट कोशी प्रदेश संयोजक डा. विपेश आचार्य, कोशी शाखाका अध्यक्ष डा. राजेन्द्र चौधरी, महासचिव डा. बालकृष्ण साह, सह कोषाध्यक्ष डा. तेजेन्द्र कार्की, सदस्यहरु अमर यादव र राजाबाबु मण्डल रहेका थिए । पूर्वाञ्चल विश्व विद्यालयको तर्फबाट उपकुलपति प्रा. डा विजु कुमार थपलिया, रजिस्ट्रार निलमणी पोखरेल र अस्पताल निर्देशक डा शशी शर्मा रहेका थिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ