विराटनगर—अपाङ्गता भएका व्यक्तिहरूका लागि सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । मंगलबार नेत्रहीन युवा संघ नेपाल मोरङ शाखाले विराटनगरमा आयोजना गरेको ‘अपाङ्गता समावेशी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार’ सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् ।
कार्यक्रमका वक्ताहरूले अपाङ्गता भएका व्यक्तिको विशेष आवश्यकतालाई सम्बोधन गर्ने गरी प्रदेशस्तरीय सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य नीति निर्माण गर्नुपर्ने औंल्याए । नेत्रहीन युवा संघ नेपालका प्रमुख सल्लाहकार कलाधर भण्डारीले सरकारको वार्षिक बजेट तथा कार्यक्रममा अपाङ्गतामैत्री प्रजनन स्वास्थ्यका क्रियाकलाप अनिवार्य रूपमा समावेश गरिनुपर्ने बताए ।
‘चिकित्सक शिक्षा र सरकारी तालिमका पाठ्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सेवा प्रदान गर्ने भन्ने विषय र सीप समावेस गर्न आवश्यक छ,’ भण्डारीले भने, ‘स्वास्थ्य संस्थाहरू भौतिक रूपमा मात्र नभई सेवा प्रवाहका हिसाबले पनि अपाङ्गतामैत्री हुनुपर्छ ।’ उनले स्वास्थ्यकर्मीहरूमा अपाङ्गता भएका व्यक्तिप्रति गरिने व्यवहार र सेवा दिने शैलीमा सुधार ल्याउन विशेष तालिमको खाँचो रहेको बताए ।
नेत्रहीन युवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले अपाङ्गता भएका व्यक्तिहरूका लागि मातृत्व र प्रजनन् स्वास्थ्यको पहुँच अझै पनि सहज नभएको गुनासो गरे । उनले मोरङ र झापा जिल्लामा आगामी १८ महिनासम्म स्वास्थ्यसँग सम्बन्धित विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी समेत दिए ।
कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र कोशी अस्पतालका प्रतिनिधि, विभिन्न स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवाला निकायहरूको सहभागिता थियो । सहभागीहरूले कानुनमा व्यवस्था भएपनि कार्यान्वयनको तहमा अपाङ्गता भएका व्यक्तिहरूले प्रजनन् स्वास्थ्य सेवा लिँदा अनेकौं अवरोध झेल्नु परिरहेको भन्दै ध्यानाकर्षण गराएका थिए ।