२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना

अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना


बाबु आरभ ! जीवन एउटा संयोग रहेछ । विगतका भोगाइबाट पाठ सिक्दै, त्यसलाई आत्मसात गर्दै, स्विकार्दै वर्तमानमा रमाउँदै अगाडि बढ्नु नै जीवन जिउनुको अर्थ रहेछ । भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा लगातार दुई महिनाभन्दा धेरै काम गर्दा धेरै कुरा सिक्न पाइयो । कहिलेकाहीँ लाग्छ कि यो कोभिड—१९ रोगको आगमनले हामीलाई आफ्नो जीवनको यथार्थता सिकाएको छ र बनावटी दुनियाँबाट वास्तविक जीवनमा आउन मद्धत गरेको छ ।

बाबु ! सानैदेखि तिमी व्यवहारिक र ज्ञानी थियौ । आज बल्ल नौ वर्ष पुगेको तिमीमा जिम्मेवारी बहन गर्ने परिपक्व सोच छ । म कोरोना अस्पतालमा काम गर्दा तिमी र छोरी आरभीसँग छुट्टिँदा पनि तिमीले खाना खाने बेलामा मलाई खाना खानुभयो भन्दै फोन गथ्र्यौ । तिमीलाई देखेर गर्व लाग्छ, खुशी छु । तिम्रा स्कुलका शिक्षक शिक्षिकाले पनि भन्नुहुन्छ, ‘आरभ आफ्नो उमेरभन्दा धेरै पाको छ ।’ तिमीले आफ्नो पिता गुमाएको सत्र महिना त भइसक्यो, म तिम्रो मातापिता दुवै भएकी छु । तिमी पनि मेरो सन्तान मात्र नभएर साथी नै भएका छौं । बहिनी आरभीलाई कति राम्ररी स्याहार गर्छौ, त्यसैले त म ढुक्कसँग काममा जान्छु ।

बाबु ! भरतपुर कोरोना अस्पतालमा काम गर्दा धेरै अवसर र चुनौती थिए । यहाँका अनुभवले मलाई आफूलाई समयअनुसार परिवर्तन हुन सिकायो । परिवर्तन आपैmबाट सुरू गर्नुपर्ने रहेछ । यो महामारीमा पनि राजनीति गर्दै आफ्नै स्वार्थपूर्ति गर्ने व्यक्तिको कमी त थिएन, तर दुःख त्यतिबेला लाग्थ्यो जब आफ्नै सहकर्मी साथीहरू, र आफ्ना अग्रज भनिएका व्यक्ति त्यसमा लाग्नुहुन्छ । कोही गर्भवती हुँदाहुँदै खटिएका थिए भने कोही काखे बच्चा छोडेर । तैपनि यही महामारीको विरुद्धमा लाग्नुभएका स्वार्थविहिन कर्मचारीलाई यिनै स्वार्थ निहित व्यक्तिले झटारो हानेको देख्दा मन अमिलो हुन्थ्यो । मिटिङ भन्दै बोलाएर समूहमै प्रहार गर्ने आदरणीय अग्रजलाई त म के भनूँ ? यो देख्दा मलाई अहिले पनि लाग्छ —आफ्नो स्वाभिमानमा अडिग रहेर काम गर्न सक्नु ठूलो कुरा रहेछ ।

आफ्नै अनुभव र कामप्रतिको लगावले गर्दा पनि तिमीसँगै, बहिनी आरभी, बाबा, आमासँग पनि हामी हामी रजहरमा अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा गयौं । मेरो त्यहाँ पहिलो भ्रमण त थिएन तर तिमीलाई केही देखाउन र केही सिकाउन म फेरी गएकी हुँ । हाम्रै अस्पतालबाट डिस्चार्ज भएका दुई संक्रमितलाई त्यहाँ राखिएको थियो । यही सामाजिक समस्या भोग्न नपरोस् भनेर पिसिआर नेगेटिभ नहुँदासम्म त्यहीँ राखिने रहेछ । ती बीस वर्ष उमेरभित्रका दुई भाइहरूले हामीलाई फोन गर्थे । उनीहरूलाई देख्दा मैले तिमीलाई सम्झिन्थें । आउनुहोस् न दिदी यहाँ कति रमाइलो छ, खाना पनि मीठो छ भन्थे । त्यहाँका प्रमुख
डा. विनोद पौडेलले हामीलाई निम्ता गर्नुभएको थियो । त्यहाँ कोरोनाका लक्षणविहिन बिरामी राखिँदो रहेछ । अस्पताल अत्यन्तै व्यवस्थित रहेछ । संक्रमितलाई राम्रो खानाको व्यवस्था, बस्ने ठाउँ राम्रो थियो ।

रजहर भ्रमणका क्रममा केही तस्विरहरू

धेरैजसो बिरामी भारतबाट फर्किएर आएका थिए र तीस वर्षभित्र उमेरका थिए । त्यसो त तीन वर्षका बालकदेखि ७८ वर्ष उमेर सम्मका त्यहाँ थिए । बोरालाई डल्लो पारेर बल बनाएर भलिबल खेलिरहेका थिए । हेर्दा अस्पतालभन्दा पनि रङ्ग रमाइलो गर्ने थलो जस्तो देखिन्थ्यो । समाजमा दूरदूर गर्ने अवस्था भएपनि कसरी उनीहरूले आफ्नो आत्मविश्वास उच्च बनाएर रोगसँग र समाजसँग लड्दै थिए यो पनि तिमीलाई देखाउने मन थियो ।

हालसम्म तीन सय छ जना भर्ना भएको त्यहाँ हामी जाँदा एक सय साठी जना थिए । त्यति धेरै संक्रमितलाई त्यस्तो सुविधासहित राख्नु सानो कुरा होइन । हामी सधैं सरकारले यो गरेन त्यो गरेन भनेर गाली गर्ने बानी परेकाले सकारात्मक कुरा पनि देख्न सके कति राम्रो हुन्थ्यो होला । हामी जाँदा दिउसै थियो तैपनि भान्सामा रातीको खानाको लागि तयारी भइरहेको थियो । अस्पतालमा नर्सिङ तथा अन्य कर्मचारीले पनि भान्सामा सहयोग गर्दै हुनुहुन्थ्यो । हामीले खाजा खायौं, गहुँको दलिया, अचार र मह कागती पानी । संक्रमितलाई समूहमा बाँडेर एक जनालाई टिमको लिडर बनाइँदो रहेछ र खाने बाड्ने जिम्मा उसकै रहेछ । गण्डकी प्रदेशले कोरोनाको पीसीआरको जाँच नेगेटिभ नआउँदासम्म घर नपठाउने र आइसोलेसनमै राख्ने निर्णय गरेको रहेछ । यो निर्णयको यस अस्पतालमा राम्रोसँग कार्यान्वयन भएको देखियो । आम जनता, चिकित्सक तथा स्वास्थ्यकर्मी, राजनैतिक दल, जनप्रतिनिधि सबैको सहयोगले नै यो सम्भव भएको थियो ।

बाबु ! गर्न खोजे असम्भव केही छैन । खाली समस्या मात्र देखाउन जानेका हामी नेपालीहरूले समस्यासँगै समाधानका उपाय पनि थोरै देखाउन सके कति राम्रो हुन्थ्यो होला । अहिलेको महामारीको त प्रकृति नै त्यस्तै छ, समस्या धेरै र समाधानको उपाय कम छन् । तर, पनि रजहरको यो प्राकृतिक चिकित्सालयमा गएपछि मैले आपैmले काम गरेको अस्पताल सम्झें । त्यहीँका संक्रमितमध्येका कसैले बिजुली बनाउने, कसैले पानी र प्लम्बिङको कार्यमा सहयोग गर्ने रहेछन् । मिलेर गरेपछि के गाह्रो भयो र ? अत्यन्तै तामझामका साथ सुरू गरिएका अस्पताल प्राविधिक तथा पूर्वाधारका समस्या देखाएर केही महिनामै बन्द भएका छन् । अस्पताल प्रदूषणरहित बनाउने, त्यहाँका औजार उपकरण निर्मलीकरण गर्ने काम सकिएको पनि महिनौ भयो, ती समस्या समाधान कहाँ पुग्यो के थाहा ।

दुई दिनपछि भरतपुरबाटै त्यहाँ पठाइएका एक संक्रमित भाइले फोन गरे । सधैं चुपचाप बस्ने र धेरै नबोल्ने ती भाइको फोन उठाउँदा अचम्म लाग्यो । उनले अत्यन्तै उत्साहित हुँदै सुनाए, ‘दिदी मेरो जाँचको रिपोर्ट राम्रो आयो, नेगेटिभ छ रे । अब घर जाने गाडीमा बसिसकें । तपाईँलाई यही भन्न फोन गरेको । मेरो घर बुलिङ्टार हो, गाडीबाट ओर्लेपछि दुई घण्टा हिँडेर पुगिन्छ । घुम्न आउनुहोस् है ।’

म भावविभोर भएँ । ती भाइको हर्षले नै हामीलाई प्रोत्साहित गर्छ । यस्ता सयौं बिरामीलाई सेवा गर्दै खुशीसाथ घर पठाउन सकेकोमा रजहरको प्राकृतिक अस्पतालको टिमलाई अनि प्रदेश चारको सरकारलाई धन्यबाद साथै नमन ।

बाबु, स्वास्थ्यकर्मीको सेवा सुविधा बढाउने भन्दै गरिएका चर्का भाषण दिनहुँ सुन्नपरेको छ । हौसला दिने र भत्ता दिने जस्ता गफ पनि सुनेकै हो । फेरी जो बिरामीको नजिक एकपटक पनि परेको छैन, उसलाई नै चाहिन्छ यस्ता कुरा धेरै । कोरोना लडाइमा चाहिएको सुरक्षा सामग्री हो, तनावरहित काम गर्ने वातावरण हो, र यो रोगको शीघ्र नियन्त्रण र संक्रमित व्यक्ति रोगमुक्त भएर घर जाने वातावरण हो । तिमी र बहिनीसँग समय बिताउने दिन हो ।

बाबु कोरोना अस्पतालसँगै जीवनका अरू भोगाइबाट मैले सिकेको यही हो । पढाइ नै ठूलो कुरा हो, यसले नै शक्ति र स्वाभिमान ल्याउँछ । त्यसैले पढाइलाई अग्रस्थानमा राख्नपर्छ । यही कुरालाई सधैं सम्झिँदै अगाडि बढ । तिम्रो उज्ज्वल भविष्यको कामनासँगै तिमीलाई जन्मदिनको धेरै शुभकामना !

(वाणगङ्गा ११ कपिलवस्तु निवासी डा. शान्ति हाल भरतपुर अस्पतालमा कार्यरत छन् ।)


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ