२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सतार समुदायबाट डाक्टर बन्दै दिनेश

सतार समुदायबाट डाक्टर बन्दै दिनेश


विराटनगर—मोरङको पथरी शनिश्चरेका २८ वर्षीय दिनेश हस्दाको आर्थिक अवस्था नाजुक रहेको छ । खर्च अभावले उनले भनेजस्तो पढन सोचेभन्दा परको कुरा थियो । सतार समुदायका युवा दिनेशले जेहनतेन स्कुलको पढाइ सके । राम्रो कलेजमा उच्च शिक्षा हासिल गर्नु उनका लागि धेरै परको कुरा थियो । जेनतेन किताब कपी किन्ने खर्च जुटाउन समेत नसक्दा पढाइ नै छोड्नुपर्ने अवस्था थियो ।

अर्काकोमा अधियाँ खेती गरेर जसोतसो जीविकोपार्जन गर्दै आएको हस्दा परिवारले दिनेशको पढाइमा खर्च गर्न नसक्नु स्वभाविक थियो ।
आर्थिक अभावका कारण सामान्य पढाइमै समस्या व्यहोर्दै आएका हस्दाले अहिले चिकित्साजस्तो महंगो एवं स्तरीय शिक्षा पढ्ने अवसर पाएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा. सुनिल शर्माले उनलाई निःशुल्क एमबीबीएस पढाएर डाक्टर बनाउँदैछन् । हस्दाका लागि पढाइ मात्र नभई आवश्यक सम्पूर्ण खर्च डा.शर्माले नै दिदै आएका छन् ।

निःशुल्क पढ्न, बस्न, खान र लत्ता कपडासहित आवश्यक अन्य खर्चको व्यवस्थासमेत डा.शर्माले मिलाइदिदा डाक्टर बन्ने अवसर पाएको भन्दै हस्दाले खुशी व्यक्त गरे । ‘गरिब परिवारमा हुर्किएको मसँग भविष्यमा के गर्ने भन्ने केही योजना नै थिएन्,’ उनले भने, ‘पैसा नभएपछि योजना मात्र बनाएर पनि के गर्नु ?’

दिनेश र डा.शर्माबीच कुनै नाता छैन, चिनजान पनि थिएन । बिगतमा गरिबीको तितो अनुभव भोगेका डा.शर्माले हस्दालाई पनि आफनो विगतसँग तुलना गर्दै एमबीबीएस पढ्न सहयोग गरे । अनि उनलाई सतार समुदायको पहिलो डाक्टर बनाउने अठोट लिएर डा. शर्माले दिनेशमाथि लगानी गरे । ‘गरिबले पनि डाक्टर बन्न पाउनुपर्छ भनेर मैले पिछडिएको समुदायबाट छानेर दिनेशलाई सहयोग गरेको हुँ,’ डा.शर्माले भने ।

नोबेल मेडिकल कलेजमा साढे ५ वर्षे एमबीबीएस कोर्सको अन्तिम वर्षमा अध्ययन गर्दै आएका दिनेशको एमवीवीएस पढाइ अबका केहि महिनामै सकिदैछ । सम्भवतः सतार समुदायको पहिलो डाक्टर दिनेश हुँदैछन् । दिनेशको पढाइसहित सम्पूर्ण खर्चको हिसाब गर्ने हो भने डा. शर्माले उनका लागि झण्डै एक करोड हाराहारी लगानी गरिसकेका छन् । उनलाई विज्ञान संकायमा प्रवीणता प्रमाणपत्र तह पनि डा. शर्माले नै पढाएका हुन् ।

सहपाठीसँग दिनेश

क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ