२०७९ असोज १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टचिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीन जनाबीच टक्कर, छिर्के दाउमा निलमणि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीन जनाबीच टक्कर, छिर्के दाउमा निलमणि


काठमाडौं—पछिल्लो झण्डैं  डेढ महिनायता चिकित्सा शिक्षामा दूरगामी महत्व राख्ने भनिएको चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको दौडका कारण देशकै समग्र चिकित्सा क्षेत्र तरंगित बनिरहेको छ । आयोगको उपाध्यक्ष कार्यकारी हुने भएकाले पनि चिकित्सा क्षेत्र बाहिरको ध्यान पनि यसैमा केन्द्रित छ ।

साउन १५ सम्म उपाध्यक्षका लागि लोकसेवाका आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा बनेको उपाध्यक्ष सिफारिस समितिले आवेदन माग गरेको थियो । जसमा ११ जना बरिष्ठ चिकित्सकहरुको आवेदन परेको थियो । तर, अन्तर्वार्ताका लागि ९ जना मात्रै छनोट भए । आवेदकमध्ये प्रा.डा. प्रमोदकुमार सर्राफ र प्रा.डा. जेएन पाण्डे हिमालीको आवेदन सिफारिस समितिले मापदण्ड नपुगेको भन्दैं रद्ध गरिदिएको छ । स्रोतकाअनुसार हिमालीले आवेदन फारम भर्दा ‘म कुनै पनि स्वार्थबाट प्रेरित छैन्’ भन्नेमा टिक लगाउन बिर्सिएका कारण आवेदन रद्ध भएको हो ।

दुई प्रतिस्पर्धी दौडबाट बाहिरिएसँगै अब चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्ने दौडमा ९ जना चिकित्सकहरु छन् । जसमा प्रा.डा. पारसकुमार पोखरेल, प्रा.डा. निलमणि उपाध्याय, प्रा.डा.तरुण पौडेल, प्रा.डा. यहुनचन्द्र शिवाकोटी, प्रा.डा. रमेशप्रसाद सिंह, प्रा.डा. राजेन्द्रप्रसाद साह, प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा. शम्भु पहारी र प्रा.डा सुरेन्द्र शेरचन छन् । उनीहरुको अन्तर्वार्ता २६ र २७ साउनमा हुँदैछ ।

अन्तर्वार्ता दिने चिकित्सकहरुमध्येबाट आयोगको शक्तिशाली कार्यकारी प्रमुख को बन्छ भन्ने लोखाजोखा पनि अहिले चलिरहेको छ । आयोगको उपाध्यक्षका लागि प्रमुख दाबेदार मानिएका प्रा.डा. धर्मकान्त बाँस्कोटा, प्रा.डा. भगवान कोइराला, प्रा.डा. अर्जुन कार्की र प्रा.डा. जगदिशप्रसाद अग्रवाल प्रतिस्पर्धामै सामेल नभएपछि यो दौड झन रोचक बनेको छ । स्रोतकाअनुसार प्रभावशाली दाबेदार मानिएका बरिष्ठ चिकित्सकहरुले सेवा, सुविधा कम हुने र अवगाल बढी आउने ठाउँ भन्दैं उपाध्यक्ष बन्ने दौडमा अरुची देखाएका हुन् ।

दौडमा रहेकामध्ये पनि दुई जनालाई सबैभन्दा पहिलो घेरामा राखेर सम्भावित प्रमुख दाबेदारका रुपमा चित्रित गरिदैंछ । जसमा प्रा.डा. श्रीकृष्ण गिरी र प्रा.डा यहुनचन्द्र शिवोकाटी छन् । दुवै नेकपा निकट चिकित्सक हुन् । प्रा.डा. गिरी तत्कालीन एकताकेन्द्र मसाल, एकीकृत माओवादी हुँदैं नेकपामा निकट हुन् भने शिवाकोटी विद्यार्थीकालदेखि तत्कालीन एमाले निकट विद्यार्थी राजनीतिकदेखि नै एमाले निकट रहँदैं आएका हुन् । नेकपाभित्रको तत्कालीन एमालेको खेमाको सद्भाव शिवाकोटीले पाउन सक्छन् भने तत्कालीन एमाओवादीको सद्भाव गिरीलाई रहन सक्छ ।

प्रा.डा. श्रीकृष्ण गिरी
प्रा.डा. श्रीकृष्ण गिरीको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेलसँग निकट सम्बन्ध छ । त्यसकारण मन्त्रीको ‘पावर’ पनि प्रा.डा. गिरीका लागि फाइदाजनक हुन सक्छ । यसअघिका राजनीतिक नियुक्तिको नम्बर पनि उनैमा थपिने निश्चित छ । गिरी न्याम्सका पूर्व रजिष्ट्रार तथा रेक्टर, मेडिकल काउन्सिलको सदस्य, रजिष्ट्रार, चिकित्सा शिक्षा आयोगको सदस्य, चिकित्सा शिक्षा शुल्क निर्धारण समिति सदस्य, रिसर्च काउन्सिलको कार्यकारी सदस्य सचिव, उच्च शिक्षा आयोगको थिंक ट्याक कमिटी सदस्य, पटक—पटक स्वास्थ्यमन्त्री हुँदा पोखरेलको सल्लाहकार रहिसकेका छन् । हाल राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ अर्थोपेडिक सर्जन उनले ३७ वर्ष चिकित्सा क्षेत्रमा बिताएका छन् ।

प्रा.डा. गिरीको अहिले उपाध्यक्ष होडमा सबैभन्दा बलियो अस्त्र भनेकै यिनै ठाउँहरुमा हासिल अनुभव हो । ‘प्रा.डा गिरीका नीति नियम बुझेका मान्छे हुन्,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अहिलेका उम्मेदवारहरुमध्ये सबैभन्दा बलिया उनी नै हुन् । काम गर्नका लागि सहज हुने ब्यक्ति पनि हुन् ।’ डा. गिरीले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस र एमएस गरेका छन् । गिरिराजमणि पोखरेल स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा मन्त्रालयको महत्वपूर्ण मानिने अन्तर्राष्ट्रिय समन्वय महाशाखाको नेतृत्व, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सम्भाव्यता अध्ययन समितिको संयोजकका रुपमा पनि उनले काम गरेका छन् ।


प्रा.डा. यहुनचन्द्र सिवाकोटी

अर्का, मुख्य दाबेदार प्रा.डा. यहुनचन्द्र सिवाकोटी हुन् । उनले मंगलबारमात्रै स्वास्थ्यको ११ औं तहबाट अवकास पाएका छन् । आइओएमदेखि नै उनी अखिल हुँदैं तत्कालीन एमाले निकट रहेर राजनीतिमा संलग्न भएका ब्यक्ति हुन् । उनी यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का डिन भैसकेका ब्यक्ति हुन्, उनी न्याम्सकै जनरल सर्जरीका प्रोफेसर पनि हुन् । त्यसकारण, प्रा.डा. यहुनचन्द्र पनि शिक्षा आयोगको उपाध्यक्षका सशक्त दाबेदार हुन् ।

प्रा.डा. यहुन जेनयुन मान्छे भएपनि अनुभव कम तथा समन्वयमा कमजोर भएका कारण प्रतिस्पर्धामा उनलाई यही कुराले असर पार्ने सम्भावना रहेको केहीको मत छ । सन् १९९१ मा त्रिवि चिकित्सा अध्ययन संस्थान एमबीबीएस गरेका प्रा.डा शिवाकोटीले जनरल सर्जरीमा त्रिवि चिकित्सा अध्ययन संस्थान महाराजगन्जबाट एमएस गरेका हुन् । सरकारी जागिरमा २०५० सालमा प्रवेश गरेका उनी डोटी अस्पताल, चितवन भरतपुर अस्पताल, वीर अस्पतालगायतका ठाउँमा काम गरे । वीरमा मात्रै उनले झण्डै १३ वर्षजति काम गरे । डा. यहुनचन्द्र २०७१ सालमा न्याम्सको प्राध्यापक भएका हुन् ।


प्रा.डा. तरुण पौडेल

डा. तरुण पौडेललाई यतिखेर तेस्रो विकल्पका रुपमा हेरिदैंछ । कारण, पौडेललाई डा. गोविन्द केसी निकटका केही ब्यक्तिहरुले उपाध्यक्षमा आवेदन दिन प्रोत्साहन गरेका हुन् । यदि डा. केसी नै उनका पक्षमा उभिएदिए भने त्यो उनका लागि सबैभन्दा ठूलो नैतिक बल हुनेछ । तर, प्रा.डा. तरुणलाई प्रतिस्पर्धाका क्रममा छोटो अनुभव, प्रशासनबाट आएको ब्यक्तिजस्ता कारणले धोका दिन सक्छन् ।

गोविन्द केसीका अत्यन्त निकट प्रा.डा. राजेन्द्र वाग्ले अलि निकट मानिन्छन्, प्रा.डा पौडेल । केही चिकित्सकहरुले केसीको पावर युज गर्नका लागि आवेदन हाल्न लगाएको चर्चा पनि छ । प्रा.डा. केसीको रोजाइका अन्य ब्यक्ति (प्रा.डा. जेपी अग्रवाल, प्रा.डा. भगवान कोइराला, प्रा.डा. अर्जुन कार्की र प्रा.डा. धर्मकान्त बाँस्कोटा) को आवेदन नपरेपछि वाग्लेमार्फत प्रा.डा पौडेललार्य अगाडि सारिएको स्रोतको दाबी छ ।

२०४८ सालमा नेपाल सरकारको जागिर खान थालेको प्रा.डा. पौडेल ०७४ सालमा १२ औं तहबाट रिटायर्ड भएका हुन् । सरकारी सेवामा झण्डै २६ वर्ष बिताएका उनले आइओएमबाट २०४७ सालमा एमबीबीएस पास गरेका हुन् । सरकारी छात्रवृत्तिमा ०५५ सालमा आइओएमबाटै उनले एमडिजीपी गरे । त्यसपछि उनी सरकारी जागिरको शिलशिलामा भरतपुर बसे । त्यसपछि बाग्लुङमा १६ वर्ष सेवा गरे । त्यसपछि उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)मा प्राध्यापक भएका हुन् । ‘म पनि पोटिन्सियल क्यान्डिडेन्ट हुँ,’ उनले भने, ‘गुणस्तरीय चिकित्सा शिक्षा हुनुपर्छ भन्ने मेरो मत हो ।’ उनले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको एजेण्डालाई पनि आफूले नजिकबाट बुझेको बताए ।

प्रा.डा. पारसकुमार पोखरेल
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिएका प्रा.डा. पारसकुमार पोखरेल वैचारिक रुपमा नेपाली  कांग्रेस निकट मानिएतापनि पोखरेलको नाता लगाउदैं ईश्वर पोखरेलमार्फत आफ्नो पक्षमा लबिइङ गरिरहेका छन् । ‘उहाँको साइनो त छैन्,’ स्रोतले भन्यो । रोचक त के भने उपप्रधान तथा रक्षामन्त्री पोखरेल आफ्ना मान्छेहरुको पक्षमा दह्रो अडान राख्ने नेतामा पर्छन् ।

प्रा.डा. पोखरेल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिन, विभागमा कार्यरत छन् । उनले काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिसिन धुलिखेलमा कम्युनिटी मेडिसिन तथा फ्यामिली प्राक्टिस विभागमा अध्यक्षका रुपमा समेत काम गरेका थिए । प्रा.डा. पोखरेलले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट एमडी गरेका छन् ।

प्रा.डा रमेशप्रसाद सिंह
प्रा.डा. सिंह नेपाल मेडिकल कलेज जोरपाटीमा हाडजोर्नी विभागका विभागीय प्रमुखका रुपमा कार्यरत छन् । उनले भारतको कलकत्तास्थित आरजी कर मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन भने पाकिस्तानको पोष्टग्राजुएट मेडिकल इन्स्टिच्युटबाट एमएस गरेका छन् ।

एमएस गरेलगत्तै उनले नेपाल प्रहरी अस्पतालमा झण्डैं दुई वर्ष सेवा गरेका थिए । झण्डै दुई दशकदेखि उनी नेपाल मेडिकल कलेजमा सेवारत छन् । प्रा.डा. सिंहलाई नीजि मेडिकल कलेजवालाहरुको रोजाइका ब्यक्ति मानिन्छन् ।

प्रा.डा. सुरेन्द्र शेरचन
प्रा.डा. सुरेन्द्र शेरचन मानसिक अस्पतालमा पूर्व निर्देशक हुन् । अहिले प्रा.डा. शेरचन सामाजिक कार्य तथा बी एण्ड बीमा अस्पतालमा ब्यस्त छन् । पाटनमा उनकै संयोकत्वमा साइयाक्ट्रिसको अध्यापन सुरु गरिएको हो । अहिलेसम्म विराटनगरको क्यान्सर अस्पतालमा कार्यरत रहेको थिए । २०४८ सालमा दुर्गम क्षेत्रमा मानसिक सेवाको सुरुवात गर्न पनि मैले भूमिका खेलेको छु ।

उनले एमबीबीएस र एमडी तत्कालीन सोभियत संघबाट गरेका हुन् । उनले २०४६ सालदेखि नेपाल सरकारको सरकारी सेवा सुरु गरेका हुन् । उनी २०७४ मा पाटनमा कार्यरत रहँदा रिटायर्ड भएका हुन् । स्रोतकाअनुसार प्रभाव र पहुँचका हिसाबले भने प्रा.डा. सुरेन्द्र त्यति प्रभावशाली उम्मेदवार मानिदैंन् ।

प्रा.डा. राजेन्द्रप्रसाद साह
प्रा.डा. राजेन्द्रप्रसाद साह रौतहटका हुन् । उनी अहिले गण्डकी मेडिकल कलेज, पोखरामा प्रोफेसरका साथै एनाटोमी विभागीय प्रमुख समेत छन् । २१ वर्षको टिचिङ अनुभव भएका प्रा.डा. साह विगत १० वर्षदेखि प्रोफेसरका रुपमा कार्यरत छन् । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा रसियाबाट एमबीबीएस गरेका प्रा.डा. साहले बंगलादेशबाट एनोटोमी एमफिल गरेका छन् ।

उनले बंगलादेशबाट नै एमएस अर्थोपेडिक्स सर्जरीमा माष्टर्स गरेका छन् । चिकित्सा अध्ययन संस्थानमा एनोटोमी प्रोफेसर, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अर्थोपेडिक सर्जन, मेडिकल एशोसियनको नारायणी अञ्चल उपाध्यक्ष, एमबी केडिया डेन्टल कलेज वीरगन्जको प्रिन्सिपलका रुपमा समेत काम गरेको अनुभव उनीसँग छ ।

प्रा.डा. शम्भुकुमार पहारी
प्रा.डा. शम्भुकुमार पहारीले लामो समय वीर अस्पतालमा काम गरेका हुन् । उनी हाल अवकास प्राप्त सरकारी चिकित्सक हुन् । ३२ वर्ष सरकारी जागिर खाएका उनी इन्टरनल मेडिसिन र कार्डियोलोजीमा तत्कालीन सोभियत रुसबाट पोष्ट ग्रायाजएट हुन भने पछि न्याम्सबाट पनि एमडी गरेका थिए ।

अवकासपछि लुम्बिनी मेडिकल कलेज पाल्पा र युनिभर्सल मेडिकल कलेज भैरहवामा प्राध्यापकको रुपमा काम गरेका थिए । उनी चीनको यु ज्याङ्ग युनिभर्सिटीमा पनि प्रोफेसरको रुपमा काम गरिसकेका छन् । प्रा.डा. पहारी स्वर्गीय कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा निजी चिकित्सक भएका थिए । क्लिनिकल रुपमा अब्बल मानिएका पहारी चिकित्सा शिक्षा प्रशासनमा भने त्यति अनुभवी मानिदैंनन् ।

च्याखे दाउमा निलमणि
विवादित पृष्ठभूमीका मानिएका प्रा.डा. निलमणि उपाध्यायले पनि चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्नका लागि कसरत गरिरहेका छन् । स्रोतकाअनुसार पावर एक्साइजमा माहिर खेलाडी मानिने निलमणिलाई बलियो पक्ष भनेकै दक्षिण छिमेकी मुलुक भारततिर रहेको उनको सम्बन्ध नै हो । त्यसैले भारतमा एजेन्सी र दूतावासँग पनि उनको राम्रो सम्बन्ध छ । डा. उपाध्याय नेपाल मेडिकल काउन्सिलका पूर्व रजिष्ट्रार रहिसकेका ब्यक्ति हुन् ।

काउन्सिलको रजिष्ट्रार हुँदा कानुन विपरित कार्य गराउन मुख्य भूमिका निर्वाह गरेको आरोप उनीमाथि लागेको थियो । मेडिकल कलेजको सिट निर्धारणमा मापदण्ड मिचेको, एकै समयमा दुईवटा संस्थाबाट तलब लिने गरेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप गराएको समेत आरोप निलमणि माथि लागेको थियो । पेशागत चिकित्सा सम्बन्धी कामबाहेक कुनै पनि सरकारी र अर्ध सरकारी निकायमा भविष्यमा लाभको पदमा नियुक्ति पाउन अयोग्य रहेको भन्दैं उनलाई कारवाहीको सिफारिस समेत भएको थियो । उनी राजनीतिक रुपमा भने नेकपा निकट मानिन्छ ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)