२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भाडभैलो : के बाहिरिदैंछन् डा. चक्रराज ?

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भाडभैलो : के बाहिरिदैंछन् डा. चक्रराज ?


काठमाडौं—नेपालको कर्पोरेट हेल्थ सेक्टरमा बेन्चमार्क खडा गर्ने भनेर खोलिएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा म्यानेजमेन्ट परिवर्तनको उकुसमुकुस चलिरहेकै बेला अर्को विवाद छताछुल्ल भएको छ । १९ पुसमा मनाइएको अस्पतालको आठौं वार्षिकोत्सव समारोहमा ग्राण्डीका अध्यक्ष ई. दिपक कुँवरले अस्पतालका परिकल्पनाकार तथा मेडिकल निर्देशक डा. चक्रराज पाण्डेलाई पब्लिक फोरममै आरोपित गरेपछि यसले नयाँ तरंग सिर्जना गरेको हो ।

काठमाडौंमै रहेका डा. पाण्डे आफैले परिकल्पना गरेको अस्पतालको वार्षिकोत्सव जस्तो ठूलो कार्यक्रममा अनुपस्थित हुनुलाई पनि अर्थपूर्ण मानिएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल निकट स्रोतकाअनुसार डा. पाण्डे सञ्चालक समितिका अध्यक्ष ई. कुँवरसँग मतभेद भएपछि वार्षिकोत्सवको छेकोमा जानाजान विदामा बसेर अनुपस्थित भएका हुन् । स्रोतकाअनुसार डा. पाण्डे अध्यक्ष कुँवरसँग विवाद हुने देखेरै अस्पतालको कार्यक्रममा सहभागी नभएका हुन् ।

अध्यक्ष कुँवर र मेडिकल निर्देशक डा. पाण्डेबीच अस्पतालको व्यवस्थापन र सञ्चालनलगायतका विषयमा मतभेद रहेको बताइएको छ । उक्त मतभेद सञ्चालक समिति बैठक हुँदैं वार्षिकोत्सवजस्तो सार्वजनिक फोरममै प्रकट भएको थियो । समारोहमा उपस्थित एक कर्मचारीकाअनुसार अध्यक्ष कुँवरले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बिग्रनुमा डा. पाण्डे नै जिम्मेवार रहेको भन्दै ‘गम्भीर आरोप’ लगाएका थिए ।

डा. पाण्डेसँग विवाद चुलिएपछि अहिले अस्पतालमा उनको जिम्मेवारी पनि नाममात्रैको बनाउने प्रयास गरिएको स्रोतको दावी छ । ‘अहिले डा. पाण्डेलाई नाममात्रैको मेडिकल डाइरेक्टर बनाउने प्रयास जारी छ,’ ग्राण्डी निकट स्रोत भन्छ, ‘अस्पतालको सम्पूर्ण निर्देशकीय पाटोमा डेपुटी मेडिकल डाइरेक्टरलाई बढी सक्रिय बनाउन थालिएको छ ।’

वार्षिकोत्सवपछि जारी गरिएको प्रेस नोटमा पनि त्यो छनक देखिन्छ । सञ्चालकले डा. पाण्डेको भूमिका कमजोर बनाएर उनलाई संस्थाबाट अलग्याउन खोजिरहेको सुत्रहरुको दावी छ । यसअघि अस्पतालबाट कुनै बिरामीको अवस्थाको बारेमा प्रेस नोट जारी गर्नुपर्दा पनि डा. पाण्डेले नै जारी गर्थे । तर, वार्षिकोत्सवजस्तो संस्थाको महत्वपूर्ण कार्यक्रमकै समयमा विदा बस्नु र प्रेस नोटमा उनको नाम नसमेटिनुले ग्राण्डीभित्रको आन्तरिक विवाद चुलिएको देखिन्छ ।

सार्वजनिक मञ्चमै आरोपित गर्नुपर्ने अवस्था र अस्पतालको विवादबारे बुझ्न अस्पतालका अध्यक्ष कुँवरलाई हेल्थआवाजले सम्पर्क गर्दा उनले अस्पतालमा त्यस्तो कुनै विवाद नरहेको दावी गरे । ‘यो सरासर गलत हो,’ उनले भने, ‘उहाँ अस्पतालको चिकित्सक र कर्मचारी मात्र होइन्, प्रमोटर पनि हो । त्यसैले उहाँमाथि दोषारोपण गर्नुपर्ने कुनै कारण छैन् । मैले उहाँलाई पब्लिक फोरममै दोषारोपण गरे भन्ने कुरा गलत हो ।’ उनले अहिले कठिन समयमा सबै मिलेर अस्पताललाई बनाउनुपर्ने बेला आफूले त्यस्तो कल्पना नै नगरेको उल्लेख गरे ।

तर, अस्पतालको बोर्ड अफ डाइरेक्टरमा समेत रहेका मेडिकल निर्देशक डा. पाण्डेसँग बार्षिकोत्सवमा उपस्थित नहुनको कारण सोध्दा आफू ६ दिने विदामा रहेका कारण उपस्थित हुन नसकेको दावी गरे । ‘मेरो काम भएकाले म ग्राण्डीको वार्षिकोत्सवमा जान सकिनँ । उहाँहरुले आफ्नो तरिकाले गाली गर्नुभयो भन्ने मलाई पनि खबर आयो,’ डा. पाण्डेले हेल्थआवाजसँग भने, ‘अध्यक्षज्यूले मलाई गाली गर्नुभएछ । उहाँले मलाई गाली गर्दैमा हुने केही छैन ।’ डा. पाण्डेले ग्राण्डीमा आफू पहिलेकै भूमिका रहेको बताए ।

ग्राण्डीमा अहिले देखिएको विवादको कारणबारेको प्रश्नमा डा. पाण्डेले विवाद अहिलेको नभएर विगत १० वर्षदेखिकै अन्तसंघर्ष रहेको बताए । ‘हेल्थ केयरमा इथिकल मेडिसिन, बिरामीहरुलाई उत्कृष्ट ठाउँमा राखेर उपचार गर्ने र डाक्टरहरुलाई प्रोफेसनल काम गर्नुपर्छ भन्ने पक्षको म हुँ,’ उनले भने, ‘अरु मानिसहरु आज लगानी ग¥यो भोलि नै फाइदा खोज्ने स्वभावका छन् । यो कुराले संस्था अघि बढ्दैन् ।’

अहिले ग्राण्डीको सात सदस्सीय सञ्चालक समितिमा ई. कुँवर अध्यक्ष छन् । बोर्ड अफ डाइरेक्टर भनिएको उक्त समितिका अन्य निर्देशकहरुमा मेडिकल डाइरेक्टर डा. पाण्डे, ई. विजय राजभण्डारी, डा. साधुराम पाण्डे, सुवर्णकृष्ण मल्ल, वीरेन्द्रबहादुर श्रेष्ठ, डा. सविना श्रेष्ठ विजुक्छे रहेका छन् । अस्पतालको भावि रणनीतिका विषयमा समेत चिकित्सक, नर्सिङ स्टाफ, मेडिकल स्टाफ तथा कर्मचारीहरुलाई जानकारी दिइएको उक्त समारोहमा डा. पाण्डे मात्रै अनुपस्थितले ठूलो अर्थ राख्ने जानकारहरु बताउँछन् ।

किचलोमाथि किचलो

१ हजार बढी कर्मचारी रहेको ग्राण्डीमा डा. पाण्डेको पनि लगानी छ । सन् २०१३ मा अस्पतालको सफ्ट ओपनिङ हुँदादेखि नै डा. पाण्डे र प्रमुख लगानीकर्तामध्येका एक व्यवसायिक समूह ज्योति समूहका डा. रुपज्योतिको तालमेल नहुँदा बढेको किचलो अदालसम्म पुगेको थियो । त्यसपछि डा. पाण्डे र ज्योति समूहबीचको लगानीको लफडा अन्त्य गर्नका लागि सेयर धनीका रुपमा सन् २०१५ मा डा. उपेन्द्र महतो ग्राण्डी भित्र्याइएका थिए । ५१ प्रतिशत शेयर लिएर ग्राण्डी छिर्ने सहमति गरेर लगानी गर्न सुरु गरेका डा. महतो कबोल गरेको पुँजी पूरै जुटाउन नसकेपछि फेरि अर्को किचलो थपिएको थियो । पूरा पैसा लगानी गर्न नसकेतापनि डा. महतो पनि ज्योति समूहकै हाराहारीको लगानीकर्ता हुन् ।

डा. महतोसँग किचलो लिएर दर्ता भएको मुद्धामा जिल्ला अदालत काठमाडौंले केही समयअघि फैसला गरेपछि उनी सेयर साझेदार बन्ने पक्का भएको छ । २५ प्रतिशत शेयरको लगानीकर्ताको रुपमा डा. महतोको लगानीले वैधता पाएपछि व्यवस्थापन परिवर्तन लगभग गत मंसिरमै लगभग पक्का भएको थियो । अहिले पनि नेपालकै मेगा हेल्थ प्रोजेक्ट मानिएको ग्राण्डीमा ५० प्रतिशत लगानी भएका दुई जनालाई बाहिरै छन् । जसको कानुनी निक्र्यौल आइसकेपछि पनि अझै व्यवहारिक पाटो समाधान भएको छैन् । यो विवाद चलिरहेकै बेला अहिलेकै व्यवस्थापन टिममा पनि विवाद देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा थप अन्योल सिर्जना भएको छ ।

ग्राण्डीमा अन्तर्राष्ट्रिय अस्पतालको कुल लगानीको आधारमा ज्योति समूह र डा. महतोको झण्डै २५/२५ प्रतिशत हाराहारीमा लगानी छ । त्यसबाहेक बाँकी ५० प्रतिशत सेयर अहिलेको सञ्चालक समितिका अध्यक्ष कुँवरसहित अन्य सञ्चालक समितिका निर्देशकहरु विजय राजभण्डारी, डा. पाण्डे, वीरेन्द्रबहादुर श्रेष्ठ, साधुराम पाण्डे, सुवर्णकृष्ण मल्ल, डा. सविना श्रेष्ठ विजुक्छे र अन्य ११७ जनाको सेयर होल्डरको हुन जान्छ । ग्राण्डीमा १ सय २६ जना लगानीकर्ता रहेका छन् ।

यसअघि डा. ज्योति र डा. उपेन्द्र व्यवस्थापनमा सम्भावित इन्ट्रीलाई मध्यनजर गर्दै ग्राण्डीलाई व्यवसायभन्दा पनि फेलोसीपका रुपमा लिएका डा. पाण्डेले दुई महिनाअघि मात्रैं लाजिम्पाटमा ‘अनामिवा क्लिनिक’ सुरु गरिसकेका छन् । त्यो बेला हेल्थआवाजसँग उनले क्लिनिक र ग्राण्डीको व्यवस्थापन परिवर्तनको कुरा फरक रहेको दावी गरेका थिए ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ