२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टस्वास्थ्य मन्त्रालयको विदेश भ्रमणमा उच्च तहकै हालीमुहाली

स्वास्थ्य मन्त्रालयको विदेश भ्रमणमा उच्च तहकै हालीमुहाली


काठमाडौं—स्वास्थ्य मन्त्रालयबाट मनोनयन भएर वैदेशिक भ्रमणमा जानेहरुमा अधिकांस ९, १० र ११ औं तहका कर्मचारीकै हालीमुहाली भएको पाइएको छ । विगत एक वर्षमा उच्च तहका अधिकांश कर्मचारीहरु मात्रै अन्तर्राष्ट्रियस्तरका कार्यक्रममा अवसर पाएका छन् ।

९३ प्रतिशत यही तहका कर्मचारी विदेश भ्रमणमा गएको पाइएको छ । ७ प्रतिशत भने अधिकृतस्तर मुनी र अन्य क्षेत्रका रहेका छन् । हेल्थ आवाजले स्वास्थ्य मन्त्रालयसँग सूचनाको हक प्रयोग गरेर प्राप्त गरेको विवरणअनुसार वैदेशिक भ्रमणमा मनोनयन भई जाने कर्मचारीमा सबैभन्दा बढी उच्च तहको पाइएको हो ।

प्राप्त विवरणअनुसार एक वर्षमा सबैभन्दा बढी विदेश भ्रमण जानेमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लाल रहेका छन् । उनी एक वर्षको अवधिमा ९ पटक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएका छन् ।

दोस्रोमा स्वास्थ्य मन्त्रालय गुणस्तर मापन महाशाखाका प्रमुख डा. दिपेन्द्ररमण सिंह ७ पटक विदेश भ्रमणमा गएका छन् । तेस्रोमा परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतम रहेका छन् । उनी एक वर्षमा ६ पटक विदेश गएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

औषधि व्यवस्था विभागका तत्कालीन निर्देशक नारायण ढकाल र उपचारात्मक प्रवद्र्धन महाशाखाका प्रमुख डा. तारा पोखरेल ५/५ पटक विदेश गएका छन् । त्यसैगरी, मन्त्रालयका प्रवक्ता समेत रहेका समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ, जनसंख्या महाशाखाका उपसचिव मुक्ति खनाल र स्वास्थ्य सेवा विभागका शम्भुप्रसाद ज्ञवाली ४/४ पटक विदेश भ्रमण गएका छन् ।

मन्त्री ३ पटक राज्य मन्त्री र सचिव २/२ पटक

मन्त्रालयले उपलब्ध गराएको विदेश भ्रमणमा जाने व्यक्तिको सूचीमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव तीन वटा देशको भ्रमणमा गएका छन् । त्यसैगरी, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र सचिव पुष्पा चौधरी २/२ पटक विदेश भ्रमणमा गएको तथ्यांक उपलब्ध छ । तर, मन्त्री यादव एक वर्षमा ६ पटकभन्दा बढी विदेश भ्रमणमा गएको मन्त्रालय स्रोतको दाबी छ ।

एक वर्षको अवधिमा स्वास्थ्य मन्त्रालयको मनोनयनमा १ सय ३४ वटा अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा ३ सय ६ जना भाग लिएका छन् । जसमा अधिकांश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका कर्मचारी रहेका छन् ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ