२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टबुवालाई कलेजो दिने छोरीको कथा : जसले अष्ट्रेलियाबाट फर्केर बुवालाई बचाइन्

बुवालाई कलेजो दिने छोरीको कथा : जसले अष्ट्रेलियाबाट फर्केर बुवालाई बचाइन्


भक्तपुर सुर्यविनायकका रनवा प्रजापतिका ६ भाइमध्ये जेठा हुन् । उनका तीन जना छोराछोरी । आफ्नै व्यवसाय गरिरहेका रनवाकी जेठी छोरी रबिना अष्ट्रेलिया गएको झण्डै ६ महिनामात्रै भएको थियो । छोरा असिम नेपालमै थिए भने कान्छी छोरी एलिसा अमेरिकामा थिइन् ।

राम्रो पारिवारिक अवस्था भएकाले छोराछोरीको लालनपालन राम्रैसँग गरिरहेका थिए । परिणाम, तीनै जना छोराछोरी पढेर राम्रै गरिरहेका थिए । तर, जीवन अनिश्चितताकै अर्को नाम त हो । गत पुस अन्तिम साता ४५ वर्षीय रनावाको जीवनमा पनि त्यस्तै अनिश्चितता आइप¥यो । व्यवसायिक कामका शिलशिलामा लमजुङमा रहेका बेला बिरामी परे । उनमा जन्डिस देखियो ।

जन्डिस देखिएपछि उनले त्यहीका एक आचार्यको सल्लाहमा आयुर्वेद औषधी सेवन गरे । तर, सन्चो भएन । काठमाडौं आए । सुरुमा उनको उपचार नर्भिक अस्पतालमा सुरु भयो । त्यही क्रममा उनको परिवारका सदस्यहरुले अन्य अस्पताल समेत चहारे ।

यसैक्रममा चैतको पहिलो सातातिर रनवाको परिवारका सदस्यहरु स्वास्थ्य परीक्षणका कागजपत्र बोकेर भक्तपुरस्थित शहीद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रमा पुगे । ‘सुरुमा उहाँको फ्यामिलीले कागजपत्र लिएर आउनुभएको थियो । बिरामीलाई हामीले हेरेको थिएनौं,’ केन्द्रकी प्रत्यारोपण सर्जन डा. अनिशा तिवारी भन्छिन्, ‘रिपोर्टहरु हेर्दा उहाँलाई अर्ली कलेजो ट्रान्सप्लान्ट चाहिएको देखिन्थ्यो ।’ कागजपत्रहरु अध्ययन गरिसकेपछि चिकित्सकहरुले रनवाको परिवारलाई कलेजो प्रत्यारोपण चाडो गर्नुपर्ने ब्रिफिङ गरे ।

डा. अनिशा, डा. छेतेन, डा. ललितकुमार साथमा रबिना र रनवा

परिवार पनि तयार भएर उनलाई अन्य अस्पतालबाट मानव अंग प्रत्यारोपण केन्द्रमा लगियो । अस्पताल पुग्दा उनी निकै बिरामी थिए । उनको स्वास्थ्य परीक्षण गरियो । डा. तिवारीकाअनुसार उनलाई ‘एक्युट अन क्रोनिक लिभर डिजिज’ भएको थियो । उनकाअनुसार भइरहेको लिभर डिजिजमाथि हर्बल मेडिसिनले गर्दा ‘एक्युज इन्सल्ट’ भएको पाइयो ।

चिकित्सकहरुले उनका थप परीक्षणहरु गरे । रनवालाई कलेजो दिनका लागि उनकी श्रीमती, एक जना भाइ तयार भए । तर, कलेजो म्याच भएन । बुवा बिरामी भएपछि अमेरिकाबाट फर्किएकी कान्छी छोरी एलिसाले पनि उनलाई कलेजो दिन चाहेकी थिइन् । तर, उनको कलेजोको भोल्युम कम भएपछि त्यो पनि प्रत्यारोपणका लागि सम्भव भएन ।

तीनै जनाको केही कुरा नमिलेर कलेजो रिजेक्ट भयो । ‘उहाँको भाइ, श्रीमती र कान्छी छोरीको केही—केही कुराहरु नमिलेर रिजेक्ट भएको थियो,’ डा. तिवारी भन्छिन्, ‘उहाँको परिवारले एक जना छोरी विदेशमा छ । बहिनीको मिलेन, दिदी आउँछ भन्नुभयो ।’ चिकित्सकहरुले अनुमति दिए ।

बुवासँग रबिना

परिवारका तीन जनाको कलेजो प्रत्यारोपण गर्न असम्भव भएपछि अष्ट्रेलियामा रहेकी २५ वर्षीया जेठी छोरी रबिना काठमाडौं आइन् । ‘तीन जनाको कलेजोको नमिलेपछि म बुवालाई कलेजो दिन्छु र बचाउँछु भनेर नै अष्ट्रेलिया गएको ६ महिनामै नेपाल फर्किए,’ रविनाले सुनाइन्, ‘मेरा लागि बुवाको जीवनभन्दा ठूलो कुरा केही थिएन ।’ बुवा नेपालमा बिरामी हुँदा उनी हरेक दिनजसो कुरा गर्थिन्, पिताको पीडाले परदेशमा उनको मन रुन्थ्यो । रबिनाले यसरी आफ्ना पिताप्रति प्रेम दर्शाइरहँदा छेउमै बसेका रनवाको आँखामा आँशु टिलपिलाइरहेका थिए । रबिना नेपाल फर्किएपछि उनको स्वास्थ्य परीक्षण गरियो । अलिअलि डर लागेपछि बुवाको जीवनमा लागि उनले आफूलाई पूर्णतयाः मोटिभेट गरिन् ।

‘रबिनाको पर्फेक्टल्ली म्याच भएपछि हामीले तत्कालै ट्रान्सप्लान्टका कामहरु अगाडि बढायौं,’ डा. अनिशा भन्छिन् । १२ चैतमा सर्जनहरु डा. छेतेन योन्जन तामाङ, डा. अनिशा, डा. ललितकुमार दासको टोलीले रनवाको कलेजो प्रत्योरपण ग¥यो । उनको प्रत्यारोपणमा दिल्लीको म्याक्स अस्पतालबाट आएको डा. सलिन अग्रवालसहितको ५ जनाको टिमले सहयोग गरेको थियो । यस्तै, एनेस्थेसियामा डा. आरती राई र डा. सुशील तामाङ गरेका थिए ।

कलेजो प्रत्यारोपणपछि जब रबिना होसमा आइन् । उनले सबैभन्दा पहिले आफ्नो पितालाई खोजिन् । भन्छिन्, ‘होस आउनेबितिकै बुवाका बारेमा बुझ्न मन थियो । बुवालाई भेट्न मन थियो । अनि मैले भोलिपल्ट डाक्टरहरुसँग बुवालाई कस्तो छ भनेर बुझें किनभने बुवाको कप्लिकेटेड सर्जरी थियो । त्यही कारण मलाई डर लागिरहेको थियो । तर, भगवानको कृपाले राम्रो भयो ।’ कलेजो पितालाई दिएको ६ दिनमा रबिना डिस्चार्ज भइन् ।

७ बैशाखमा रनवा पनि अस्पतालबाट निको भएर डिस्चार्ज भए । सर्जनहरु, नर्सहरु र अस्पतालमा एउटा फरक माहौल त बन्ने नै भयो । एउटा जटिल प्रत्यारोपण सफल भएको थियो । रनवाको परिवारमा झनै उल्लास छायो । किनभने उनले ‘एक्युट अन क्रोनिक लिभर डिजिज’लाई परास्त गरेर नयाँ जीवनमा पाएका थिए । उनलाई जेठी छोरी रबिनाले कलेजो दिएर बचाएकी थिइन् ।

ट्रान्सप्लान्टमा संलग्न चिकित्सक टोली

रनवा जटिल कलेजो प्रत्यारोपण सफलतामा अस्पतालको टिमवर्क महत्वपूर्ण रहेको प्रत्यारोपण सर्जन डा. छेतेन बताउँछिन् । ‘हाम्रो टिमवर्क नै सफलताको प्रमुख कारण हो,’ उनी भन्छिन्, ‘हाम्रोमा डाक्टर, एनेस्थेसिया र हाइली डेडिकेटेड नर्सहरुको टिम छ ।’

बुवालाई आफ्नो कलेजो दिने सरल स्वभावकी रबिना आफ्नी हजुरआमासँग हुर्किएकी हुन् । उनकी हजुरआमाले डा. छेतेनलाई भेट्दा सुनाइन्, ‘मेरी नातिनी त एउटा सानो रगतको थोपा देखेपनि आतिन्छ कस्तो गर्ने होला ?’ डा. छेतेनले जवाफ फर्काइन्, ‘किन पीर गर्नुभएको तपाईले । रगतको थोपासँग डराउने नातिनीले डरलाई जितिसकेकी छिन् । म कलेजो दिन्छु भनेर आइसक्नुभएको छ । नडराउनुस् ।’

डा. छेतेन अगाडि थप्छिन्, ‘एउटा रगतको थोपासँग डराउने मान्छे । तर, परेपछि बुवाको ज्यान जोगिन्छ भनेर कलेजोको भाग नै दिनुभयो । त्योभन्दा ठूलो करेज त के हुन्छ ? उहाँ आएकै दिन ब्लड टेष्ट गर्नुभएछ । अर्को दिन आउँदा त ब्लड टेष्टको रिपोर्ट लिएर आउनुभयो, कति बुझ्नुभएको । अष्ट्रेलियाबाट यस्तो बेलामा फर्किएर आउनुभयो, उता जाने ठेगान पनि छैन् ।’

अहिले रनवा आफै गाडी समेत हाक्न थालेका छन् । ‘पहिला म घरमै बेहोस भएको हुँ । परिवार, साथीभाइ सबैको सहयोगले चाडै ट्रान्सप्लान्ट भयो,’ उनले भने, ‘उहाँ डा’साबहरुको मेहनेत र सहयोगले मैले नयाँ जीवन पाए । अहिले त म नर्मल अवस्थामा आइसकेको छु ।’ उनी अहिले आफ्नो व्यवसाय सम्हाल्न थालिसकेका छन् ।

डा. छेतेन, डा. अनिशा र डा. ललित तीन जना सर्जन अहिले मानव अंग प्रत्यारोपण केन्द्रमा सक्रिय छन् । कसरी धेरै नेपालीको बिग्रेको कलेजो प्रत्यारोपण गरेर नयाँ जीवन दिने भन्ने धाउन्नेमा उनीहरु छन् । तीन जना नेपाली प्रत्यारोपण सर्जनहरुलाई के कुराले जोडिरहेको छ ? ‘हाम्रो कमन गोल एउटै भयो,’ डा. अनिशाले भनिन् । ‘प्यासन हो, नेपालमै कलेजो प्रत्यारोपण गरेर बिरामीलाई नयाँ जीवन दिने हाम्रो प्रयास हो । एउटै प्रोफेसन भएकाले पनि हामी जोडिएका हौं,’ डा. ललितले थपे । ‘नेपालमै गरौं भन्ने बलियो भावनाले नै हामीलाई जोडेको हो,’ डा. छेतेनले कुराको बिट मार्नुपूर्व भनिन् ।




क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #कलेजो प्रत्यारोपण, #डा. अनिशा तिवारी, #डा. छेतेन योन्जन, #डा. ललितकुमार दास, #रनवा प्रजापति, #शहीद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्र


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)