२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टकोलोनोस्कोपी स्क्रिनिङमा किन प्रधानमन्त्रीकै ध्यान जान आवश्यक छ ?

कोलोनोस्कोपी स्क्रिनिङमा किन प्रधानमन्त्रीकै ध्यान जान आवश्यक छ ?

बढ्दैंछ नेपालमा कोलोन क्यान्सरको जोखिम


काठमाडौं—नयाँबानेश्वरस्थित ग्यास्ट्रो एण्ड लिभर फाउण्डेसनमा ३० वर्षीया सोनिया (नाम परिवर्तन) स्वास्थ्य परीक्षणका लागि आइन् । उनको दिशामा कहिलेकाही रगत देखिने र रोकिने क्रम चलिरहेको थियो । पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेश कश्यपले ती महिलाको कोलोनोस्कोपी गरेर हेरे । कोलोरेक्टल (ठूलो आन्द्रा)को क्यान्सर (सीआरसी)  देखियो । थप परीक्षणहरु गरियो, उनको क्यान्सर लिभरसम्म फैलिइसकेको थियो । काट्न नसकिएकाले केही समयमै ती युवतीले युवावस्थामै ज्यान गुमाइन् ।

डिभी परेर अमेरिकामा जाने तयारीमा थिए—बाग्लुङमा रमेश (नाम परिवर्तन) । स्वास्थ्य चेकअप गरेर जाने भन्दैं उनी ग्राण्डी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि गए । दिशामा सामान्य रगत देखिएपछि ‘नेपालमै उपचार सस्तो पर्छ, चेकजाँच गरेरै जाउँ’ भनेर अस्पताल पुगेका थिए, उनी । चिकित्सकले उनको स्टुल टेष्ट गर्दा रिपोर्टमा अकल्ट ब्लड पोजेटिभ देखियो । खासै स्वास्थ्य समस्या नभएका उनले सपनामा पनि क्यान्सरको परिकल्पना गरेका थिएनन् । दुर्भाग्य, रमेशमा क्लोरेक्टल क्यान्सर पुष्टि भयो । शल्यक्रिया गराए । तर, त्यो सफल भएन् ।

यी दुई ठूलो आन्द्राको (कोलोरेक्टल) क्यान्सरको भयावह दृश्य देखाउने उदाहरण मात्रै हुन् । वंशाणुगत, खानापान र बदलिएको जीवनशैलीजस्ता कारण पछिल्लो समय नेपालमा पनि ‘कोलोरेक्टल क्यान्सर’ भुसको आगोझै फैलिइरहेको छ । केही वर्षअघिसम्म नेपालमा देखिने क्यान्सरहरुमा यो आठौं—नवौं नम्बरमा पथ्र्यो ।

तर, पछिल्ला वर्षहरुमा यो क्यान्सरका बिरामी व्यापक वृद्धि भएका छन् । जसका कारण यसले नेपालमा देखिने अन्य क्यान्सरहरुलाई उछिन्ने अवस्थामा पुगेको छ । क्यान्सर सम्बन्धि तथ्यांक सार्वजनिक गर्ने ‘ग्लोबोक्यान’काअनुसार गत वर्षमात्रै नेपालमा ठूलो आन्द्राको क्यान्सरका नयाँ ५.३ प्रतिशत बिरामी थपिएका छन् ।

सन् २०२० मा नेपालमा २० हजार ८ सय ५ जना नयाँ क्यान्सरका बिरामी थपिएकामध्ये १ हजार ९० जनालाई ‘कोलोरेक्टल क्यान्सर’ भएको थियो । ‘कोलोरेक्टल क्यान्सर’सँग सम्बन्धित हुने पेट क्यान्सरलाई पनि जोड्ने हो भने यो तथ्यांक अझ भयावह चित्र देखाउँछ । कोलोरेक्टल र पेट सम्बन्धि क्यान्सरका नयाँ बिरामी जोड्दा १२.९ प्रतिशत हुन्छ । संख्याका हिसाबले सन् २०२० मा मात्रै पेट र आन्द्रा सम्बन्धि क्यान्सरबाट २ हजार ६ सय ४२ जना पीडित भएका छन् । यी दुवै क्यान्सरलाई आधार मान्ने हो भने नेपालमा पेट तथा आन्द्रा सम्बन्धि क्यान्सर पहिलो नम्बरमा देखिन्छ ।

सन् २०१४ देखि सन् २०१८ सम्म विपी कोइराला क्यान्सर अस्पतालमा गरिएको एक अध्ययनमा पनि कोलोरेक्टल क्यान्सर युवा उमेरका नेपालीमा वृद्धि भइरहेको पाइएको थियो । इन्टरनेशनल जर्नल अफ सर्जरी ग्लोबल हेल्थमा प्रकाशित उक्त अनुसन्धानमा लेखमा बीपीकेएमसीएचको तथ्याङ्कअनुसार २०१४ देखि २०१८ सम्ममा २४ हजार ३ सय ४४ वटा नयाँ क्यान्सरका केस दर्ता भएको थियो। जसमध्ये ४५ प्रतिशत पुरुष र ५५ प्रतिशत महिला थिए। त्यस्तै, कुल संख्यामा १ हजार १ सय २९ (४.६) प्रतिशत सीआरसीको केस देखियो, जसमा ६४४ (५७.०%) पुरुष थिए र ४ सय ८५ (४३.० प्रतिशत) महिला थिए जसको एमएफ अनुपात १.४ थियो। रेक्टल क्यान्सर ५०.० प्रतिशत सबैभन्दा आम थियो जहाँ सीआरसीको आधा केस पाइयो। कोलोन क्यान्सरलाई छाडेर सबै साइटमा भन्दा बढी पाइयो। सबै क्यान्सरलाई छाडेर क्लोन क्यान्सर पुरुषमा बढी पाइएको थियो ।

बीपीकेएमसीएच  चिकित्सकहरूको अनुसन्धानका क्रममा सीआरसी ४५ /५९ वर्षका उमेर समुहमा सबैभन्दा सामान्य थियो (३१.९%) , त्यसपछि ६०-७४ (२५.९प्रतिशत र ३०-४४(२४.६%) त्यस्तै नतिजा सिआरसीको विभिन्न साइटहरुमा यस्तै नतीजाहरु देखीएको थियो। ४५ वर्ष मुनिका युवा उमेर समूहमा CRC (३५..9%) को अवलोकन गरिएको छ। सबै उमेर समूहमा देखिएको सबैभन्दा बढी रेक्टल क्यान्सर थियो।

कोलोन क्यान्सर एक ठाउँमात्र सिमित नभई अन्य भागहरुसमेत प्रसारित हुने पाइएको थियो । यसले के देखाउँछ भने, सीआरसीस बाहेक ट्रान्सभर्स(प्रसारित) कोलोन क्यान्सर पुरुषहरुमा साझा रुपमा देखिने गर्छ ।

‘नेपालमा कोलोरेक्टल क्यान्सर ७—८ वर्षअघिसम्म क्यान्सरको ¥याकिङमा ८—९ औं नम्बरमा पथ्र्यो,’ दुई वर्षदेखि ग्यास्ट्रो एण्ड लिभर फाउण्डेसन स्थापना गरेर ठाउँ—ठाउँमा हेल्थ क्याम्प चलाइरहेका डा. कश्यप भन्छन्, ‘अहिले यो दोस्रो—तेस्रो नम्बरमै पर्न थालेको छ ।’ उनकाअनुसार ठूलो आन्द्रा र पेट सम्बन्धी क्यान्सर तथ्यांक जोड्ने हो भने नेपालमा क्यान्सरको ¥याकिङमा पहिलो नम्बरमै यही क्यान्सर देखिन थालेको छ । विज्ञहरु यसका विविध कारणहरुमध्ये खानपान प्रमुख कारण रहेको बताउँछन् ।

क्यान्सरका बिरामीका लागि राज्यले करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । तर, क्यान्सर भएपछि मात्रै राज्यले उपचारका दायित्व लिने भएकाले जसमध्ये धेरै जनाले परीक्षणकै क्रममा ज्यान गुमाइरहेका हुन्छन् । क्यान्सर देखिएकाहरुको उपचारका लागि पनि अझ धेरै खर्च गर्नुपर्ने हुन्छ ।

विज्ञहरु कोलोन क्यान्सर नियन्त्रणका लागि सरकारी कदमहरु पर्याप्त नभएकाले यसमा समयमै नेतृत्वकर्ताकै स्तरबाट ध्यान जानुपर्नेमा जोड दिन्छन् । यसका लागि प्रधानमन्त्रीकै ध्यान आकर्षित हुनुपर्ने उनीहरुको मत छ । ‘धेरै नेपालीलाई कोलोन क्यान्सरबाट जोगाउने हो भने प्रधानमन्त्रीकै तहबाट पहल हुनुपर्छ,’ उनी भन्छन्, ‘कोलोन स्क्रिनिङलाई कसरी हुन्छ राज्यले निःशुल्क गर्नैपर्छ ।’ फाउण्डेसनमार्फत समुदायमा कोलोनोस्कोपी स्क्रिनिङ गरिरहेका डा. कश्यप अब सरकारले स्क्रिनिङमा ढिला गर्न नहुनेमा जोड दिन्छन् ।

विज्ञहरु निःशुल्क स्क्रिनिङलाई सरकारले अगाडि बढाउँदा यो क्यान्सरबाट हुने मृत्युदरलाई रोक्न सकिने धारणा राख्छन् । त्यसबाहेक सरकारले कोलोन क्यान्सर रोकथाम, जनचेतना अभिवृद्धिमा समेत ध्यान दिनुपर्ने उनीहरुको मत छ । सरकारले यसका लागि ग्यास्ट्रोको चिकित्सक बढाउने, तालिम दिने र यो के हो भन्नेबारे चेतना फैलन जरुरी छ । स्क्रीनिङको व्यवस्था अहिले मुख्य–मुख्य केन्द्रमा भएकाले नभएको ठाउँमा यसको व्यापक विस्तार गर्नुपर्ने देखिन्छ । राज्यले नै यसमा प्रमुख भूमिका निर्वाह गरेर ठूलो धनजनको क्षतिबाट जोगाउन सक्छ ।

ग्लोबोक्यानको तथ्यांक

किन बढ्दैछ कोलोरेक्टल क्यान्सर ?

नेपाल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्रशेखर अमात्य अहिले कोलोरेक्टल क्यान्सर अलि बढेको अनुभव सुनाउँछन् । ‘४०—४५ वर्षका युवा मान्छेहरुमै बढी देखिन थाल्यो,’ उनले भने, ‘जति कम उमेरमा देखियो त्यति आक्रामक र फैलिने हुन्छ । यसमा पर्याप्त अध्ययन—अनुसन्धान हुन जरुरी छ ।’

डा. अमात्यकाअनुसार यो क्यान्सर मुख्यतयाः बंशाणुगत र खानपिनमा आएको बदलावका कारण बढिरहेको हो । ‘२०—२५ वर्षमा हाम्रो खानपिनशैली पूर्णतयाः परिवर्तन भयो,’ डा. अमात्य भन्छन्, ‘पहिले घरमै पाकेको खान्थ्यौं । अहिले सबै बाहिरकै खान्छौं । यसले पनि यो क्यान्सर बढ्नमा सघाउ पु¥याइरहेको छ ।’ प्रारम्भिक स्टेजमा यो क्यान्सर पत्ता लागेमा निको हुने भएकाले स्क्रिनिङमा जोड दिनुपर्ने उनको मत छ ।

कोलोरेक्टल क्यान्सर नेपालमा पहिला कमै देखिन्थ्यो । मानिसहरु पोलेको कुराहरु कमै खाने चलन थियो । तर, पछिल्ला केही वर्षमा नेपाली जिब्रो स्वादिलो खोज्न थालेको छ । जसका कारण क्याफे, रेष्टुराँ र पार्टीहरुमा मात्रै होइन्, घरमा पनि पोलेको खानेकुराहरु खाने नेपालीहरु बढिरहेका छन् । नेपालीहरुको खानामा पहिले धेरै हरियो तरकारी, थालीहरुमा हाइ फाइबरयुक्त खानेकुराहरु हुन्थ्यो तर अहिले नेपालीको पेटमा बजारको फास्टफुड बढी पर्न थालेको छ । ‘पहिलेको खानपिन शैलीले क्यान्सर हुने जोखिम कम हुन्थ्यो,’ डा. कश्यप भन्छन्, ‘तर, तीब्र आधुनिकरण र सहरीकरणसँगै हाम्रो खानपानशैलीमा ब्यापक परिवर्तन आए । जसले हाम्रो जीवनमा सागपात र फाइबरयुक्त खानेकुराको मात्रा घट्दैं गयो र क्यान्सरको जोखिम बढ्दैं गयो ।’

डा. कश्यपको कुरासँग अर्का पेट तथा कलेजो रोग विशेषज्ञ डा. अवशेष भण्डारी पनि सहमत छन् । ‘पछिल्ला दिनहरुमा हाम्रो खानपिन, रहन—सहनमा परिवर्तन आयो । यसमा वातावरणीय कुराले पनि एकदमै प्रभाव पार्छ,’ उनी भन्छन्, ‘मासुको रोष्टेड र पोलेको आइटमको बढी प्रयोग, रक्सी र चुरोटको सेवन, मोटोपनाजस्ता कारणले कालोरेक्टल क्यान्सर बढिरहेको छ ।’ हेल्पिङ ह्याण्डस अस्पतालमा उनले पछिल्लो ८ दिनमा कोलोन क्यान्सरसँग मिल्ने लक्षण भएका ८ जना बिरामीको उपचार सुरु गरेका छन् ।

समयमै उपचार गरे कोलोरेक्टल क्यान्सरबाट बच्न सकिन्छ

विदेशतिर हरेक ४५ वर्षदेखि ५० वर्ष कटेपछि अनिवार्य स्क्रिनिङ (कोलोनोस्कोपी) गर्नुपर्ने नियम बनाइएको छ । यसका लागि राज्यकै अग्रसरतामा नागरिकलाई परीक्षणका लागि बोलाइन्छ । अवस्था सामान्य छ भने १०÷१२ वर्षपछि फेरि चेकअप गराउनपर्ने हुन्छ । तर, स्क्रिनिङ गर्दा पोलिप (मासुको सानो गाँठो जुन आन्द्रामा पलाउँछ) देखिएमा त्यसलाई हटाइन्छ । यही अवस्थामा पत्तामा लागेका शतप्रतिशत बिरामीलाई कोलोन क्यान्सर हुनबाट जोगाउन सकिने डा. भण्डारी बताउँछन् ।

सुरुमा पोलिपमा डिनाएम हुन्छ । जुन १० देखि १२ वर्षमा क्यान्सरमा परिणत हुन्छ । ‘त्यसकारण पोलिपको हामीले समयमा नै पहिचान गर्न सक्यौं । क्यान्सर हुनबाट बच्न सकिन्छ,’ डा. भण्डारी थप्छन्, ‘त्यसका लागि समयमै स्क्रिनिङ भएमा हामीले पोलिप काट्न सक्छौं । पोलिपलाई समयमै हटायो भने भविष्यमा हुन सक्ने ठूलो आन्द्राको क्यान्सरबाट बच्न सकिन्छ ।’

नेपालमा स्क्रिनिङ गर्नका लागि ६ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्छ । जुन नेपालीहरुको लागि महंगो हो । त्यसकारण प्रायःले कोलोनोस्कोपी खोज्दैनन् । कोलोनोस्कोपी गर्न सकिदैंन भने पनि दिसा परीक्षण गराउन सकिन्छ । ‘जुन अस्पतालहरुले २ सय जतिमै गरिदिन्छन्,’ डा. कश्यप भन्छन्, ‘त्यसमा ‘अकल्ट ब्लड’ हुन्छ, जुन आँखाले देख्न सकिदैन् । त्यो एउटा किटको माध्यमबाट देख्न सकिन्छ । त्यो गराउन सस्तो पर्छ । त्यो परीक्षणमा पोजेटिभ आयो भने स्क्रिनिङ गराउँदा झनै प्रभावकारी हुन्छ ।’

स्वास्थ्य सेवा विभागको नसर्ने रोग शाखा प्रमुख फणिन्द्र बराल अहिले सरकारी तवरबाट ब्रेस्ट क्यान्सर र सर्भाइल क्यान्सरका क्षेत्रमा पेन कार्यक्रम अगाडि बढाइरहेको बताउँछन् । पेट र कोलोन क्यान्सर सम्बन्धि पर्याप्त काम हुन नसकेको स्वीकार गर्दै उनी आगामी दिनमा रणनीतिक योजनासहित यसमा काम अगाडि बढाउने तयारीमा रहेको बताउँछन् । ‘हामी अब सबै क्यान्सरहरुबारे रणनीति योजना बनाएर काम गर्ने तयारीमा छौं,’ बरालले भने ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ