२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टस्वास्थ्यमन्त्री उपेन्द्र यादवको विदेश मोहः १४ महिनामा १५ देशको भ्रमण

स्वास्थ्यमन्त्री उपेन्द्र यादवको विदेश मोहः १४ महिनामा १५ देशको भ्रमण


काठमाडौं—समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अघिल्लो वर्ष साउनबाट उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाले । मन्त्रालय सम्हालेदेखि गत असार मसान्तसम्म क्याबिनेटबाट स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित २८ पटकमा ४२ वटा निर्णय भएका छन् ।

तर, अचम्म लाग्दो त के छ भने २८ पटकमा २० वटा निर्णय भने वैदेशिक भ्रमणमा सहभागिता सम्बन्धि रहेका छन् । जसमा १५ वटा मन्त्री यादवको विदेश भ्रमणसँग मात्रै सम्बन्धित छन् । मन्त्री यादवको १५ मध्ये १३ वटा विदेश भ्रमण क्याबिनेटबाट स्वीकृत भएको छ (पछिल्ला दुई भ्रमण भदौं र असोजमा भएका हुन्) । गत वर्षको २८ असोजमा टर्की जाने प्रस्ताव र यही वर्षको २ वैशाख युगान्डा जाने प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकृत गरेको थियो । यसरी उनी विदेश गएको हिसाब गर्ने हो भने सरदर महिनाका एक पटकभन्दा विदेश सयरमा निस्किएको देखिन्छ ।

भ्रमण अस्वीकृत हुनेमा स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल पनि छन् । उनका तीन वटा वैदेशिक भ्रमण मन्त्रिपरिषद्ले अस्वीकृत गरेको पाइएको छ । क्याबिनेटले स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको एउटा भ्रमण स्वीकृत गरेको छ भने एउटा अस्वीकृत गरेको छ । त्यस्तै, स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको विदेश भ्रमण सम्बन्धी दुई वटा प्रस्ताव क्याबिनेटमा पुगेकोमा एउटा स्वीकृत छ भने अर्को अस्वीकृत गरी मन्त्रालयस्तरीय निर्णय गरी अन्य कर्मचारीलाई पठाउने निर्णय गरिएको छ ।

पछिल्लो असारपछि मन्त्री यादव २ देश भ्रमण गरिसकेका छन् । १७ भदौमा उनी भारतको नयाँदिल्ली गए भने १ असोजदेखि दुई साता लामो अमेरिका भ्रमणमा निस्किएका छन् । गत वर्ष साउनबाट स्वास्थ्य मन्त्रालय समालेयता मन्त्री यादव चार पटक भारतको नयाँ दिल्ली पुगेका छन् । त्यसैगरी स्वीट्जरल्याण्ड दुई पटक गइसके भने अमेरिका पनि यो उनको दोस्रो भ्रमण हो । यादव बेइजिङ, इथोपिया, काजकास्तान, थाइल्याण्ड, भियतनाम, बेलायत र कतार गइसकेका छन् ।

मन्त्रिपरिषद्बाट निर्णय नै गराएर १५ पटक विदेश गएका यादवको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक तथ्यांकमा भने तीन पटक मात्र विदेश भ्रमणमा गएको उल्लेख छ ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ