२०७८ माघ १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टस्वास्थ्य मन्त्रालयका पर्दा पछाडिका ४ ‘कर्मी मौरी’

स्वास्थ्य मन्त्रालयका पर्दा पछाडिका ४ ‘कर्मी मौरी’


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवाग्राहीहरुको काम अड्काउने, ढिलो काम गर्ने र नियमित प्रणालीमा नभएको सदैव आलोचित हुन्छ । त्यसको दोष कर्मचारीलाई जाने गरेको छ । केही कर्मचारीहरुको शैली पनि त्यस्तै देखिन्छ । तर, मन्त्रालयमै कतिपय कर्मचारीहरु छन्, जो आफ्नो कामलाई निकै माया गर्छन् । आफूले लिएको जिम्मेवारी समयमा पूरा गर्छन्, जसले गर्दा सिंगो मन्त्रालयले नै जस पाउने गर्छ ।

मन्त्रालयमा रहेका १० औं तहका स्वास्थ्यकर्मीले नीतिको प्रारम्भिक मस्यौदा तयार गर्नेदेखि मन्त्रालयले गरेका निर्णयलाई कार्यन्वयन गराउनेसम्मको जिम्मेवारी हुन्छ । राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन नेतृत्वको चित्त बुझाउनेदेखि जनताको भावनासम्मलाई स्वास्थ्यका नीति नियमको मस्यौदा तयार गर्नु सामान्य कुरा होइन् । त्यसमा पनि सही समयमा सही नीति बनाउनु अर्को चुनौतीपूर्ण काम हो ।

यदि समयमा सही नीति तर्जुमा गर्न सकिएन भने त्यसले मन्त्रालय मात्र नभएर तीन करोड जनताको स्वास्थ्यमा नै प्रभाव पार्न सक्छ । यस्तो संवेदनशील ठाउँमा रहेर बाहिर नदेखिने तर कर्मी मौरीकोजस्तो तोकेको जिम्मेवारीलाई बहन गर्ने र त्यसलाई समयमै सम्पादन गर्ने चार जना उर्जावान स्वास्थ्यकर्मीका विषयमा चर्चा गरिएको छ ।

यशोदा अर्याल

वि.सं. २०७२ सालमा स्वास्थ्य सेवाको नवौं तहमा प्रवेश गरेकी हुन्,—यशोदा अर्याल । त्यसपछि उनी झण्डै डेढ वर्ष भक्तपुर जिल्लाको जनस्वास्थ्यमा काम गरिन् । ९ औं तहमै हुँदा उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइन् । त्यसको लगतै ६ महिनापछि १० औं तहमा बढुवा भइन् । १० औं तहमा रहँदा स्वास्थ्य मन्त्रालयको विकास समन्वय शाखामा रहेर उनले कोभिड—१९ महामारीका बेला उत्कृष्ट काम गरिन् ।

भर्खरै २१ मंसिरमा मात्रै ११ औं तहमा नाम निकालेकी उनको पोष्टिङ भइसकेको छैन । १० औं तहमा रहँदा अन्तर्राष्ट्रिय सहयोग र अन्तर मन्त्रालय समन्वय विशेष काम हुने समन्वय शाखामा कोभिड—१९ को समयमा काम गर्नु निकै चुनौतीपूर्ण हो । तर, मन्त्री, सचिवदेखि अन्य मन्त्रालयका अधिकारीहरुको समेत भावनालाई बुझेर उनले कुशलतापूर्वक नीति निर्माणको फ्रेमवर्क बनाउनेदेखि माथिल्लो तहबाट भएका निर्णयलाई कार्यन्वयन गर्न भूमिका खेलिन् ।

पाल्पामा मदन पोखरामा जन्मिएकी यशोदाले मन्त्रालयमा आफूअन्तर्गतको शाखाले अर्थ, परराष्ट्र मन्त्रालयसँग समन्वयको काम बढी गर्ने हुँदा दुईपक्षीय र बहुपक्षीय सम्झौताका काम बढी हुने बताइन् । ‘अन्य समयभन्दा कोभिड—१९ को समयमा समन्वयको पाटो बढी संवेदनशील भयो,’ उनी भन्छिन्, ‘सो समय मेरो लागि महत्वपूर्ण सिकाइका साथै सक्दो काम देखाउने अवसर बन्यो ।’

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट पिसिएल नर्सिङ हुँदै त्यहीबाट एपीएच सकेकी उनले सरकारी सेवामा प्रवेश गर्नुअघि धेरै एनजिओ, आईएनजिओमा काम गरेकी थिइन् । उनको जागिरे जीवन भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट सुरु भएको हो ।

स्वास्थ्य सेवालाई नतिजामुखी बनाउन सिष्टमभित्र आएर नै काम गर्नुपर्छ भन्ने बुझाइका कारण सरकारी सेवामा प्रवेश गरेको उनको भनाइ छ । ‘एनजिओ, आईजिओमा काम गरेपनि वा सरकारी सेवामा काम गरेपनि नेपाली जनता र नेपालकै लागि हो,’ उनले भनिन्, ‘तर, सिष्टमभित्र आएरै काम गर्दा बढी प्रभावकारी काम गर्न सकिन्छ ।’

डा. गुणनिधी शर्मा

बाग्लुङको दुर्गम ग्रामीण वस्ती ग्वालीचौर—८ मा जन्मिएका डा. गुणनिधी शर्मा स्वास्थ्यको सबैभन्दा महत्वपूर्ण र दीर्घकालीन असर पार्ने नीति तर्जुमा गर्ने निकायका कार्यरत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कुनै पनि नीतिको खेस्रा तयार पार्नका लागि पहिलो प्राथमिकतामा पर्ने व्यक्ति शर्मा नै हुन् ।

यसका मुख्य दुई कारण छन् । पहिलो उनी नीति बनाउने टेक्नीकसँग जानकार छन् र दोस्रो परिपक्व नभएर कुनै पनि कुरालाई सार्वजनिक गर्दैनन् । मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा विगत ३ वर्षदेखि सक्रिय वरिष्ठ स्वास्थ्य प्रशासक डा. शर्मा ७ वर्षअघि स्वास्थ्य सेवामा प्रवेश गरेका हुन् ।

वि.सं. २०७२ सालमा नवौं तहमा नाम निकालेका उनको सुरुको पोष्टिङमा स्वासथ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभाग भएको थियो । दशौं तहमा बढुवा भएपछि भने उनी एक वर्ष रसुवाको जिल्ला जनस्वास्थ्य प्रमुख भएर काम गरे । त्यसयता उनी आफ्नो विदेश अध्ययनका क्रममा र विभिन्न अन्तर्राष्ट्रिय निकायमा बटुलेको ज्ञानलाई नीति योजना महाशाखामा रहेर देशको नीति निर्माणमा खर्चिरहेका छन् । सुरुमा जिम्मेवारीका रुपमा नीति निर्माणमा सक्रिय रहेका उनलाई अहिले त यही विषयमा नै रुचि लाग्न थालेको छ । ‘जिम्मेवारी भएपछि काम गरियो, अहिले इन्टेष्ट पनि भइसक्यो,’ उनी सुनाउँछन्, ‘ठूला—ठूला दस्तावेजहरुको काम गरियो ।’

सरकारी जागिरमा प्रवेश गर्नुअघि उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) एक वर्ष काम गरे । त्यसपछि अन्तर्राष्ट्रिय आप्रवासी संगठनमा पाँच वर्ष बिताए । लोभलाग्दो र कुस्त कमाइ हुने जागिर छाडेर उनी सरकारी सेवामा किन आए त ? भन्छन्, ‘हामी भुइमान्छे हो । दुर्गम ठाउँबाट आएकाले देशको पीर मर्का राम्ररी बुझेका छौं । देशलाई योगदान गर्न, आफ्नो तहबाट देश परिवर्तनका लागि काम गर्न रुचि भएकाले नै राष्ट्रेवामा आएको हुँ,’ उनले भने ।

वि.सं. २०४६ गाउँकै स्कुलबाट एसएलसी पास गरेका डा. शर्माले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्था (आईओएम)बाट वि.सं. २०६१ सालमा एमबीबीएस उत्तीर्ण गरेका हुन् । उनले सन् २०१२ मा नेदरल्याण्ड्सबाट एमपीएच गरेका छन् ।

भीम सापकोटा

वि.सं. २०५९ सालमा हेल्थ असिस्टेन्ट (एचए)बाट जागिर सुरु गरेका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीम सापकोटा अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रदेश तथा स्थानीय तह समन्वय शाखा प्रमुखका रुपमा कार्यरत छन् । मुस्ताङबाट जागिरे जीवन सुरु गरेका सापकोटा वि.सं. २०७२ सालमा सातौं तहमा नाम निकालेपछि स्वास्थ्य सेवा विभागमा रहेर काम गरे ।

त्यसको दुई वर्षपछि वि.सं. २०७४ मा खुलातर्फबाट नवौं तहमा नाम निकालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत छन् । बीचको केही समय भने उनी पूर्वी नवलपरासी गएर पनि काम गरेका थिए । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमपीएच गरेका उनी अहिले जर्मनीको लडवीग म्याक्सीमिलियन युनिभर्सिटी, म्युनिकबाट इन्टरनेशल हेल्थ एण्ड मेडिकल रिसर्चमा पिएचडी गर्दैछन् ।

कोभिड—१९ को समयमा पर्दा पछाडि बसेर मन्त्रालयमा महत्वपूर्ण कार्यसम्पादन गर्नेहरुको सूचीमा उनको नाम पनि अग्रस्थानमा आउँछ । विशेषगरी, वैदेशिक, दातृ निकाय र दाताबाट कोभिडको समयमा आएको सहयोगलाई सही समयमा सही स्थानमा पु¥याउन उनले मन्त्रालय बसेर ‘पुल’को काम गरे । सही समयमा सही निर्णय लिने, आफूभन्दा माथिकालाई सुझाव दिने र तल्लो तहकासँग नजिक रहेर सहकार्य गरेका कारण कोभिडको समयमा उनले प्रशंसित रह्यो ।

बाग्लुङमा जन्मिएका सापकोटाको त्यही समन्वयात्मक क्षमतालाई हेरेर नै हुनुपर्छ स्वास्थ्य सचिव भएपछि डा. रोशन पोखरेलले मन्त्रालयका हरेक निर्णय र फाइल हेर्न उनमा भर पर्छन् । ‘कोभिडको समयमा हामी आफ्नो रुटिङमा भएको काम ५ बजेपछि गथ्र्यौ,’ उनी सुनाउँछन्, ‘घरबाट एउटा योजना बनाएर आयो, दिनभरि नसोचेका कामहरु आइलाग्थे ।’

लामो समय मन्त्रालय बाहिर बसेर काम गरेका कारण उनको स्वास्थ्यका धेरै कर्मचारी निकट सम्बन्ध छ । त्यसका विभिन्न फाइदाहरु त छन् कतिपय बेफाइदा समेत रहेको अनुभव उनको छ । ‘मन्त्रालयमा बसेपछि साथीहरु यिनीहरुसँग पावर हुन्छ, चाहेमा सबै काम गर्न सक्छन् भन्ने ठान्छन्,’ उनी भन्छन्, ‘तर, हामीले नीति नियममा रहेर काम गर्ने हो । त्यसैले साथीहरुले सोचेका सबै कामहरु हामीले गर्न सक्दैनौं ।’

डा. समीरकुमार अधिकारी

स्वास्थ्य मन्त्रालय सह—प्रवक्ता डा. समिरकुमार अधिकारीको अर्को महत्वपूर्ण जिम्मेवारी हो—आपत्तकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुख । कोभिड—१९ महामारीका समयमा स्वास्थ्य मन्त्रालयको सबैभन्दा व्यस्त हुने केन्द्र यही हो । आपत्तकालीन नीति बनाउनेदेखि देशभरिकै स्वास्थ्य प्रणालीको सञ्चालन गर्ने एउटै थलो एचईओसी बन्यो ।

कोभिड—१९ को समयमा जति वटा नीति नियम बने ती अधिकांशको सुरुवाती फ्रेमवर्क यही केन्द्रमार्फत नै बनेका हुन् । एईओसीका प्रमुख डा. अधिकारी भन्छन्, ‘मन्त्रालयले यति बढी नीतिगत काम न पहिले गरेको थियो न भविष्यमा नै गर्नेछ ।’ कोभिडको समयमा अधिकारी न अफिस आउने निश्चित समय थियो, न घर फर्किने नै ।

नीति बनाउँदैं गर्दा आफूभन्दा माथिका अधिकारीदेखि मन्त्रीसम्मको भावना र ग्राउण्डको आवश्यकता बुझ्नुपर्ने चुनौती उनलाई थियो । ‘मैले जिन्दगीमा जति पढें, त्योभन्दा बढी कोभिडका दुई वर्षमा पढ्ने र बुझ्ने मौका पाए,’ उनी भन्छन्, ‘यो मेरा लागि ठूलो अवसर बन्यो ।’ स्वास्थ्य मन्त्रालयमा शाखा प्रमुखको नियमित सेड्युल हुन्छ तर यो केन्द्रमा सेड्युलभन्दा बाहिरका धेरै काम गर्नुपर्छ । केन्द्रको नेतृत्व त एकातिर छदैं थियो डा. अधिकारीले अर्कोतर्फ मिडिया र पत्रकारहरुलाई सूचना प्रवाहित गर्ने भूमिका पनि निभाए ।

आयुर्वेद चिकित्सकका रुपमा वि.सं. २०६६ सालमा स्वास्थ्य सेवा प्रवेश गरेका डा. अधिकारी आयुर्वेद विभाग, सोलुखुम्बु र रसुवा गएर पनि काम गरे । वि.सं. २०७४ सालमा स्वास्थ्य प्रशासक नाम निकालेका उनी स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य महाशाखा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मा रहेर काम गरे । वि.सं. २०७६ सालमा १० औं तहमा बढुवा भएसँगै उनी स्वास्थ्य मन्त्रालयमा कार्यरत छन् ।

त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पसबाट बिएमएस गरेका हुन्, उनले । चिकित्साशास्त्र अध्ययन संस्थानबाट उनले एमपीएच गरेका छन् ।


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #डा. गुणनिधी शर्मा, #डा. समिरकुमार अधिकारी, #भीम सापकोटा, #यशोदा अर्याल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)