२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टनेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने

नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने


काठमाडौं—नेपालमा स्वास्थ्य संस्थाहरुमा ५६ हजार ५० स्वास्थ्यकर्मी अपुग रहेको पाइएको छ । चिकित्सा शिक्षा आयोगले गरेको एक अध्ययनअनुसार अहिले देशभरका स्वास्थ्य संस्थाहरुमा ५६ हजार ५० स्वास्थ्यकर्मीको संख्या अपुग रहेको खुलेको छ ।

आयोगले आर्थिक वर्ष २०७७/०७८ लाई आधारमा मानेर चिकित्सा शिक्षा अध्ययन गराउने संस्था, विशिष्टीकृत अस्पतालदेखि आधारभूत अस्पताल र निजी अस्पतालसम्म आवश्यक जनशक्तिको अध्ययन गरेको हो । आयोगले उक्त अध्ययनलाई ‘नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९—२०८७)’ नाम दिइएको छ ।

अध्ययनअनुसार नेपालमा सबैभन्दा बढी एमबीबीएस चिकित्सक २९०४ जना कम रहेका छन् । यसैगरी, विशेषज्ञ चिकित्सक ५ हजार ७७९ जना कम छन् । अपुग जनशक्ति पूर्ति गर्न औसतमा एमबीबीएसतर्फ ३.०८ प्रतिशत र कन्सल्ट्यान्टतर्फ ६.४१ प्रतिशत वृद्धि गर्नुपर्ने अध्ययनमा औल्याइएको छ ।

को नर्सिङ जनशक्ति (स्नातकोत्तर तह) २४२, नर्सिङ जनशक्ति (स्नातक तह) ६९८ जना र नर्सिङ तथा प्रसुति सम्बन्धि सहायक (प्रमाणपत्र) २ हजार ९२५ जना अपुग छन् । नर्सिङ स्नातकोत्तरतर्फ ११.९५ प्रतिशत, नर्सिङ सहायक स्नातकतर्फ ४.९७ प्रतिशत र नर्सिङ तथा प्रसुति सम्बन्धि सहायक प्रमाणपत्र तहतर्फ १.३१ प्रतिशतले जनशक्ति उत्पादनमा औसत वृद्धि गर्नुपर्ने निष्कर्ष अध्ययनको छ ।

सबैभन्दा बढी परम्परागत तथा वैकल्पिक चिकित्सा प्रदान गर्ने (स्नातकोत्तर तह)को जनशक्तिको अभाव देखिएको छ । २२५ जना मात्रै अहिले कार्यरत रहेको यो जनशक्तिमा १६७४ जनशक्ति अपुग छ । परम्परागत तथा सहायक चिकित्सा प्राविधिक (स्नातक)तर्फ ५४२ जनशक्ति अपुग रहेको अध्ययनले देखाएको छ । परम्परागत तथा वैकल्पिक चिकित्सा प्रदान गर्ने स्नातकोत्तरतर्फको अपुग जनशक्ति वृद्धि गर्न औसत २४.९२ प्रतिशत वृद्धिदर हुनुपर्ने र स्नातक तहको जनशक्तिमा ४.३१ प्रतिशत औसत वृद्धि गर्नुपर्ने देखिन्छ ।

अध्ययनका संयोजक प्रा. डा. रमेश आचार्य नेपालमा परम्परागत तथा वैकल्पिक चिकित्सा प्रदान गर्ने स्नातकोत्तर तहको जनशक्तिको चरम अभाव रहेको बताउँछन् । ‘परम्परागत तथा वैकल्पिक चिकित्सा प्रदान गर्ने स्नातकोत्तरको जनशक्तिको सबैभन्दा बढी अभाव देखिएको छ,’ उनी भन्छन्, ‘जसका कारण आयुर्वेद तथा प्राकृतिक चिकित्सा अध्यापन गराउन मेडिकल कलेज पनि धरापमा परेका छन् ।’

यस्तै, अन्य स्वास्थ्य सम्बद्ध पेशा (स्नातकोत्तर)मा १०६८, अन्य स्वास्थ्य सम्बद्ध पेशा (स्नातक)मा ३८९२ र अन्य स्वास्थ्य सम्बद्ध सहायक (प्रमाणपत्र तह र तालिम) ३६३२६ जनशक्ति कम रहेको छ । यी स्वास्थ्यकमीहरुमा क्रमसः ६.८८ प्रतिशत, ३.०१ प्रतिशत र ५.९२ प्रतिशतले जनशक्ति उत्पादन वृद्धि गर्नुपर्ने देखिएको छ ।

स्वास्थ्यकर्मीबाहेक स्वास्थ्य संस्था तथा अस्पतालमा काम गर्ने श्रेणीबिहीन कार्यलय सहयोगी, सरसफाइ कर्मचारी, सवारी चालक आदि थप्ने हो भने ७ हजार १७४ जनशक्ति थप अपुग देखिन्छ । अपुग जनशक्ति पूर्ति गर्न औसतमा ३.६० प्रतिशतले उत्पादन वृद्धिदर कायम गर्नुपर्ने आवश्यकता छ ।

डा. आचार्यकाअनुसार यो अध्ययन स्वास्थ्य जनशक्ति उत्पादनको आवश्यकतालाई केन्द्रीत गरेर गरिएको हो । ‘यो अध्ययन उत्पादनको आवश्यकतालाई फोकस गरेर गरिएको हो,’ उनी भन्छन्, ‘मेडिकल कलेजमा उत्पादन हुने जनशक्ति, विदेशिने जनशक्तिलगायतका कुराहरुलाई आँकलन अध्ययनमा गरिएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धि राष्ट्रिय रणनीति २०७७—०७८ देखि २०८७—०८८’ मा आवश्यक स्वास्थ्य जनशक्तिबारे चिकित्सा शिक्षा आयोगले अध्ययन गर्ने उल्लेख गरेको थियो । सोही रणनीतिमा भएको व्यवस्था बमोजिम आयोगले ५, १०, १५, २५, ५०, १०० र ५०० शैय्याका अस्पताल, विशिष्टीकृत अस्पताललगायतको अर्गयानोग्राम, मिनिमम सर्विस स्ट्याण्डर्डलगायतलाई आधार बनाएर भविष्यमा खुल्ने स्वास्थ्य संस्था, थपिने सेवालगायतलाई समेत ध्यान दिएर आयोगले अध्ययन गरेको हो ।

आयोगको अध्ययनअनुसार अहिले नेपालमा १ लाख ७८ हजार ३०९ स्वास्थ्यकर्मी कार्यरत छन् । वि.सं. २०८७/८८ सम्म स्वास्थ्यकर्मीको संख्या २ लाख ५७ हजार ९१ पुग्ने प्रक्षेपण गरिएको छ । त्यसमा स्वास्थ्य संस्थाहरुमा कार्यरत श्रेणीबिहीन कार्यलय सहयोगी, सरसफाइ कर्मचारी, सवारी चालक आदि जोड्दा अहिले स्वास्थ्य जनशक्ति २ लाख ११ हजार ९७७ रहेकोमा २०८७/८८ सम्म यो संख्या ३ लाख १ हजार ८९५ पुग्ने प्रक्षेपण छ ।

स्वास्थ्यकर्मीको पद, नाममा रहेको अन्यौलता भने आईएलओको स्ट्याण्डर्डलाई आधार मानेर हल गरिएको डा. आचार्यले जानकारी दिए ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ