२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टगाउँमा प्रकोपको रूपमा फैलिदैंछ हाइड्रोसील, धेरैलाई थाहा छैन निःशुल्क हुन्छ शल्यक्रिया

गाउँमा प्रकोपको रूपमा फैलिदैंछ हाइड्रोसील, धेरैलाई थाहा छैन निःशुल्क हुन्छ शल्यक्रिया

मोरङमा १ हजार ५८७ जनामा हाइड्रोसील, सबैभन्दा बढी सुनवर्षी नगपालिकामा ३३८ जना बिरामी


 कोशी अस्पतालमा वर्षमा १ सय जनाको उपचार गर्ने लक्ष्य तर डाइड्रोसीलका बिरामी १५ सय बढी

विराटनगर—मोरङको सुनवर्षी नगरपालिका—३ का ४५ वर्षीय हरि ऋषिदेव (नाम परिवर्तन)को अण्डकोष वरिपरी पानी भरिएर आकार ठूलो भएको वर्षौ भएको छ । अण्डकोष वरिपरी पानी भरिएर ठूलो हुने रोगलाई मेडिकल भाषामा ‘हाइड्रोसील’ भनिन्छ ।

हाइड्रोसील पुरुषको अण्डकोषको बाहिरी भागमा पानी जम्मा हुनु हो । हरिको अण्डकोषको आकार पनि बढ्दै गएको छ । हाइड्रोसीलको शल्यक्रिया नेपाल सरकारले सरकारी हस्पिटलमा निःशुल्क गर्ने गरेको छ । तर, यो कुरा हरिलाई थाहा छैन । ‘अण्डकोषको आकार बढदै गएकोले हिडडुल गर्न असहज भइरहेको,’ उनले भने, ‘अहिले अण्डकोषको आकार दिनप्रतिदिन बढदैंछ ।’

हरि त प्रतिनिधी पात्रमात्रै हुन्, उनको गाउँमा हाइड्रोसील हुने उनी एक्लो होइनन् । हरि बसोवास गर्ने सुनवर्षी नगरपालिकामा मात्र ३ सय ३८ जनालाई हाइड्रोसील देखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । विगतमा फाट्टफुट्ट रुपमा देखिएको यो रोग अहिले सुनवर्षीसहित मोरङको दक्षिण क्षेत्रमा प्रकोपकै रूपमा फैलिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

मोरङको १७ स्थानीय तहमा १ हजार ५८७ जनामध्ये सबैभन्दा बढी सुनवर्षी नगरपालिकाभित्र हाइड्रोसील रोगका बिरामी बढी भेटिएका छन् । स्वास्थ्य कार्यालय मोरङले डा. विशाल देव र डा. कमलेश यादवको टोलीलाई हाइड्रोसील रोगको परीक्षणको लागि खटाएको थियो । मोरङको १७ वटा स्थानीय तहमा पुगेर गरेको परीक्षणको क्रममा सबैभन्दा बढी सुनवर्षी नगरपालिका भित्रका पुरुषहरुमा हाइड्रोसील रोग देखिएको कार्यालय प्रमुख डा. मेहताले बताए ।

सुनवर्षीपछि दोस्रोमा रतुवामाई नगरपालिका भित्र हाइड्रोसीलका बिरामी छन् । रतुवामाई नगरपालिका भित्र १५९ जनामा हाइड्रोसील रोग देखिएको डा. मेहता बताउँछन् । यसैगरी, तेस्रोमा धनपालथान गाउँपालिका भित्र हाइड्रोसील रोगका बिरामी देखिएको छ । धनपालथानमा १५८ जनामा बिरामी छन् । चौथोमा जहँदा गाउँपालिका भित्र १५७ जनामा हाइड्रोसील देखिएको छ । यसैगरी, बुढीगंगा गाउपालिकामा १४९, उर्लावारी नगरपालिकामा ३४, मिक्लाजुङ्ग गाउँपालिकामा २१, कटहरी गाउँपालिकामा ६८, ग्रामथानमा ३८, सुन्दरहरैचा नगरपालिमा १०६, पथरीशनिश्चरे नगरपालिकामा ४३, केरावारी गाउँपालिकामा ३६ , लेटाङ नगरपालिकामा ५१ जनामा हाइड्रोसील रोगको पहिचान भएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । कोशी प्रदेशको राजधानी रहेको विराटनगर महानगरपालिकामा ४९, रंगेली नगरपालिकामा ९६ जनामा हाइड्रोसील रोग देखिएको छ ।

‘मोरङको ग्रामीण र दक्षिण क्षेत्रमा धेरै हाइड्रोसील रोगका बिरामी देखिएका छन्,’ स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. मेहताले थपे, ‘सहरी क्षेत्रमाभन्दा पनि ग्रामीण क्षेत्र र मोरङको दक्षिण क्षेत्रमा हाइड्रोसील रोगका बिरामी धेरै देखिए ।’

लामखुट्टेको टोकाइबाट हाइड्रोसील रोग हुने गरेको उनले बताए । ‘सचेतनाको कमी, सावधानी नअपनाएको कारणले हाइड्रोसील रोगका बिरामी मोरङको ग्रामीण क्षेत्रहरुमा बढदो रहेका छन्,’ उनले भने, ‘हाइड्रोसीलको शल्यक्रिया गरे यो रोग निको हुन्छ ।’ ४० वर्षदेखि माथि उमेरका पुरुषमा हाइड्रोसील रोग बढी देखिएको उनले सुनाए ।

‘हामीले १७ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई तालिम दिएका थियौं । उहाँहरु तालिम लिएपछि गाउँ–गाउँमा जाँदा हाइड्रोसील भएका बिरामी भेटेका थिए पछि चिकित्सकसहितको टोली गएर परीक्षण गर्दा हाइड्रोसील रोग भएको पत्ता लागेको हो,’ उनले भने, ‘हाइड्रोसिल एक वा दुवै अण्डकोषमा हुन सक्छ । जम्मा भएको पानीले गर्दा अण्डकोष सुन्निएको वा ठूलो भएको जस्तो देखिन्छ । हाइड्रोसीलले कहिले दुखाइ पैदा गराउँदैन् तर अण्डकोषको आकार भने ठूलो बनाउँछ ।’ नेपालमा हाइड्रोसीलका बिरामी करिब एक लाख रहेको अनुमान छ ।

निःशुल्क हुन्छ शल्यक्रिया

आर्थिक वर्ष २०७९/०८० मा ६५ जनाको लक्ष्य लिएकोमा ८४ जना हाइड्रोसील भएका बिरामीको शल्यक्रिया गरिएको कोशी अस्पतालका मेडिकल अधिकृत गोविन्द कटुवालले बताए । चालु आर्थिक वर्षमा हाइड्रोसीलका एक सय जना बिरामीको शल्यक्रिया गरिने लक्ष्य रहेको उनले बताए ।

नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । उक्त कार्यक्रमअन्तर्गत नै कोशीले विगत १४ वर्षदेखि निःशुल्क सेवा सुरु गरेको हो ।

सरकारले प्रत्येक अस्पताललाई एक जना बिरामीको शल्यक्रिया गरेबापत ५ हजार ५०० रुपैयाँ उपलब्ध गराउँदैं आएको छ । उक्त रकम बिरामीको शल्यक्रिया र औषधीका लागि पुग्नेछ । तीन वर्षमा कोशीमा १५२ जना हाइड्रोसिलका बिरामीको शल्यक्रिया भएको कटुवालले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८ मा १६ जनाको गरिएको छ । यस्तै २०७८/०७९ मा ६२ जनाको हाइड्रोसीलको शल्यक्रिया गरिएको छ ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ