२०७८ असोज ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपकिड्नी र ट्रान्सप्लान्ट प्याथालोजिष्टले खोले ५ करोड लगानीमा मल्टी सुपरस्पेशसियालिटी ल्याब

किड्नी र ट्रान्सप्लान्ट प्याथालोजिष्टले खोले ५ करोड लगानीमा मल्टी सुपरस्पेशसियालिटी ल्याब


डा. निराजन मैनाली क्यानडामा ट्रान्सप्लान्ट प्याथालोजीमा फेलोसीप गर्न गएका थिए । त्यही क्रममा छुट्टीमा दुई हप्ताका लागि नेपाल फर्किरहेका थिए । घर पुग्नुभन्दा अघिल्लो दिन नै उनका बुवा दुई पटक बेहोस भए । उनले बाटैबाट विभिन्न टेष्टहरु गर्न सुझाव दिए । परीक्षणका क्रममा कम्प्लिट हार्ट ब्लक देखियो । पुगेकै दिन बुवालाई अस्पताल लगेर उपचार प्रक्रिया अगाडि बढाइयो । उनको मुटुमा पेशमेकर राखियो ।

यो घटनाले उनको जीवनमा देशमै केही गर्नका लागि उर्जा भ¥यो । यही घटनाबाट डा. निराजनको विदेश पढ्ने र दौड्ने मोह पनि टुट्यो । सन् २०१८ मा फेलोसीप गर्न गएका उनी सन् २०१९ को नोभेम्बरमा नेपाल फर्किए । डिसेम्बरदेखि कोभिड—१९ महामारी नै सुरु भइहाल्यो । ‘दौडदा डौडदै बुवाको हर्ट फेलयर भएपछि अब रोकिनुपर्छ भन्ने लाग्यो,’ उनले सुनाए, ‘२४ वर्ष पढाइ र कामको शिलशिलाको दौड अन्त्य गरे ।’ लगानी गर्न उनलाई सुरुमा डर लागिरहेको थियो । तर, उनका बुवा पनि विजनेशम्यान भएकाले उनलाई रिस्क लिन हौस्याए । डा. निराजन सुपरस्पेशसियालिटी ल्याब खोल्ने योजना अगाडि बढाए ।

सुरुमा उनको विराटनगरमै सुपरस्पेशसियालिटी ल्याब खोल्ने योजना बनाएका थिए । तर, दक्ष जनशक्ति, टेक्नीकल सपोर्टलगायतका कारण त्यहाँ सम्भव हुने नदेखेपछि काठमाडौं रोजे । त्यसका लागि कोभिड—१९ का कारण सुरु भएको बन्दाबन्दीको फाइदा उठाउँदैं उनले ब्यापक फोन सम्पर्क बढाए । एउटा सुपरस्पेशसियालिटी प्याथालोजी सेवा दिनसक्के टिम खडा गरे । जसमा ८ जना विशेषज्ञ प्याथालोजिष्टहरु छन् । सिनियर कन्सल्ट्यान्ट तथा गाइनेको प्याथालोजिष्ट डा. बन्दना सत्याल, क्लिनिकल एण्ड साइटोप्याथालोजिष्ट डा. कृचा पाडे, ग्यास्ट्रोइन्टेस्टीनल प्याथालोजिष्ट डा. शोभा कुँवर, अंको प्याथालोजिष्ट डा. बन्दना जोशी, हेमाटोप्याथालोजिष्ट डा. प्रतिभा विष्ट, डर्माटोप्याथालोजिष्ट डा. सुजन श्रेष्ठ, माइक्रोबायोलोजिष्ट डा. सुभ श्रेष्ठसहितको सशक्त टिम बन्यो ।

गत माघबाट ल्याब योजना, उपकरण खरिद, अफिस लोकेसनदेखि अफिस सेटअपसम्मका कामहरु अगाडि बढाए । लाजिम्पाटको जापानिज राजदूतावासको अपोजिटमा प्राइम लोकेसनमै ठाउँ पाएपछि उनी हौस्सिएर काम गर्न थाले । नाम राखे—‘प्रथम प्याथालोजी ल्याबरोटरी प्रा.लि.’ । स्लोगन बनाइयो—‘मल्टी सुपर स्पेशसियालिटी ल्याब’ । ‘विशेषज्ञले भनेअनुसार हामीले आवश्यक पूर्वाधारहरु पनि थप्दैं गयौं,’ उनले भने, ‘किड्नीको परीक्षणका लागि आवश्यक उपकरण मैले भने अरु विशेषज्ञहरुले आ—आफ्नो क्षेत्रको आवश्यक पर्ने पूर्वाधारहरु माग्नुभयो । त्यहीअनुसार हामीले उपकरणको व्यवस्थापन गरेका छौं ।’

असारमा अफिस सेटअप झण्डै सकियो । कार्यलय र उपकरणसहित मल्टी सुपरस्पेशसियालिटी ल्याब निर्माणमा झण्डै ५ करोड बढी खर्च भइसकेको डा. निराजन बताउँछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले साउनको पहिलो हप्तामा भ्रमण गरेपछि प्रथम ल्याब सञ्चालनमा आयो । अहिले ल्याबमा किड्नी, क्यान्सर, फ्रोजन सेक्सन, छाला, रगत, गाइने, आन्द्रालगायतका विशेषज्ञ प्याथालोजी सेवा सुरु भएका छन् । जसमध्ये केही जाँचहरु नेपालमै नहुने पनि छन् । ‘सबैको छुट्टा छुट्टै विशेषज्ञ हुनुहुन्छ,’ डा. निराजन भन्छन् । प्रयोगशालाले निकै छोटो समयमै रिपोर्ट दिने गरेको उनले बताए । ‘कफी खाएर सक्ने बितिकै हामी रिपोर्ट दिन्छौं,’ उनले भने ।

डा. निराजन आफूभन्दा पहिले दुई जना नेपाली चिकित्सकले ट्रान्सप्लान्ट प्याथालोजीमा फेलोसीप गरेको भएपनि सुपरस्पेशसियालिटी ल्याबको अभाव रहेको सुनाउँछन् । ‘दुई—दूई एमएलका पाँच वटा रिएजेन्टको ६ लाख आवश्यक पर्छ,’ उनी भन्छन्, ‘त्यसैले यसमा रिस्क पनि विग छ । खासै मार्जिन पनि छैन ।’ उनले नेपालमै सुरु गरेको केही टेष्टहरु भारतमा गर्दा ७ हजार रुपैयाँ पर्छ । तर, उनी केही समय यसलाई निःशुल्क दिने बताउँछन् ।

क्रायोस्टो मेसिन फ्रोजन सेक्सन पनि सुरु गरेको डा. निराजनले बताए । ‘त्यो मेसिन नेपालमा प्राइभेट ल्याबमा छैन्,’ उनले भने, ‘खास यो मेसिन हुनुपर्ने अप्रेशन थिएटरकै बाहिर हो । क्यान्सरको अप्रेशन गर्दा जतिसम्म क्यान्सर फैलिएको छ, त्यतिसम्मको मासु काट्दैं फाल्ने हो । नत्र फेरि फैलिने डर हुन्छ ।’ त्रिवि शिक्षण र वीरबाट नजिकै भएकाले यसको लाभ ती अस्पतालका सर्जनहरुले लिने बताए ।

डा. निराजन प्रथम ल्याबले तीन वटा कुरालाई मुख्य प्राथमिकता दिएको बताउँछन् । जसमा क्वालिटी, सर्विस र प्राइसलाई उनले फोकस गरेर काम गरेको बताए । ‘यी तीन वटा कुरामा ध्यान दिएर नै होला,’ उनी सुनाउँछन्, ‘हामीले एक वर्षको टार्गेट ५ हप्तामै पूरा ग¥यौं ।’ प्रयोगशालामा परीक्षण गर्न आउनेलाई आनन्दसँग बस्ने र ग्रीन टी व्यवस्था पनि छ । ल्याबले रिपोर्ट पनि इमेल र एसएमएसमार्फत दिने गरेको छ । ‘एप पनि बनाउने योजनामा छौं,’ उनले भने, ‘क्यानडामा बस्दा देखेको यो सिष्टमसहित सफ्टवेयरका लागि नै मैले २० लाख खर्च गरेको छु । त्यसमा पहिलेदेखिकै बिरामीको हिस्ट्री रहन्छ ।’

डा. निराजन यो सेन्टरलाई एक वर्षभित्र उपत्यकाको कुनामा अर्को विशेषज्ञ खोल्ने योजनामा छन् । काठमाडौंमा दुई वटा जति ल्याब विस्तार गरिसकेपछि विराटनगरमा पनि एउटा आधुनिक ल्याब खोल्ने योजना छ । ‘जति सक्यो टेष्ट हाम्रै देशमा गर्ने योजना छ,’ उनले सुनाए, ‘गुणस्तरीय परीक्षण त हामी गर्छौ नै तर सबैभन्दा चुनौतीको कुरा प्राइस नै हो ।’ तर, उनी मुल्यको दबाब सेवाग्राहीमा पार्ने योजनामा छैनन् ।

विराटनगरदेखि प्रथम प्याथल्याबसम्म

डा. निराजनको पुख्र्यौली घर झापा हो । वि.संं. २०३७ सालमा विराटनगरमा जन्मिएका उनी सामान्य परिवारका हुन् । उनका बुवा लक्ष्मीप्रसाद मैनाली र आमा लक्ष्मी मैलानीका दुई सन्तानमध्ये उनी कान्छा हुन् । उनका बुवा चिया व्यवसायी हुन् ।

६ वर्षकै उमेरमा पढ्नका लागि काठमाडौंका आएका उनको प्रारम्भिक शिक्षा सिद्धार्थ वनस्थलीमा भएको हो । त्यहीबाट उनले वि.सं. २०५२ सालमा एसएलसी उत्तीर्ण गरे । वि.सं. २०५४ सालमा आईएस्सी पनि सिद्धार्थ वनस्थलीबाटै सके । सन् १९९९ बाट बंगलादेशमा एमबीबीएस अध्ययन सुरु गरे । सन् २००४ मा उनी एमबीबीएस सकेर नेपाल फर्के । बंगलादेशमा फर्केर नेपालमा सन् २००६ मा उनले इन्टर्न सकाए । त्यसपछि डा. निराजनले केही समय मेडिकल अफिसरका रुपमा अल्का अस्पतालमा सेवा दिए ।

त्यहीबेला तत्कालीन राजा ज्ञानेन्द्र शाहले कू गरेपछि उनी अमेरिका गए । डेढ वर्षजति अमेरिका बसेपछि उनको मनमा खिन्नता उत्पन्न हुन थाल्यो । त्यहाँ बस्दा सिकागो हस्पिटलमा काम पनि गरे । सर्जरी पढ्ने लक्ष्यका साथ अमेरिका गएका उनी सर्जरी नपाएपछि नेपाल फर्किए । ‘अमेरिकामा पैसा छ, राम्रो जागिर र सुविधा छ,’ उनी भन्छन्, ‘तर, आइडेन्टेटी छैन । जसका कारण त्यहाँ सन्तुष्टि छैन । खिन्नता छ । मेरा साथीहरुमा अब के गर्ने भन्ने प्रश्नको जवाफ छैन ।’

नेपाल फर्के डा. नेहा हुमागाईसँग विवाह गरे । सर्जरी पढ्ने योजना बनाएर अमेरिकाबाट फर्किए पनि उनी यता आएपछि साथीले प्याथालोजी पढ्ने सल्लाह दिए । उनको सल्लाहले डा. निराजनको मन तान्यो । ‘प्याथालोजी त डाक्टरको पनि डाक्टर रहेछ,’ उनले भने, ‘हामी क्यान्सर हो भने क्यान्सर भन्छौं, फुलेको हो भने फुलेको भन्छौ र इन्फेक्सन हो भने इन्फेक्सन भन्छौं ।’

त्यसपछि सन् २००९ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्याथालोजीमा एमडी गर्न थाले । त्यहाँबाट उनले छात्रवृत्तिमा सन् २०१२ मा एमडी सके । सन् २०१२ को अन्त्यमा उनकी श्रीमती डा. नेहाको नोबेलमा एमडी सुरु भयो । डा. निराजन पनि त्यही जागिर गर्न गए । ‘सुनिल सरले त्यो बेला दुवैजना आएपछि पढाइ फ्री गरिदिन्छु भन्नुभयो,’ उनले भने, ‘त्यसले मलाई पनि सहज भयो ।’ ससुराली विराटनगर भएकाले त्यही क्रममा दुई जना बच्चा हुर्काउन पनि सहज भयो । ‘घरायसी वातावरण हुने भएकाले पनि हामीले त्यहाँ रोज्यौं,’ उनले भने ।

नोबेलमा रहँदा उनले काम पनि गरे, पढाए पनि । ७ वर्ष नोबेलमा अध्यापन गर्दा उनी एशोसिएट प्रोफेसरसम्म भए । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा ७ वर्ष काम गरेपछि डा. निराजन मनोटोनस अनुभव गरिरहेका थिए । डा. शैलेन्द्र श्रेष्ठले किड्नीमा डिएम गरेर आए । उनले प्याथालोजीमा उच्चतहको अध्ययन गर्ने हो भनेर सोधे । ‘त्यो बेला फ्यासिलिटी थिएन, ट्रेन थिएनौं,’ उनले भने, ‘आफूले केही गर्न नसकेकोजस्तो अनुभव भयो ।’ त्यसपछि उनी एक वर्ष फेलोसीप गर्न जान तयार भए, डा. शैलेन्द्रले अष्ट्रेलियाका लागि कुरा गरिदिए । केही कारणले अष्ट्रेलियामा नभएपछि उनी अन्य अवसर खोज्न थाले ।

अमेरिका, क्यानडा र इटली तीन ठाउँमा राम्रो अवसरहरु थिए । तीनै ठाउँमा उनले अप्लाई गरे, तीनै ठाउँबाट बोलाएपछि उनले क्यानडा रोजे । क्यानडामा किड्नी ट्रान्सप्लान्ट प्याथालोजीका चर्चित प्रोफेसर किम सोलेजको मुनी बसेर काम गर्न पाउने भएपछि क्यानडा नै रोजेको उनी बताउँछन् । सन् २०१८ मा क्यानडा गएका उनी सन् २०१९ मा युनिभर्सिर्टी अफ अल्बर्टाबाट ट्रान्सप्लान्ट प्याथालोजीमा एमडी सके । किम सोलेज हिजोका र माइकल म्यांगल आजको किड्नी ट्रान्सप्लान्ट प्याथालोजीमा पायोनियर हुन् । जोसँग उनले काम गर्ने अवसर पाए ।

एकदिन लगातार तीन—चार वटा वटा रिपोर्ट माइकल म्यांगलसँग बाँझिए । जसमा डा. निराजनले भनेको कुरा पुष्टि भयो । त्यसपछि डा. माइकल म्यांगलले भने, ‘युआर रेडी टु टेक माइ सिट नाउ ।’ त्यो दिन उनी आफू जीवनकै सबैभन्दा बढी खुसी भएको बताउँछन् । सन् २०१९ मै उनी नेपाल फर्किए । डा. निराजन अहिले प्याथालोजी सोसाइटीका महासचिव पनि छन् ।

‘डाक्टरको दुःखी जीवन छ, दुवै डाक्टर भएपछि बालबच्चालाई पनि समय दिन नसकिने,’ उनी सुनाउँछन् । त्यसैले अहिले हामीले धेरै दौडधुप गर्न छाडेका छौं । डा. नेहा इशान बाल तथा महिला अस्पतालमा कार्यरत छन् । उनले इनफर्टिलिटी र ल्याप्रोस्कोपीमा एक वर्ष फेलोसिप गरेकी छन् ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #डा. निराजन मैनाली, #डा. नेहा हुमागाई, #डा. प्रतिभा विष्ट, #डा. बन्दना जोशी, #डा. बन्दना सत्याल, #डा. शोभा कुँवर, #डा. सुजन श्रेष्ठ, #प्रथम प्याथालोजी ल्याबरोटरी प्रा.लि.


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)