२०७९ मंसीर १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसरकारको दृष्टि नपुग्दा मोडल बन्न लागेको डोटी अस्पताल बरालिदैं

सरकारको दृष्टि नपुग्दा मोडल बन्न लागेको डोटी अस्पताल बरालिदैं


चिटिक्क र सफासुग्घर परिसर । परिसर बीचमा आकर्षक बगैचा । बगैचामा ढकमक्क फुलेका आकर्षक फुलहरु । डोटी जिल्ला अस्पताल परिसर पस्दा बिरामीको मन हलुंगो हुन्छ । परिसर छेउमा रहेका रुखहरुले शितल ओत दिन्छन् । परिसरमै आराम गर्न सफासुग्घर प्रतिक्षालय बनेको छ । जहाँ लाइन बसेर बिरामी तथा कुरुवाहरु शितल वातावरणमा पालो पर्खन्छन् । ‘वेटिङ रुम’मा टिभी राखिएको छ । जसले सन्देशमूलक सूचना दिन्छ ।

छेउछाउतिर ठाउँठाउँमा ‘फोहोर मलाई’ भन्दै लेखिएका ‘डष्टवीन’ले जथाभावी फोहोर फाल्ने अनुमती दिदैनन् । तीनले अस्पतालको वातावरण चिटिक्क राख्न मद्धत गरेका छन् । महिला तथा पुरुष शौचालय पनि सफासुग्घर छन् ।

ठाउँठाउँमा ‘निर्देशन सन्देश’हरु उल्लेख गरिएका छन् । ती सन्देशहरुले बिरामीहरुलाई छिटोछरितो सेवा लिन सहजता प्रदान गर्छन् ।
स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको ‘उपस्थितीमा नियमितता र व्यवहारमा शिष्टता’ कायम गर्ने प्रयत्न गरिएको छ । यसले बिरामीहरु शीघ्र तथा पारिवारिक वातावरणमा सेवा लिन पाइरहेका छन् ।

डोटी जिल्ला अस्पतालको यो स्वरुप र वातावरण सधैं यस्तो थिएन् । केही समयअघिसम्म अस्पताल आफै बिरामी थियो । परिसर पूरै दुषित र दुर्गन्धित हुन्थ्यो । शौचालय प्रयोगविहीन अवस्थामा थिए । अस्पताल आएका बिरामीले पानी नपाउने अवस्था थियो । बेला—बेला अस्तव्यस्त अस्पतालका समाचारहरु आइरहन्थे । न पर्याप्त चिकित्सक थिए, न स्वास्थ्यकर्मी ।

‘म पुग्दा चिकित्सकीय सेवा त निरन्तर थियो । तर, मन्त्रालयको अस्पताल गुणस्तर मापन तथा न्युनतम सेवा मापदण्ड थोरै थियो,’ अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. भुषण मिश्र भन्छन्, ‘त्यसलाई बढाउनुपर्छ भन्ने दायित्वबोध भयो । त्यो दायित्वबोध टिमलाई पनि गराउने प्रयत्न गरे । आज सकेजति सुधार भएकोजस्तो लाग्छ ।’

आफूले चिकित्सकीय सेवाको निरन्तरता, स्वास्थ्यकर्मीहरुको हाजिरीमा कडाइ, अत्यावश्यक औषधि तथा समाग्रीको उपलब्धता, खानेपानीको प्रबन्ध, सरसफाइमा विशेष जोडलगायतका व्यवस्थापकीय पक्षलाई बढी ध्यान दिने गरेको उनी बताउँछन् । ‘मैले स्वस्थ वातावरण र अस्पतालले दिने उपचार सेवाको निरन्तरता, प्रभावकारिता शिष्ट व्यवहारमा विशेष ध्यान दिने गरेको छुु । साथीहरुले साथ दिनुभएको छ,’ उनी थप्छन् ।

अस्पतालको वाताबरण, प्रदान गर्ने सेवा तथा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवहारबाट आउने अक्सर बिरामीहरु पनि सन्तुष्ट पाइन्छन । ‘यहाँ हुनेजति उपचार गर्नै भएको छ । नहुनसक्ने त कसरी गरुन,’ उपचार गर्न अस्पतालमा पुगेका वोगटान गाउँपालिका–७ का गोरे जगत भुलले भने ।

नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले अस्पताल गुणस्तर मापन तथा न्युनतम सेवा मापदण्ड(एमएसएस)मा पनि जिल्ला अस्पतालले आफ्नो अवस्था सुधार गर्दै लगेको छ । २०७४ मा ६८ प्रतिशत मात्रै रहेको थियो । गत वर्ष ७३ प्रतिशतमा रहँदा यसपटक ८९ प्रतिशतमा छलाङ मारेको छ ।

सरकारी चिकित्सक छैनन्

चारजना सरकारी चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा धानिएको छ । अस्पतालमा नवौ र दशौँ तहका दुई जना र मेडिकल अधिकृत दुई जनाको दरबन्दी छ । जसमा एकजना मेडिकल अधिकृत डा. मिश्र मात्रै कार्यरत छन् । उनैले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर चलाइरहेका छन् ।

गैरसरकारी संस्था निक साइमन इन्टरनेशनलले दुईजना चिकित्सक उपलब्ध गराएको छ । जसमा एमडिजिबी डा. गिरिश अवस्थी र एमबीबीएस डा. खुसिद आलम खान रहेका छन् । ‘उहाँहरु नभए त स्थिती गाह्रो हुन्थ्यो, एक्लैको हातमा अस्पताल नाम मात्रको हुन्थ्यो,’ मेडिकल सुपरिटेन्डेण्ट डा. मिश्र भन्छन् ।

चिकित्सक अभावकै कारण सेवा विस्तारमा पनि समस्या भैरहेको उनले बताए । ‘हामी कहाँ धेरै समस्या महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी हो । त्यसमा महिला रोग बिशेषज्ञ अत्यावश्यक छ,’ उनले भने, ‘हाडजोर्नीको समस्या पनि उत्तिकै छ ।’ तत्काल दरबन्दीअनुसार चिकित्सक उपलब्ध भएपनि ठूलो राहत हुने उनी बताउँछन् । स्वास्थ्यकर्मीको दरबन्दी भने अहिले पूर्ण छ ।

५० सैयाको संरचना छ, स्वीकृती छैन्

अस्पतालाई ५० सैय्यामा स्तरोन्नती गर्न पर्याप्त संरचना बनेका छन् । तर, अझै १५ सैय्याको अस्पताल मात्रै स्वीकृत छ ।

भौतिक पूर्वाधार तयार भएको रिपोर्टसहितको ५० सैयाको अस्पतालको माग फाइल स्वास्थ्य मन्त्रालय पुगेको वर्षौ भयो । तर, अझै मन्त्रालयले यसतर्फ चासो देखाएको छैन् । ‘सुदूर पहाडमा अझैपनि एउटा राम्रो रेफरल हस्पिटल छैन् । यसमा सरकारको ध्यान जानुपर्ने हो,’ जिल्ला अस्पतालमा कार्यरत डा. गिरीश अवस्थी भन्छन्, ‘संरचना तयार भैसकेको अस्पताललाई स्वीकृती प्रदान गर्न हिच्किचाउनु हुँदैनथ्यो ।’ उनका अनुसार राम्रो अस्पताल नभएकै कारण ९० प्रतिशत हाडजोर्नीका बिरामी भारत र नेपालगञ्ज रेफर गर्नुपर्ने अवस्था छ । आईसीयूमा राख्नुपर्नेसम्मका बिरामीले उपकरण र जनशक्ति अभावका त मृत्युवरण गर्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् ।

संरचना तयार भैसक्दा अस्पताललाई स्वीकृती नदिनु, राज्यले व्यवस्थापनमा ध्यान नदिनु दुखद् भएको त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक प्रा.डा. दीपक महराले बताए । ‘अझैपनि यस क्षेत्रमा उपचार नपाएर थुप्रै मानिस ज्यान गुमाइरहेका छन् । यसबारे सरकार संवेदनशील हुनुपर्छ,’ यसै साता गृहजिल्ला पुगेका उनले भने, ‘संरचना तयार भैसकेपछि यहाँको स्वास्थ्य समस्या अनुसारको चिकित्सकीय सेवा दिनु राज्यको दायित्व हो ।’

डोटीमा यसअघि पनि क्षेत्रीय अस्पताल निर्माणका लागि खरिद् गरिएको जग्गा अलपत्र छ । अन्य विकास क्षेत्रमा क्षेत्रीय अस्पताल बन्दा सुदूरपश्चिममा मात्रै बन्न सकेन, अहिले जिल्ला अस्पतालमा ५० सैय्याका लागि बनिसकेको संरचना उपयोगमा समेत सरकार उदासिन देखिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)