२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्थानीय तह, स्वास्थ्य संस्था र कर्मचारी सम्मानित

स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्थानीय तह, स्वास्थ्य संस्था र कर्मचारी सम्मानित


धनगढी—‘स्थानीय जनताको स्वास्थ्य, प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने मूल नारासहित सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्यका विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । प्रदेशको कुल २९ लाख १० हजार ४ सय ९७ जनसंख्याको विभिन्न लक्षित उमेर समूहलाई लक्षित गरी स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु अगाडि बढाइएका छन् ।

सुदूरपश्चिम प्रदेशमा ४ हजार ३९ वटा स्वास्थ्य संस्था छन् । प्रदेशका ९ वटै जिल्लामा १५ अस्पताल, १६ प्राथमिक स्वास्थ्य केन्द्र, ३ सय ७५ हेल्थ पोष्ट, १ सय ३३ आधारभूत स्वास्थ्य केन्द्र, १ सय ३५ सामुदायिक स्वास्थ्य इकाई, ८२ सहरी स्वास्थ्य केन्द्र, १ हजार ७ सय ७५ इपी क्लिनिक, १ हजार ४ सय ६६ पिएचसी/ओआरसी र ४२ वटा आयुर्वेद स्वास्थ्य केन्द्र छन् ।

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा स्वास्थ्य प्रतिवेदन रिपोर्टिङको अवस्था सय प्रतिशत नै छ भने अस्पतालको प्रतिवेदनको रिपोर्टिङको अवस्था ७६ प्रतिशत रहेको छ । प्रदेशका ९ वटै जिल्ला पूर्ण खोप जिल्ला घोषणा भइसकेका छन् ।

कोभिड–१९ संक्रमण स् अवस्था एवं व्यवस्थापन

प्रदेशमा असोज २३ सम्म ७ हजार ८ सय ८९ संक्रमित रहेका स्वास्थ्य निर्देशनालयको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा ७४ प्रतिशत पुरुष र २६ प्रतिशत महिला संक्रमित रहेको प्रतिवेदनमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशले कोभिड–१९ परीक्षण गर्ने विभिन्न जिल्लामा प्रयोगशाला विस्तार एवं संचालन गरेको छ । प्रदेशमा ६ वटा कोभिड–१९ परीक्षण गर्ने प्रयोगशाला रहेका छन् ।

सुदूरपश्चिमका ७१ स्थानीय तहमा ग्रामीण अल्ट्रासाउण्ड सेवा विस्तार

स्वास्थ्य निर्देशनालय दिपायलले प्रदेशका ७१ स्थानीय तहमा ग्रामीण अल्ट्रासाउण्ड सेवा विस्तार गरेको छ । गत आर्थिक वर्षमा विस्तार गरिएको ग्रामीण अल्ट्रासाउण्ड सेवाबाट प्रदेशका झण्डै १४ हजार ९९ जना गर्भवती महिलाहरुले सेवा पाएका छन् ।

स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सबैभन्दा बढी अछाममा २ हजार ५ सय ७३ जनालाई सेवा प्रदान गरिएको छ । त्यस्तै, बैतडीमा २ हजार ३ सय ९ जना, डोटीमा १ हजार ९ सय २८ जना, बाजुरामा १ हजार ६ सय ६७ जना, बझाङमा १ हजार ३ सय ७३ जना, दार्चुलामा १ हजार ३ सय ११ जना र डडेल्धुरामा १ हजार २ सय ७८ जना गर्भवती महिलाहरुलाई सेवा प्रदान गरिएको छ ।

स्वास्थ्य निर्देशनालयले गत आर्थिक वर्षमा सुरुवात गरेको ग्रामीण अल्ट्रासाउण्ड सेवा ग्रामीण क्षेत्रका गर्भवतीहरुको लागि प्रभावकारी बन्दै गएको छ ।

जटिल प्रसुति हवाई उद्धार कार्यक्रम

प्रदेशमा जटिल प्रसुति हवाई उद्धार कार्यक्रम पनि कार्यान्वयन गरिएको छ । प्रदेशमा ३ वटा जटिल प्रसुति हवाई उद्धार गरिएको छ । सो उद्धारको क्रममा २० लाख खर्च भएको स्वास्थ्य निर्देशनालयको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, लक्ष्मीनारायण क्षयरोग प्रेषण केन्द्र स्थापना गरी संचालनमा आएको छ । ६ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्य बिमा कार्यक्रम संचालनमा रहेको र स्थानीय तहको कार्यक्षेत्र रहेको आधारभूत स्वास्थ्य सरसफाई सहजीकरण हुने उद्देश्यले ९ वटै जिल्लाका ८८ वटै स्थानीय तहलाई ५ लाखका दरले ४ करोड ४० लाख अनुदानसमेत दिएको छ ।

सुदुरपश्चिम प्रदेश सरकार अन्र्तगत रहेका सेती, महाकाली र टीकापुर अस्पतालमा सिकलसेल एनिमियाको निःशुल्क जाँच उपचार सेवा तथा व्यवस्थापन थप व्यवस्थित बनाएको छ ।

विशेषज्ञ चिकित्सक प्रेत्साहन कार्यक्रमअन्तर्गत चिकित्सकलाई प्रेत्साहन स्वरुप ३० लाख प्रदान गरिएको स्वास्थ्य निर्देशनालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, प्रसुति केन्द्र सहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाई गरी ६४ वटा स्वास्थ्य संस्थाको भवन निर्माण कार्य भइरहेको छ । प्रदेशमा स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटको ६१ प्रतिशत बजेट खर्च भएको छ ।

स्वास्थ्य क्षेत्रका लागि विभिन्न ऐन तथा कार्यविधिहरु तयार गरेको छन् । प्रदेश जनस्वास्थ्य सेवा ऐन, स्वास्थ्य नीतिको मस्यौदा तयार र विभिन्न कार्यविधि, कार्यक्रम कार्यान्वयन निर्देशिका, कोभिड–१९ निर्देशिका—२०७७ नीतिगत कार्यहरु गरेको छ ।

स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्थानीय तह, स्वास्थ्य संस्थालाई सम्मान

‘स्वच्छ, सबल, भेदभावरहित समाज, गुणस्तरीय स्वास्थ्य सेवा सुदूरपश्चिम प्रदेशको आवाज’ भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी–२०७७ सम्पन्न गरेको छ ।

सो अवसरमा स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्थानीय तह, स्वास्थ्य संस्था र कर्मचारीहरुलाई मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

उत्कृष्ट सेवा प्रदान गरेका कारण प्रदेशका ९ वटा अस्पतालहरुमध्ये सेती प्रादेशिक अस्पताल पुरस्कृत भएको छ । यस्तै, स्वास्थ्य कार्यालयहरुमध्ये स्वास्थ्य कार्यालय डोटी र आयुर्वेद स्वास्थ्य केन्द्रहरुमध्ये बाजुरा आयुर्वेद स्वास्थ्य केन्द्र पुरस्कृत भएको हो । यी स्वास्थ्य कार्यालय नगद ५० हजारसहित सम्मानित भएका हुन् ।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै प्रदेशका ९ वटै जिल्लाका एक/एक स्थानीय तह पुरस्कृत भएका छन् । पुरस्कृत हुने स्थानीय तहहरुमा कैलालीको टीकापुर नगरपालिका, कञ्चनपुरको बेदकोट नगरपालिका, डडेल्धुराको नवदुर्गा गाउँपालिका, बैतडीको पाटन नगरपालिका, दार्चुलाको नौगाड गाउँपालिका, बझाङकोे जयपृथ्वी नगरपालिका, डोटीको आदर्श गाउँपालिका, अछामको रामारोशन गाउँपालिका र बाजुराको गौमुल गाउँपालिका रहेको छ । यी स्थानीय तहहरलाई मुख्यमन्त्री त्रिलोचन भट्टले नगद ४० हजार सहित सम्मानित गरेका थिए ।

उत्कृष्ट काम गर्ने ३६ कर्मचारी पुरस्कृत

स्वास्थ्य सेवामा उत्कृष्ट कार्य गर्ने ३६ जना कर्मचारी पनि सो अवसरमा पुरस्कृत भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय दिपायलले विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने कार्यालय प्रमुखहरुमा महाकाली अस्पतालका मेसु डा. हरिकुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्ट र आयुर्वेद स्वास्थ्य केन्द्र बैतडीका प्रमुख नरेन्द्रप्रसाद कलौनी रहेका छन् ।

यस्तै, चिकित्सकहरुमा सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. शेरबहादुर कमर, जिल्ला अस्पताल दार्चुलाका मेसु डा. गजेन्द्र दुवाल, जिल्ला अस्पताल बझाङका मेसु डा. सन्दिप ओखेडा रहेका छन् ।

प्रयोगशालाकर्मीहरुमा सेती प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज रमेश शाही, डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज ईश्वरी भुसाल, महाकाली अस्पतालका ल्याव असिस्टेन्ट शारदा बोहरा, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याव असिस्टेन्ट हिक्मत बडाल, महाकाली अस्पतालका ल्याव टेक्निसियन प्रेमनारायण शर्मालाई पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुने नर्सिङ कर्मचारीहरुमा जिल्ला अस्पताल अछामकी स्टाफ नर्स गंगा बुढामगर, सेती प्रादेशिक अस्पतालकी सिनियर अनमी रत्नासिंह पाण्डे रहेका छन् । यस्तै, आयुर्वेद स्वास्थ्यकर्मीमा सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक डा. चेतराज जोशीलाई पुरस्कृत गरिएको छ ।

अन्य स्वास्थ्यकर्मीमा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डा. गगनराज चौधरी, पुर्चौडी स्वास्थ्य चौकी बैतडीका ल्याव असिस्टेन्ट डम्बर कुँवर, कालिका स्वास्थ्य चौकी अछामकी अनमी माया स्वाँर, बुढीगंगा नगरपालिका बाजुराका सिनियर अहेब टेकबहादुर खड्का, गोदावरी नगरपालिकाका हेल्थ असिस्टेन्ट विष्णु जोशी, महाकाली नगरपालिका दार्चुलाका सिनियर अनमी लाल्जिरा रावत, घटाल स्वास्थ्य चौकी डडेल्धुराका सिनियर अहेब लोकराज पनेरु पुरस्कृत भएका छन् । यस्तै, थलारा गाउँपालिका बझाङका सिनियर अहेब पदमबहादुर ओली, शिखर नगरपालिका डोटीका जनस्वास्थ्य निरिक्षक हरिशचन्द्र शाह पुरस्कृत भएका छन् ।

अन्य कर्मचारीहरुमा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवर, स्वास्थ्य निर्देशनालय डोटीका भेक्टर कन्ट्रोलर सुपरभाइजर हेमराज जोशी, स्वास्थ्य कार्यालय बैतडीका सिनियर अहेब भुवनप्रसाद जोशी, स्वास्थ्य कार्यालय अछामका देवदत्त जोशी, जिल्ला अस्पताल बाजुराका सत्यराज जोशी, स्वास्थ्य कार्यालय कैलालीका जयसिंह भण्डारी, स्वास्थ्य कार्यालय दार्चुलाका वीरेन्द्र भट्ट, स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्ट, लडगाडा स्वास्थ्य चौकी डोटीका निर्मला लामिछाने, सेती प्रादेशिक अस्पतालका गोविन्द दाहाल, सेती प्रादेशिक अस्पतालका उदयनाथ योगी, धनगढी उपमहानगरपालिकाका राकेश चौधरी र स्वास्थ्य निर्देशनालय डोटीका कमल सिह बिष्टलाई पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुने कर्मचारीलाई २० हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी ओमप्रकाश जोशीले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ