२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशजलवायु परिवर्तन, कस्मेटिक र छाला रोगबाट बच्न के गर्ने ?

जलवायु परिवर्तन, कस्मेटिक र छाला रोगबाट बच्न के गर्ने ?


विश्वमा अहिले तापक्रम बढ्दो अवस्थामा छ । जलवायु परिवर्तनका कारणले छाला सम्बन्धि रोगहरु बढ्दै गइरहेका छन् । जलवायु परिवर्तन तथा रसायन प्रयोग भएको कस्मेटिक सामानहरुको प्रयोगले छालामा देखिने रोग तथा यसको प्रयोगले छालामा देखिने समस्याहरुको बारेमा सह–प्राध्यापक, वरिष्ठ छाला (चर्म), कपाल यौन तथा कुष्ठरोग विशेषज्ञ डा.सुमित पाण्डेयसँग हेल्थआवाजका लागि पदमराज भट्टले गरेको कुराकानीः

जलवायु परिवर्तनले मानिसको सुन्दरता तथा स्वास्थ्यसँग जोडिएको छालामा के कस्तो प्रभाव पारिरहेको छ ?
जलवायु परिवर्तन संसारमा नै महत्वपूर्ण विषय हो । सबैभन्दा बढी तापक्रम वृद्धिको कुरा आइरहेको छ । तापक्रम वृद्धिले जस्तैः छालाले शरीरको तापक्रम मिलाउने तथा सन्तुलन गर्ने महत्वपूर्ण कार्य गर्ने गर्दछ । आजभोलि वनजंगल विनास तथा औद्योगिकीकरण गर्दा संसारभरिको नै तापक्रम वृद्धि हुँदै गइरहेको छ । यसको कारक तत्व भनेको कार्बन उत्पादन हुने ठूला—ठूला कारखानाहरु, कोइला कारखानाहरुबाट निस्किने कार्बनडाईअक्साइड, नाईट्रोसअक्साइडका कारणले तापक्रम बढिरहेको छ । यसको असर अरु रोगसँगै मूलतः छालाका रोगीहरुलाई बढाइरहेको छ । सोही विषयमा सबै सचेत हुनु जरुरी छ ।

जलवायु परिवर्तनका कारणले छालामा के–कस्ता रहेका समस्याहरु देखिरहेका छन् ?
जलवायु परिवर्तनले विगतमा पनि यो समस्या थियो । अहिले मुलतः मैले देखेको समस्या एलर्जी नै हो । एलर्जी भन्ने बित्तिकै साधारणतयाः धुलोमाटो मात्रै भन्ने बुझिन्छ । अथवा कुनै रसायनलाई भन्ने बुझाइ छ । वास्तवमा वातारणले पनि हाम्रो शरीरमा छालाले गर्नु पर्ने काम पसिना निकाल्नुपर्ने, शरीरको तापक्रमलाई सन्तुलन राख्ने क्षमता ह्रास भएर जान्छ ।
छालामा २ प्रकारले समस्या देखिन्छ । एउटा किटाणुहरुले गराउने त्यो चाहिँ ब्याक्टेरिया, भाइरसले गराउने र अर्को भनेको शरीरमा तापक्रमले हुने एलर्जी बढाएर लैजाने । मेरो अनुभवमा मेरो कार्यक्षेत्र रहेको कर्णाली, मध्यपश्चिम र सुदूरपश्चिममा देखेको रोग हो छालाको कालाजार । यो भुसुनाको टोकाइको कारणले हुने हो । हिजोका दिनमा छालाको कालाजार तराईमा मात्रै सिमित थियो । मलेरिया तराईमा मात्रै सिमित थियो । अहिले उक्त समस्याहरु पहाडी जिल्ला तथा चिसो ठाउँमा समेत देखा परिरहेका छन् । यसको तथ्यांक नेपाल सरकारसँग छ । यी समस्याहरु बढनुमा सम्पूर्ण रुपमा वातावरणीय तापक्रम बढ्दै जाँदा भुसुनाहरु पनि चिसो ठाउँमा बाँच्न सकेका छन् । रोग पनि त्यसैअनुसार बढ्दै गइरहेको छ ।

सुदूरपश्चिममा पनि छालाको कालाजारका बिरामी देखिइसकेका छन् । कालाजार गराउने भुसुना पहाडमा पनि देखिरहेका छन् । अर्को भनेको हेन फुड एण्ड माउथ डिजिज यसमा पनि coxsachiAE भाइरसले गराउँछ । त्यो भाइरस गर्मी सकिएर जाडो सुरु हुनुभन्दाको बीच भागमा बढी देखिन्छ । अहिले सबै चिकित्सक कहाँ हेन फुड एण्ड माउथ डिजिजका बिरामीहरु आइरहेका छन् । प्रायः यो बच्चाहरुमा देखिरहेको छ । यसमा ज्वरो आउने, घाँटी दुख्ने, शरीरमा पानीको फोका तथा राता बिमिराहरु देखा पर्छन् । यो समस्या पनि वातावरण परिवर्तन तथा तापक्रम परिवर्तनका कारणले देखा पर्दछ ।

छाला सुन्दर बनाउन विभिन्न कस्मेटिक सामानहरुहरु प्रयोग भइरहेका छन् । यसले दीर्घकालीन रुपमा कस्तो असर गर्छ ?
आजभोलि मानिसहरुले आफू राम्रो देखिनको लागि अथवा छाला चम्काउनको लागि विभिन्न रसायनहरु प्रयोग गरिरहेका हुन्छन् । जसमध्ये लिड (सिसा)को अत्याधिक प्रयोग भइरहेको छ । अर्को थ्यालेट (phtlalte) भन्ने रसायनले प्रारम्भिक अनुसन्धानमा महिला तथा पुरुषको प्रजनन शक्तिमा नै ह्रास ल्याउँछ । जसको रगत तथा पिसाबमा जाँच गर्दा उक्त मात्रा देखिन्छ । महिलाहरुले प्रयोग गर्ने तथा नङ पोलिसमा एक्राइलेट तथा थ्यालेट भन्ने तत्व हुने भएकाले शरीरमा प्रवेश गर्ने भएकाले गर्भ तुहिने, बच्चा नबस्ने समस्याहरु देखिन्छन् । रसायन प्रयोग भएको कस्मेटिकका सामानहरु प्रयोग गर्दा दीर्घकालीन रुपमा रक्त कोषिकाहरु घट्दै जाने भएकाले एनिमिया समेत गराउँछ । त्यसकारण एकछिन राम्रो हुन तथा छाला सुन्दर बनाउन रसायनहरुको प्रयोग गर्नुभन्दा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

छालामा देखिने सर्ने र नसर्ने रोग कसरी छुट्याउने ?
छाला हेर्ने बित्तिकै यो सर्ने यो नसर्ने भन्न सकिदैन् । तर, साधारणतयाः छाला भएका घाउहरु पाकेको, पिप निस्किने, पानी बग्ने समस्या छ भने ती ब्याक्टेरियाको कारणले हुने गर्दछन् । जुन सुख्खा देखिने छालाका रोगहरु जसलाई कत्ले रोग, सोरियासिस, इक्जीमा भन्छौं यिनीहरु प्रायः सर्दैनन् ।

शरीरमा अरु कुनै रोग लागेमा छालामा कस्तो प्रभाव देखिन्छ ?
मानव शरीरमा देखिने रोगहरुले लगभग छालामा प्रभाव देखिरहेको हुन्छ । साधारणतयाः उदाहरणको लागि हामी थाइराइड भन्छौं । थाइराइड बढ्यो भने शरीरमा पसिना बढी आउने, मुटु ढुकढुक हुनेसँगै छालामा परिवर्तनहरु आउँछन् । थाइराइड घट्यो भने छाला सुख्खा हुने चिलाउने, घाउहरु पर्ने हुन्छ । जस्तैः मधुमेहको बिरामीलाई बढी पिसाब लाग्छ । जसकारण शरीरमा पानीको मात्रा कम भएर शरीर फुस्रो हुने चिलाउने समस्या देखा पर्छन् ।

अर्को भनेको अटोइम्युन डिजिज हो । जसमा शरीरका कोषिका विरुद्ध कोषिका नै लड्ने गर्दछन् । जुन कुरा अहिले पत्ता लाग्न सकेको छैन । जस्तो सेतो दुबी (श्वेतकुष्ठ) रोग छ यो कुष्ठ रोग चाहिँ होइन्, जसको नामाकरण नै श्वेतकुष्ठ गरिएको छ । शरीरमा कालोपन ल्याउने कोषिकासँगको अर्को कोषिकाको लडाइ हुन्छ र कालोपन ल्याउने कोषिकालाई मारिदिन्छ, जसकारण सेतो हुने गर्दछ ।

छाला सुन्दर बनाउन कस्मेटिक सामानहरु अत्याधिक रुपमा प्रयोग भइरहेको छ । यसमा सल्लाह सुझाव के दिनुहुन्छ ?
अहिले विश्वव्यापी रुपमा कस्मेटिक सामानहरु प्रयोग बढिरहेको छ । मानिसलाई राम्रो बन्ने चाहनाले झन कुरुप, छाला बिगारिरहेको र छालाका रोगी बनाइरहेको छ । कस्मेटीक सामानहरु यति रसायनहरु हुन्छन् कि जसका बारेमा चिकित्सकसमेत अनविज्ञ छन् । चिकित्सकको सल्लाह सुझाव गर्न सकियो भने राम्रो हुन्छ । विशेषगरी महिलाहरुले नङ पोलिसको सबैभन्दा बढी प्रयोग गर्छन् । कमसल खालका, सस्तो खालका सामानहरु प्रयोग नगरौं । नङ पोलिसमा हुने एक्राइलेट तथा थ्यालेट रसायनले कुन मानिसमा कस्तो असर गर्छ भन्ने थाहा हुँदैन । केही शंका लागेमा वा एलर्जी भएमा तुरुन्तै चिकित्सकको परामर्श लिने गर्नु पर्दछ । महिलाहरुले प्रयोग गर्ने लिपस्टिकहरुका रातो बनाउन रसायन तथा संरक्षण गर्ने तत्वहरु राखिएको हुन्छ । तिनीहरुले पनि दीर्घकालीन रुपमा असरहरु गर्ने गर्दछन् । जसमध्ये कालोपन ल्याउने, पोतो आउने, चिलाउने, छालालाई रातो बनाइदिने, लामो समयसम्म प्रयोग गर्नाले रौंहरु उमारी दिने समस्याहरु आउने गर्दछन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ