कैलाली— मनै लोभ्याउने चुरेको हरियो वनपाखा । त्यसैको काखमा एउटा सुन्दर गाउँ छ—ओलानी । वातावरणीय हिसाबले यो गाउँ अत्यन्त शान्त र रमणीय छ । तर, स्वास्थ्यको दृष्टिकोणले यहाँको वास्तविकता भने त्यतिकै दुरहपूर्ण । प्राकृतिक सुन्दरताले धपक्कै यो गाउँमा धेरै जसो मान्छे एउटै रोगको शिकार भएको भेटिन्छन्—एचआईभी एड्स । एचआईभीले सुन्दर गाउँको कथा दुःखमय बनेको छ ।
कैलालीको गोदावरी नगरपालिकामा पर्ने यो गाउँ एचआईभीले थिलोथिलो बनेको छ । रोजगारीका लागि भारत गएका पुरुषहरु उतै रोग आर्जन गर्ने र यता आएर परिवारमा समेत सार्ने क्रम नरोकिएकाले गाउँ नै एचआईभी संक्रमणको चपेटामा परेको हो । यो रोग असुरक्षित यौन सम्पर्क गरी आएका पुरुषमा मात्रै सीमित छैन । उनीहरुको गलत कार्यको शिकार घरमा रहेका श्रीमती र जन्मिने बालबच्चा पनि भइरहेका छन् ।
भारत गएकामध्ये अधिकांश एचआईभी एड्स बोकेर फर्किने गरेका छन् । यो रोगले कतिपयको ज्यानसमेत लिइसकेको छ । ‘एचआइभी एड्सबाट श्रीमानको ज्यान गइसक्यो’, वडा नम्बर १२ की ४० वर्षीया ईश्वरी विकले पीडा पोखिन्, ‘उनी त बितेर गए, रोगको शिकार हामी आमा छोरा पनि भएका छौं ।’ ईश्वरी र उनका १६ वर्षीय छोरा पनि एचआईभी सङक्रमित छन् ।
गोदावरी नगरपालिकाको वडा नम्बर १०, ११, १२ मा एचआईभी भयावह छ । कामका लागि भारत गएकाहरुले पैसासँगै आर्जन गरेर ल्याएको रोगले कतिपयको परिवारनै तहस नहस भइसकेको छ भने, कतिपय, बेसहारा जीवन बाँच्न बाध्य छन् ।
श्रीमानले बोकेर ल्याएको रोगले परिवारकै जीवन बर्बाद भएको वडा नम्बर ११ की ३८ वर्षीया हिरादेवी नेपाली बताउँछिन् । ‘श्रीमानले परदेशमा जुन गल्ती गरे, त्यसको सजाय हामी आमा छोराले पनि भोगिरहेका छौं’, उनले भनिन्, ‘घरमा तीनै जना एचआईभीबाट पीडित छौं ।’ सबैले औषधि खाइरहेको नेपालीले बताइन् ।
गोदावरी नगरपालिकामा एचआईभी संक्रमितका लागि काम गर्दै आएको एक संस्था नवकिरण प्लसका अनुसार तीन वटै वडामा गरेर ३ सय १९ जना एचआईभी संक्रमित छन् । पछिल्लो समय स्थानीय सरकार गठन भएपनि संक्रमितको तथ्यांक लिएको छैन ।
सहयोगी संस्थाको तथ्यांककै आधारमा पौष्टिक आहार वितरण गर्दै आएको वडा नम्बर ११ का वडा अध्यक्ष शिवबहादुर विकले बताए । ‘हाम्रो वडामामात्रै ५९ जना संक्रमित छन्’, उनले भने, ‘हाल एचआइभी एड्स संक्रमणको दर घटेको छ । तर, समाजमा लुकेर बसेका संक्रमित खुल्नेक्रम भने बढेको छ ।’
‘जिल्लामै सबैभन्दा बढी एचआईभी संक्रमित भएको यो गाउँका मान्छेहरु भारत जानेक्रम भने रोकिएको छैन । उनीहरु जसरी पहिला जाने गरेका थिए, अहिले पनि जानेक्रम त्यस्तै छ,’ अध्यक्ष बिकले भने । संक्रमितहरुले कडा खालको औषधि खानु परेकाले पौष्टिक आहारको जरुरी रहेको भन्दै स्थानीय सरकारले लेयर्स जातका कुखुरा र संक्रमित एकल महिलालाई एक÷एक वटा बाख्रा उपलब्ध गराएको छ । यसैगरी, सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको अध्यक्ष बिक बताउँछन् ।
एकललाई समस्याको चाङ
४१ वर्षीया सीता बोगटीका श्रीमान पुरनको एचआईभी एड्सबाट ज्यान गएको नौ वर्ष भइसक्यो । भारतको सुरतमा काम गर्दा एचआईभी भएका उनले आफूलाई मात्रै त्यो रोग सीमित राखेनन् । श्रीमतीलाई पनि सारे । उनीहरुबाट जन्मेका १६ वर्षीया एक छोरी र १३ वर्षीय छोरा पनि संक्रमित छन् ।
एकै घरमा तीन÷तीन जना संक्रमित भएपछि समस्याको चाङ लागेको सीताले बताइन् । ‘घरको आर्थिक अवस्था निकै नाजुक छ, लालाबाला कसरी हुर्काउने ?’, आँशु झार्दै उनले भनिन्, ‘आफ्नो त मति नै यस्तै भयो ।’
सीताको श्रीमानले नौ वर्ष अगाडि हालेको घर जग अहिले पनि उस्तै छ । श्रीमानको मृत्यु भएपछि घरको जग उठेको छैन । भएको सानो झुपडी जीर्ण बन्दैछ । पानी पर्दा घर चुहिने गरेको सुनाउँदै उनले सुनाइन्, ‘खान लाउन नै समस्या छ, बुढाले जग हालेर गएको घर कसरी उठाउने ?’
घरमा रहेका तिनै जना संक्रमित नियमित औषधि खाइरहेका छन् । तर, एचआईभी लागेको थाहा हुँदा पनि पुरनले भने नियमित औषधि खाएनन् । रोगी भएर पनि काम गर्न गएको बेला उनको सुरतमै ज्यान गएको थियो ।
‘उनी आफ्नै लापरवाहीले गएका हुन्,’ सीता भन्छिन् । एचआईभी संक्रमित भएको थाहा पाउँदा सुरुमा गाउँका मान्छेले निकै हेपेको सीताको भनाइ छ । ‘अब गाउँलेहरुले बुझ्दै गएपछि सहज भएको छ,’ उनले भनिन् । सहयोगी संघ संस्थाले खाद्यान्न सहयोग गरेपछि एकल जीवनमा दुई छाक टार्न केही सहज भएको सीताको अनुभव छ ।